ブログ

ポッドキャスト

ポッドキャスト RSS

2023.04.27[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽) , DJ को Choice!(DJのオススメ)

【सिफारिस गरिएको बाहिरी स्थलहरू】

अप्रिल महिना शुरु भएको जस्तो मात्र लाग्छ तर, अर्को हप्ता त Golden week नै आई सक्यो। सामान्यतया, मे ३ देखि ५ तारिकसम्म गोल्डेन विक भएता पनि, सप्ताहन्तबाट बिदा लिएर ९ दिन जतिको लामो बिदा लिनुहुनेहरु पनि धेरै हुनुहुन्छ होला। लामो बिदामा के गर्ने, कसरी रमाइलो गरि मनाउने भनेर तपाईंहरु पनि म जस्तै योजना बनाउँदै हुनुहुन्छ होला। त्यसैले आज, फुकुओकामा गोल्डेन वीकको समय घुमघाम गर्न सुझावजन्य ३ वटा स्थलहरुको जानकारी लिएर आएकी छु।

पहिलो सुझावजन्य स्थल हो, फुकुओका शहरको चिडियाघर र वनस्पति उद्यान। फुकुओका शहरको च्युओकुमा अवस्थित, यस उद्यानमा बिभिन्न किसिमका जनावरहरु लगायत बोटबिरुवाको आनन्द लिन सक्नुहुन्छ। तेन्जिनबाट बस वा सबवेबाट जान सक्नुहुन्छ तर, धेरै हिड्न नपर्ने गरि, सबवे “याकुइन ओडोरी स्टेशन (स्योकुबुचुएन् एक्जिट)” बाट, हिडेर जान राम्रो होला।

टिकट शुल्क, वयस्कहरूको लागि ६०० येन, हाईस्कूलका विद्यार्थीहरू लागि ३०० येन, जुनियर हाई स्कूलका विद्यार्थी र त्यस मुनिकाहरुलाई निशुल्क हो। तर गोल्डेन विकको "हरियाली दिवस (मे ४ )" मा जानुभयो भने, प्रवेश निशुल्क हुन्छ।

अर्को छ, फुकुओका शहरको हिगाशी वार्डमा रहेको Uminonakamichi Seaside Park मा, मे को २१ आइतबारसम्म, आयोजना हुने “Uminonakamichi Flower Picnic” इभेन्ट ।
यहाँ लगभग ७०,००० जतिको रंगीन ट्युलिपहरु र १२ लाख जतिको निमोफिला फूलको विशाल नीलो फूल बगैचा हेर्न सक्नुहुन्छ। विशेष गरी सप्ताहन्तमा, स-परिवार रमाइलो गर्न सकिने विभिन्न कार्यक्रमहरू पनि आयोजना भईरहेको छ।
टिकट शुल्क, वयस्कहरूको लागि ४५० येन, ग्रुपमा आउनेहरुका लागि ३०० येन, जुनियर हाई स्कूलका विद्यार्थी र त्यस मुनिकाहरुलाई निशुल्क हो।

अब अन्तिम सुझावजन्य स्थल छ, सुन्दर नीलो समुद्रले घेरिएको, इतिहास महसुस गर्न सकिने हिगासी वार्डमा रहेको, "शिकानोसिमा" । टापुको प्रतीकको रुपमा चिनिने "शिकाउमी जिन्ज्या" सानो पहाडमा अवस्थित छ। मन्दिर जाने बाटोमा ताजा समुद्री खानाको स्वादको आनन्द लिन सक्नुहुन्छ त्यस्तै, किनमेलको पनि मजा लिन सक्नुहुन्छ।

शिकानोसिमाको बाहिरी परिधि करिब १२ किलोमिटर छ, यदि साइकलबाट घुम्ने हो भने करिब एक घण्टा जति मात्र लाग्छ। साइकल राम्ररी जान्नेहरुका लागि मात्र नभई, भर्खर सिकेकाहरूले पनि ढुक्क भई यसको मजा लिन सक्नुहुन्छ।
हाकाता फुतोउमा रहेको "Bayside Place Hakata" बाट, शिकानोसिमामा जाने जहाज छ, त्यसमा आफ्नो साइकल चढाएर लैजान पनि सक्नुहुन्छ। साथै, शिकानोसिमा र उमी नो नाकामिची क्षेत्रमा साइकल भाडामा पनि लिन सक्नुहुन्छ।

यस अतिरिक्त, गोल्डेन वीकमा छुटाउन नै नहुने, फुकुओकालाई प्रतिनिधित्व गर्ने, "हाकाता डोन्टाकु मिनातो महोत्सव" को छोटो जानकारी दिन गईरहेकी छु।
फुकुओकावासीहरूको पर्वको रूपमा रहेको यस महोत्सवमा, स्थानीय बासिन्दा मात्र नभई, जापान र विदेशबाट पनि पर्यटकहरू भेला हुने गर्छन्। हरेक वर्षमा २० लाख भन्दा बढी मानिसहरू यो महोत्सव हेर्न आउँछन्। ६२औँ पटकको यो महोत्सव, यस वर्ष पनि, मे ३ र ४ मा आयोजना हुन गईरहेको छ। सबै उमेरका पुरुष-महिलाहरूले स्वतन्त्र रुपमा पोशाक लगाई, काठको पन्यू बजाउदै शहरको परिक्रमा गर्ने परेड, स्थानीय रुपमा बनाईएका स्टेज र खुला ठाउँमा नृत्यको प्रस्तुति आदि जस्ता सम्पूर्ण शहरलाई जीवन्त बनाउने यो महोत्सव हो।

