ブログ