क्यारेक्टरहरूले सजाइएका ठूला फ्लावर गाडिहरू पनि यस महोत्सवको लोकप्रिय विशेषताहरु हुन्।
समापनको समयमा, दर्शकहरू पनि नाच र काठको पन्यू बजाउनेमा सामेल हुन सक्छन्, अनि सिंगो शहर नै उत्सवको वातावरणले भरिएको हुन्छ।

तपाईंहरु सबैको गोल्डेन वीक बिदा रमाईलो रहोस् भन्ने कामना गर्दै आजलाई यति नै!

2023.04.20[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

सबवे नानाकुमा लाइन "तेन्जिन मिनामी" देखि "हाकाता" सम्मको विस्तार खण्ड खोलियो!

विमानस्थलबाट शहरको केन्द्रको निकटता, उत्तर-दक्षिण-पूर्व-पश्चिम चल्ने रेल र सबवेहरु, अनि धेरै बस मार्गहरू आदिको सुबिधा भएको फुकुओका शहरले जापानको सबैभन्दा राम्रो यातायात पहुँचको गर्व गर्दछ। सबवेमा, तेन्जिन र हाकातालाई जोड्ने नयाँ लाइन थपिएको छ, जसले गर्दा अझ धेरै सुविधाजनक बनाएको छ!

"तेन्जिन मिनामी स्टेशन" र "हाकाता स्टेशन" बीचमा, "कुशिदा जिन्जा-माए" नामको नयाँ स्टेशन स्थापना गरिएको छ। बिशाल व्यावसायिक सुविधा "Canal City Hakata" सम्म पुग्न अहिले सम्म, नजिकैको सबवे स्टेशनबाट पैदल हिँड्दा ८-१० मिनेट लाग्थ्यो, तर अब लगभग २-३मिनेटमा पुग्न सकिने भएको छ! 

वसन्तको घमाइलो मौसममा, सार्वजनिक यातायातको कुशलतापूर्वक प्रयोग गरेर, पक्कै पनि, तपाईहरु पनि फुकुओका शहरको आकर्षण गन्तव्यहरु धेरैभन्दा धेरै खोज्दै, घुमघाम गरेर हेर्दा कसो होला!

 

 

फुकुओका शहरको सूचना

साईकल चलाउने नियम सम्बन्धि सूचना

प्रायःजसो दैनिक रुपमा साईकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।

के तपाईंहरुलाई साईकल चलाउने तरिका र नियमको बारेमा थाहा छ?

जापानमा नियम अनुसार साईकल, मोटर-बाटोको बायाँ पट्टिबाट चलाउनु पर्छ।

सडक-पेटीमा पैदल यात्रीलाई प्राथमिकता दिनुपर्छ। सडक-पेटीबाट चलाउँदा मोटर-बाटो पट्टिको साइड भएर बिस्तारै चलाउने गरौं।  

साइकल चलाउने सबैले हेलमेट लगाउने गरौं।

राति नबिर्सिकन लाइट बाल्ने गरौं।

दुई जना चढ्ने र समानान्तर रूपमा सँगसँगै साईकल चलाउन निषेध भएकोले त्यस्तो कार्य नगरौं।

साथै, साईकलको हकमा पनि मादक पदार्थ सेवन गरी नचलाऔं।

छाता ओढेर चलाउने, मोबाइल फोन वा हेड फोन प्रयोग गरेर साईकल चलाउने गर्दा, दुर्घटनाको खतरा हुने भएकोले यस्ता कार्यहरु नगरौं।

साईकल पार्किंग गर्दा तोकिएको पार्किंग स्थलमा पार्क गर्ने गरौं।

साइकल पार्किङस्थल बाहेक सडक वा पार्कमा पार्किङ गरिएका साइकलहरू पैदल यात्रुलाई बाधा वा अवरोध हुने भएकाले अवैध रूपमा पार्किङ गरिएका साइकलहरुलाई उठाएर लैजाने नियम छ।

फुकुओका शहरमा, यसरी उठाएर लगेका साइकल फिर्ता लिन २,५०० येन तिर्नु पर्छ, यदि निश्चित समय भित्र दावी गरेन भने, यसलाई खारेज गरिन्छ।

व्यावसायिक सुविधा र स्टेशन वरपर छोटो समयको प्रयोजनका लागि नि:शुल्क पार्किङ क्षेत्रहरू पनि हुने भएकोले अवश्य प्रयोग गरेर हेरौं।

यस अतिरिक्त, फुकुओका शहरमा साईकल चालकहरूले साईकल बीमामा अनिवार्य सामेल हुनुपर्छ। साईकल दुर्घटना भयो भने, तपाईंले दुर्घटनामा परेको व्यक्तिलाई धेरै पैसा तिर्नुपर्ने हुन्छ।

तर, यदि तपाईंसँग साइकल बीमा छ भने, उदाहरणका लागि, तपाईं साइकल चलाउँदै गर्दा, यदि कसैलाई चोटपटक लाग्न गएमा, तपाईंको पक्षबाट औषधि उपचारको लागि भुक्तानी गरि दिन्छ।

हुन सक्ने दुर्घटनाको क्षतिपुर्तीबाट बच्न, साइकल बीमा लिऔं।

साइकल पर्यावरण अनुकूल र सुविधाजनक सवारी साधन हो। यसलाई चलाउँदा नियम तथा आचरणको पालन गर्ने गरौं।

2023.04.13[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

फुकुओका शहरको बारेमा

यो वसन्तमा, फुकुओका शहरमा नयाँ जीवनयापन गर्न लागेका धेरैजना हुनुहुन्छ होला, त्यसैले आजको कार्यक्रममा फुकुओका शहरको बारेमा छोटो परिचय दिन चाहन्छु।

फुकुओका शहर, "एसियाको प्रवेशद्वार" को रूपमा, धेरै अन्तर्राष्ट्रिय उडानको सेवा भएको, 

क्युशुको राजनीति, अर्थव्यवस्था, संस्कृति र फेसनको केन्द्रको रूपमा समृद्ध भई अत्यन्तै स्फूर्त शहर हो।

१६ लाख भन्दा बढी जनसंख्या भएको, स्वदेशी र विदेशी दुवै क्षेत्रबाट धेरै आप्रवासीहरू भएको जसमा हाल यहाँ ४० हजार विदेशी बसोबास गरिरहेका छन् ।

यातायातको राम्रो सुविधा, जापानको उत्कृष्ट याताई, खाद्य संस्कृतिको उच्च गुणस्तरको अतिरिक्त, किनमेल सुविधाहरू पनि प्रशस्तै भई, शहरी पूर्वाधारहरू कम्प्याक्ट रूपमा ब्यबस्थित छन्।

साथै, समुद्र र पहाडले घेरिएको, धेरै पार्कहरू भएको, शहर र प्रकृतिको मेल पनि आकर्षित भएकोले, यहाँ बस्न धेरै सुविधाजनक र आरामदायी छ!

हावापानी राम्रो हुने यस मौसममा, तपाईहरु पनि पक्कै पनि बिदाको दिनमा शहर वरिपरि हिड्डुल गरेर आनन्द लिनुहोस्।

 

 

फुकुओका शहरको सूचना

फोहर फाल्ने नियम सम्बन्धी

फुकुओकामा नयाँ जीवनयापन शुरु गर्नुहुने धेरै संख्यामा हुनुहुन्छ होला।

यसपटक, फोहर फाल्ने नियम सम्बन्धी सूचना रहेको छ।

फुकुओकामा फोहरलाई तीन किसिममा विभाजन गरी फाल्ने गरिन्छ।

जल्ने फोहर, खाली सिसाको बोतल/प्लास्टिकको बोतल, अनि नजल्ने फोहर गरी ३ किसिमका हुन्छन्।

कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहर फाल्ने गर्नुहोस्।

जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला हो।

कच्चा फोहर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्।

खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्नुहोस्।

खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला प्रयोग गर्नुहोस्।

बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ।  

जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १पटक संकलन हुन्छ।

फोहर मध्यरात संकलन हुनेभएकोले अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्नुहोस।

फुकुओका शहरको आधिकारिक LINE ID मा Friend add गरेर, तपाईंको ठेगाना राख्नु भयो भने, LINE बाट फोहर फाल्ने दिनको बारेमा जानकारी उपलब्ध गराईन्छ।

फाल्न चाहनुभएको फोहरको नाम राख्नुभयो भने, फोहरको किसिम पनि जान्न मिल्ने भएकोले यो एकदम उपयोगी छ।

एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्।

ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गरेर  संकलन गराउन सक्नुहुन्छ।

कृपया शुल्क, फोहर फाल्ने ठाउँ, मिति, इत्यादि जाँच गरेर फोहर बाहिर राख्नुहोस्।

फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, 

०९२-७३१-११५३ । दोभाषे सेन्टर मार्फत् १८ वटा भाषाहरुमा यो सेवा उपलब्ध हुँदै आइरहेको छ।

यस अतिरिक्त, QR कोड इस्क्यान् गर्नुभयो भने, १० वटा भाषाहरुमा, फोहर फाल्ने नियमहरू जानकारी दिने सेवा पनि उपलब्ध छ। फुकुओका शहरको होमपेजमा हेर्नुहोला।

2023.04.06[Thu] 09:00

समुदाय(コミュニティ) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【नयाँ जीवनको लागि सल्लाह】
वर्ष २०२० को अप्रिलमा शुरु भएको यो कार्यक्रम “Life in Fukuoka”, यो हप्ताबाट चौथों वर्षमा प्रवेश गरेको छ। कार्यक्रम सुनि दिनुहुने सम्पूर्ण श्रोताजनहरुलाई धेरै धेरै धन्यवाद! चौथों वर्षमा प्रवेश भएपछिको आजको पहिलो कार्यक्रममा, मेरो छोटकरीमा परिचय दिन गईरहेकी छु। मेरो नाम सरिता महर्जन हो, नेपालको काठमाडौँबाट।
फुकुओका आएको ८ बर्ष भयो। Kyushu University बाट Architecture & Urban Planning मा PhD सकेर, Professional Architect को रुपमा, जापानी डिजाईन् कम्पनीमा काम गर्दैछु। सँगसँगै, Love FM मा DJ को पनि काम गर्दैछु।
मलाई पुरानो जापानी शैलीको भवनहरुको अध्ययनको साथै आधुनिक शैलीका घरहरु डिजाईन् गर्न मनपर्छ। जापानी खाना मलाई असाध्यै मनपर्छ, विशेष गरि फुकुओकाको तोन्कोचु रामेन र ओडेन मनपर्छ। फुकुओकामा, Dazaifu र Ohari Park चै मलाई घुम्न र फुर्सदको समय बिताउन मनपर्ने ठाउँहरु हुन्।
जापानमा अप्रिल महिनालाई, नयाँ भर्ना हुने वा नयाँ रोजगार शुरु गर्ने आदि जस्ता नयाँ जीवनयापन शुरु हुने महत्वपूर्ण महिनाको रुपमा लिईन्छ। तपाईंहरु पनि जीवनको नयाँ अध्यायको लागि प्राप्त गर्न सकिने लक्ष्यहरू सेट गर्नुहोस् र तिनीहरूतर्फ कसरी काम गर्ने भन्ने योजना बनाउनुहोस्। सफल अनि स्वस्थ वर्ष सुनिश्चित गर्नका लागि आत्म-हेरचाहलाई पनि प्राथमिकता दिनुहोस्।

 

【फुकुओका शहरको सूचना】

विदेशीहरूले परामर्श लिन सकिने काउन्टरको परिचय

यो फुकुओका शहरको सूचना हो।
नयाँ जीवनमा कुनै समस्या वा नबुझेको कुरा छ कि?

Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धि परामर्श कहाँ लिने भनेर थाहा नभएको समयमा, उपयुक्त सम्पर्क काउन्टर तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।

फोन नम्बर, ०१२०-६६-१७९९ ।
सम्पर्क समय ९:०० देखि ६:०० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
यो सेवा २१ वटा भाषाहरूमा उपलब्ध छ।

साथै, राष्ट्रिय स्वास्थ्य बीमा, फोहोर, कर, आदि जस्ता फुकुओका शहरका प्रक्रियाहरूको बारेमा बुझ्नु परेमा, दोभाषे सेन्टरमा कल गरेर, आफू बस्ने वार्डमा सम्पर्क गरि परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७५३-६११३ । १८ वटा भाषाहरूमा सेवा उपलब्ध छ।

 

「भियतनाम फेस्टिवल २०२३ फुकुओका」 को आयोजना सम्बन्धि

जापान र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा, अप्रिल १५ र १६ मा, फुकुओका तेन्जिन सेन्ट्रल पार्कमा, "भियतनाम फेस्टिवल २०२३ फुकुओका" आयोजना हुन गईरहेको छ।

कार्यक्रममा, भियतनामी POP कलाकारहरूद्वारा लाईभ, परम्परागत नृत्य अनि आओदाई शो, आदि स्टेज कार्यक्रमहरू बाहेक भियतनामी खाना आदि खाने र पिउने बूथहरू पनि राखिने भएको छ।
आयोजना हुने दिन र समय, १५ तारिक बिहान १०:०० बजेदेखि २०:०० बजेसम्म, १६ तारिक बिहान १०:०० बजेदेखि १९:०० बजेसम्म।
पानी परे पनि कार्यक्रम जारी रहनेछ, तर आँधीबेहरी मौसम भएमा रद्द गरिनेछ।
प्रवेश नि:शुल्क भएकोले बिना हिचकिचाई हेर्न जानुहोला।

बिस्तृत जानकारीका लागि, "भियतनाम फेस्टिवल २०२३ फुकुओका" भनि खोज्नुहोस्।

2023.03.30[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【DJ को Choice ‘वसन्तमा हिड्डुल’】

थाकेको जस्तो अनि शरीरमा स्फूर्ति नभएको जस्तो अवस्थामा, हिड्डुल गरेर ताजापन महसुस गरेर हेर्दा राम्रै होला। तपाईंहरुलाई कस्तो लाग्छ?

फुकुओका शहरको केन्द्रीय भागमा अवस्थित तेन्जिन सेन्ट्रल पार्क, पहिलेको फुकुओका प्रिफेक्चरल अफिस भएको साइटमा निर्माण गरिएको शहरी हरियाली क्षेत्र हो।

पार्कको कुल क्षेत्रफल लगभग ३१,००० वर्ग मिटर भई, हिड्डुलको लागी यो ठाउँ सुझावजन्य छ।

साकुरा फूलेको हेर्ने स्थलको रूपमा पनि लोकप्रिय छ। साथै, पार्कको बीचमा फराकिलो ठूलो प्राकृतिक घाँसे मैदान भएकोले, पिकनिक गरेर वा दिउँसोको निन्द्रा लिएर, मस्तले आरामदायी समय बिताउन सक्नुहुन्छ।

 

यस अतिरिक्त, "हारेनो गार्डेन" भनिने, नदीको किनारमा अवस्थित निशी-नाकासु क्षेत्र, जुन महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा पनि रहेको छ, यसको केन्द्रमा लोकप्रिय बेकरीका पसलहरु तथा रेस्टुरेन्टहरू लाइनै पाईन्छन्। पर्यटकहरूमाझ पनि लोकप्रिय यहाँका क्याफेहरुमा बिस्तारै समय बिताउनु पनि राम्रै होला, वा बेकरी र कफी किनेर, पार्कमा खानको लागि पनि उपयुक्त छ।

यसबाहेक, पार्कको अगाडि, चलचित्र र नाटक शूटिङका लागि पनि धेरै प्रयोग गरिने फुकुहाकु देआई बाशी(Fukuhaku Deai Bashi) नामको पूल पनि छ, त्यहाँ फोटो खिच्न पक्कै पनि मन लागेर आउँछ। पार्कको एक छेउबाट अर्को छेउसम्म हिँड्नुभयो भने, बिभिन्न तरिकाले मनोरञ्जन लिन सक्नुहुन्छ।

त्यस्तै, हिड्डुलको लागी सुझाबजन्य अर्को स्थान हो, "ओहोरी पार्क"!

ओहोरी पार्क पोखरीको वरिपरि बनाइएको पार्क हो।

पोखरीको परिधि करिब २ किलोमिटर भई जगिङ कोर्सको पनि सुबिधा छ।

पोखरीको बीचमा रहेको टापुमा जान पनि सक्नुहुन्छ । पोखरीमा आरपार गर्न मिल्ने गरि बनाईएका चारवटा पुलहरूद्वारा जोडिएको बाटो, विशेष रुपमा हिड्डुलका लागि उपयुक्त छ।

त्यहाँ Boat House पनि भएकोले, धेरै मानिसहरू भाडाको डुङ्गामा, पानी माथिको भ्रमणको आनन्द लिने गर्छन्। आरामका साथसाथै ताजा महसुस गर्न सक्नुहुन्छ।

फुकुओका प्रकृतिमा धनी शहर हो, तथा यहाँ दरबार तथा मन्दिरहरू जस्ता इतिहासको अनुभव गर्न सक्ने ठाउँहरू पनि छन्। अनेक विशेषताहरु भएका पर्यटक स्थलहरू भएको क्षेत्र हुनाले, तपाईंहरु पनि यस वसन्त ऋतुमा फुकुओका शहरको वरिपरि घुमेर नयाँ चीजहरूको आनन्द लिनुहोस्।

 

कार्यक्रमको नयाँ बर्षको सन्देश

वर्ष २०२० को अप्रिलमा शुरु भएको यो कार्यक्रम " Life in Fukuoka", अर्को हप्ताबाट चौथो वर्षमा प्रवेश गर्न गईरहेको छ! प्रसारण वा पोडकास्टहरू सुनि दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि दैनिक जीवनमा उपयोगी जानकारीहरु तथा रमाइला विषयबस्तुहरू आउँदा दिनहरुमा पनि निरन्तर प्रस्तुत गर्नेछु।

पक्कै पनि यस कार्यक्रममा वा मलाई मेसेज पठाउनुहोला!

कृपया मेसेज पठाउनु हुँदा शीर्षकमा "Life in Fukuoka Nepali" राखेर इमेल ठेगाना: 761@lovefm.co.jp मा पठाउनुहोला।

2023.03.23[Thu] 09:00

जापानी भाषा(日本語) , समुदाय(コミュニティ)

【वसन्त ऋतुको सरसफाई】

जापानमा सामान्यतयाः डिसेम्बरमा सरसफाई गरिन्छ, तर वसन्त ऋतुमा सरसफाई गर्नुका धेरै फाइदाहरू छन्।

उदाहरणका लागि, जाडोमा चिसो हुने भएकोले घर बाहिर र वरपरको सरसफाई गर्न झन्झटिलो महसुस हुन्छ भने, वसन्तमा न्यानो हुने भएकोले सरसफाई गर्न चाहिं जाँगर चल्छ।

वसन्तमा झ्याल-ढोका खोलेर सजिलै भेन्टिलेसन गर्न सकिने र तापक्रम जति उच्च भयो, त्यति नै तेलका दागहरू पनि निस्कन सजिलो हुने भएकोले, यो मौसम सरसफाईको लागि उत्तम मानिन्छ।

धोएका कपडाहरु पनि सजिलै सुक्ने भएकोले, पर्दा र सोफाको खोलहरू आदि धुन पनि सजिलो हुन्छ।

कोठाको सजावटमा परिवर्तन र पहिरनको परिवर्तन सँगसँगै सरसफाई पनि गर्ने गरेमा, कोठा टिलिक्क भई थप ताजा महसुसका साथ बस्न सक्नुहुन्छ।

वर्षको अन्त्यमा सरसफाई गर्न नभ्याएकाहरुले, यस वसन्तको अवसरमा राम्ररी सरसफाई गरेर हेर्ने होईन त?

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!

फाउण्डेसनको LINE आधिकारिक Accountमा, LINE कल प्रयोग गरि टेलिफोन मार्फत् जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शहरू आदिका लागि सम्पर्क गर्न सक्नुहुन्छ।

टेलिफोन दोभाषे सेवामा २२ वटा बहुभाषी सेवा सम्भव छ।

साथै, "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" होमपेजबाट LINE मा Friend add गर्नुहोला!

तर, च्याटमा सेवा उपलब्ध छैन। Text मार्फत् परामर्श लिन चाहनुहुन्छ भने, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

 

 

अर्को जानकारी रहेको छ,

“JapaneseChattingEvent” को परिचय

फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच सजिलै कुराकानी गर्ने “Japanese Chatting Event”, हरेक महिनामा एक पटक आयोजना हुँदै आईरहेको छ।

अर्को आयोजना मार्च ३१ शुक्रबार, अनलाइनमा हुनेछ।

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ।

हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, सहभागी हुनुहोला।

सहभागिता शुल्क नि:शुल्क हो तर आवेदन दिन आवश्यक छ।

आवेदन दिने तरिका आदि अधिक जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुक पेजमा हेनुहोला।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज रहेको छ, www.fcif.or.jp.

केही नबुझेको कुरा भएमा, कृपया Fukuoka International Student Support Association मा सम्पर्क गर्नुहोस् ।

फोन नम्बर छ, ०९२-२६२-१७४४ । तपाईंहरुको सहभागीताका लागि पर्खिरहेका छौं।

2023.03.16[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【Manga Weekly Magazine Day】

मार्च १७ मा Manga Weekly Magazine Day पर्छ।

सन् १९५९ को यस दिन, किशोरहरूप्रति लक्षित जापानको पहिलो साप्ताहिक पत्रिका "शोनेन् म्यागजिन" र

"शोनेन् सन्डे" को विमोचन भएको अवसरको वार्षिकोत्सव हो।

अहिले पनि दुबै म्यागजिनहरु बेच्दै आईरहेको छ। हाल ३४० येनमा बेचिने "साप्ताहिक शोनेन् म्यागजिन", त्यस समयमा ४० येनमा बेच्ने गरिन्थ्यो!

मान्गा अर्थात् कमिक्स जापानमा धेरै लोकप्रिय छ।

बालबालिकादेखि वयस्कसम्मले विभिन्न प्रकारका मान्गाहरु पढदै आईरहको छ।

आजकल त इन्टरनेट प्रयोग गरेर विदेशबाट पनि मान्गा र एनिमे पढ्न सकिन्छ।

नेपालमा जापानको मान्गा र एनिमेहरु लोकप्रिय हुँदै आईरहको छ। बिशेष गरि आजकलका किशोरकिशोरीहरुले जापानी एनिमेहरु धेरै रुचाएको पाईन्छ।

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

तेस्रो पटक, चौंथो पटक र पाँचौं पटकको खोप लिनेहरूका लागि Omicron strain विरुद्धको खोप लगाउने काम भईरहेको छ। Omicron strain विरुद्धको खोप प्रति व्यक्ति एक पटक लगाईने खोप हो।

पछिल्लो खोप लिएकोबाट ३ महिना कटिसकेकाहरूका लागि, खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

खोप कुपन हराएका महानुभावहरुले, पुन: जारीको लागि आवेदन दिन आवश्यक छ। कृपया कल सेन्टरमा फोन गर्नुहोस्।

 

विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,

खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न, सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

2023.03.09[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【मार्चको मौसमी तरकारी, निरा】

मार्चको शुरुवातसँगै न्यानोपन बढ्ढै आएको छ, तैपनि, राती अझै जाडै छ।

मौसममा तापक्रम घटबढको कारण बिरामी हुनबाट बच्नका लागि, जाडोको समयमा कमजोर शरीरलाई स्वस्थ राख्न मद्दत पुर्याउने, पौष्टिक तत्वहरुले भरिपूर्ण मौसमी खानाहरु खान सल्लाह दिईन्छ!

मार्च महिनाको मौसमी तरकारी चाहिं, "निरा" हो।

 

निरामा पाईने विशेष किसिमको सुगन्धित तत्व, एलिसीन (Allicin) ले भिटामिन B1 को अवशोषण दर बढाउनुको साथै चिनीलाई ऊर्जामा परिणत गर्दछ भन्ने गरिन्छ।

त्यसकारण, भिटामिन B1 प्रशस्त पाईने कलेजोसँग खाईने "कलेजो निरा फ्राइड" परिकारमा, निराले भिटामिन B1 को अवशोषणलाई सहज बनाई दिने भएकोले, शक्तिवर्धक खानाको रुपमा लिईन्छ।

 

निरा किन्दा, पूरै भाग हरियो चम्किलो रङ भएको, पातहरुको टुप्पोसम्म चुच्चो परेको, अनि रसिलोपन भएको ताजा हो भन्ने कुरा सम्झिराख्नु राम्रो होला कि।

रोग प्रतिरोधात्मक क्षमता बढाउने मौसमी खानाहरुको लाभ उठाऔं अनि, नियमित रुपमा खाने गरौं।

 

 

【फुकुओका शहरको सूचना】

भीडभाडबाट बचि बसाईसराईको प्रक्रिया चाल्नु

मार्च र अप्रिलमा बसाईसराई धेरै हुने भई वार्ड अफिसको काउण्टरमा भीड हुने समय हो।

 

विशेष गरी मार्च २० देखि अप्रिल १० सम्म, २-३ घण्टा कुर्नुपर्ने जत्तिको भीड हुने भएकोले, सकेसम्म यस अवधिमा कार्यालय भ्रमण नगरिदिनु होला।

सप्ताहका दिनहरुमा व्यस्त भई बसाईसराईको सूचना दर्ता गर्न जान असमर्थ हुनुहुने महानुभावहरुले, बिदाका दिनमा बसाईसराईको प्रक्रिया गर्न सकिने गरि मार्च २६ र अप्रिल २ को आइतबार, प्रत्येक वार्ड कार्यालय र शाखा कार्यालयका काउण्टरहरू अस्थायी रूपमा खोलिनेछन्।

बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म, बसाईसराईको सूचना वा बसाईसराई सम्बन्धित सूचना दर्ताहरू स्वीकार गर्दछौं।

 

फुकुओका शहरभन्दा बाहिर बसाई सर्दै हुनुहुन्छ भने, वार्ड अफिसमा नगईकन पनि, हुलाक मार्फत् वा माइनम्बर कार्ड हुनेहरुले अनलाइनबाट सूचना दर्ता गर्न सक्नुहुन्छ।

यदि फुकुओका शहरभित्र बसाई सर्दै हुनुहुन्छ भने, बसाईसराई सूचना दर्ता गर्न आवश्यक छैन तर, नयाँ ठेगानामा बस्न थाल्नु भएदेखि आफू सर्नुभएको वार्ड अफिसमा बसाईसराई सूचना बुझाउनुपर्छ।

 

वार्ड अफिसमा बसाईसराईको प्रक्रियाका लागि सुविधाजनक अनलाइन सेवा पनि छ।

शनिवार, आइतवार र सार्वजनिक बिदाहरुमा बाहेक, प्रकिया चलाउन अपेक्षित मिति भन्दा कम्तिमा ५ दिन अगाडि ८:३० बजेसम्ममा स्मार्टफोन आदिबाट, ठेगाना परिवर्तन वा प्रक्रियाको अपेक्षित मिति आदिको जानकारी पठाउनुभयो भने, बुकिङ गर्न सक्नुहुन्छ र काउण्टरमा प्रक्रियाको समय कम लाग्ने र प्रकिया पनि सहज हुन्छ।

 

नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ हो।

तपाईं आफू बस्ने वार्ड र बसाईसराईको प्रक्रियाको बारे बुझ्न चाहेको भन्नुहोला।

 

यस अतिरिक्त, बसाईसराई गर्दा, खानेपानी आपूर्ति शुरु गर्न वा रोक्नका लागि सुचना दिन आवश्यक छ। शनिवार, आइतवार र सार्वजनिक बिदाका बाहेक, सर्ने दिनभन्दा कम्तिमा ४ दिन अगाडिसम्ममा फोनमार्फत सम्पर्क गर्नुहोस्।

फोन नम्बर ०९२-५३२-१०१० हो। आफूले चाहेको विदेशी भाषामा कल गर्न सक्नुहुन्छ।

अनलाइनबाट पनि आवेदन दिन सक्नुहुन्छ।

 

बसाईसराई फोहर सम्बन्धि

वसन्त ऋतुमा स्थान परिवर्तनको कारण फर्निचर र घरेलू उपकरण जस्ता ठूला आकारको फोहर बढ्ने समय हो।

यस पटक, ठूला आकारको फोहोर रिसेप्शन सेन्टरमा आबेदन दिने तरिका सम्बन्धि जानकारी दिनेछु।

 

फोन, इन्टरनेट वा फुकुओका सिटीको LINE मार्फत अग्रिम आवेदन दिई, कन्भिनीयन्स स्टोर आदिमा प्रशोधन टिकट खरीद गर्नुहोस्।

फोहर संकलन, आवेदन दिएको मितिबाट एक हप्ता लाग्नेछ।

संकलनको दिनमा बिहान ८:३० सम्म तोकिएको ठाउँमा राख्नुहोस्।

ठूला आकारको फोहोर रिसेप्शन सेन्टरको फोन नम्बर ०९२-७३१-११५३ ।

इन्टरनेट वा LINE मार्फत २४ घण्टा जहिलेपनि आवेदन दिन सकिने भएकोले सुविधाजनक छ।

 

टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर र एयर कन्डिशनरहरूको हकमा घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ।

नयाँ जडान गर्ने बेला लगिदिनुहुन्छ कि भनेर खरिद गर्नुभएको पसल वा नजिकैको Yamada Denki मा अनुरोध गर्नुहोला। रिसाइकल शुल्क, संकलन र यातायात शुल्क तिर्नु पर्छ।

2023.03.02[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

बबिता ज्ञवाली

Kyushu University मा विद्यावारिधिमा अध्यनरत (Graduate School of Information Science and Electrical Engineering)

2023.02.23[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【मौसमी फूल: नानो हाना】

चम्किलो पहेंलो रङ्गको फूल हुने नानो हाना, चेरी अर्थात् साकुराको फूल जस्तै "वसन्तको प्रतीक" को रूपमा मन पराउँदै आएको फूल हो।

 

वास्तवमा, नानो हाना, क्रूसिफेरस जातमा पर्ने र जापानी तोरीको पालक अनि चिन्गेन्साई नामको हरियो सागसँग सम्बन्धित छ।

फूलको आनन्द लिने मात्र नभई "वसन्तको सुगन्धको आनन्द लिन सकिने खाद्य सामाग्री" को रूपमा पनि, यो फूल परापूर्वकालदेखि महत्वपूर्ण रहँदै आएको छ।

 

फुकुओकामा नानो हाना फूलको सिजन अपेक्षाकृत लामो छ, फेब्रुअरीको शुरुदेखि अप्रिलको मध्यसम्म, भन्नाले वसन्तको प्रारम्भदेखि लामो समय यस फूलको आनन्द लिन सकिन्छ। मौसम न्यानो भएर आएपछि धेरै मानिसहरू नानो हानाको लागि रमणीय स्थलहरू भ्रमण गर्ने गर्छन्।

साथै, साकुराको फूल फुल्ने समय ठ्याक्कै त्यहि समयतिर हुने भएकोले एकै समयमा साकुरा फूल र नानो हानाको आनन्द लिन सक्नुहुन्छ।

 

फुकुओका प्रिफेक्चरभित्रको ठाउँ अनुसार, "चाडो फुल्ने नानो हाना" र "ढिलो फुल्ने नानो हाना" गरि २ प्रकारका छन्, जसले गर्दा सिजनमा यस फूलको प्रशस्त मनोरञ्जन लिन सक्नुहुन्छ।

Umino-nakamichi-kaihin-ko-en, Nokonoshima-island-park आदि स्थानहरुमा धेरै पहेंला फूलहरु तपाईंहरुको प्रतिक्षा गरिरहका छन्।

 

 

【फुकुओका शहरको सूचना】

शहर तथा प्रान्तीय कर फाइल गर्ने सम्बन्धि

फुकुओका शहरले रेइवा ५ को शहर तथा प्रान्तीय कर फाइल लिईदैछ।

कर फाइल गर्ने म्याद, मार्च १५ बुधबारसम्म हो।

कर फाइल बुझाउने काउन्टर चाहिं वार्ड कार्यालयको कर बिभागमा, सोमबारदेखि शुक्रबार बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म खुला रहनेछ।

काउण्टर भिडभाड हुने भएकोले, कृपया हुलाक वा अनलाइन मार्फत् कर फाइल गर्न अनुरोध गरिन्छ।

 

फुकुओका शहरमा कर फाइल गर्न आवश्यक व्यक्तिहरु भन्नाले, २०२३ को जनवरी १ देखि फुकुओका शहरभित्र ठेगाना भई २०२२ मा आम्दानी भएका व्यक्तिहरु पर्दछन्।

कर कार्यालयमा अन्तिम कर फिर्ती निवेदन पेश गर्नुहुने वा तलब आय मात्र भएको व्यक्तिको हकमा कम्पनीमा वर्षान्तको समायोजन गर्नुहुने आदिले कर फाइल गर्न आवश्यक छैन।

 

कर फाइलका लागि आवश्यक कागजातहरु,

  • माइनम्बर कार्ड वा माइनम्बर बुझ्न सजिलो कागजपत्र र सवारीचालक परिचय पत्र, पासपोर्ट, बसोबास कार्ड आदि पहिचान खुल्ने कागजातहरू
  • गेन्सेन्च्योउस्युउह्योउ आदि जस्ता २०२२ को आय देखाउने कागजातहरु
  • २०२२ मा गरिएको कटौतीहरुको कागजातहरू

 

आवश्यक कागजात वा कर फाइल गर्न आवश्यक छ छैन आदि बारे बिस्तृत जानकारीका लागि कृपया आफू बसोबास गर्दै आएको स्थानीय वार्ड कार्यालयको होमपेजमा हेर्नुहोला। नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली जस्ता १८ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ हो।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुन्छ।

तपाईं आफू बस्ने वार्ड र कर फाइलबारे बुझ्न चाहेको भन्नुहोला।

यस अतिरिक्त, वार्ड कार्यालयमा जानुहुँदा पनि आफ्नो फोन प्रयोग गरेर यस सेवा मार्फत् अनुवाद गर्न सकिने भएकोले नहिच्किचाइकन यसको प्रयोग गर्नुहोला।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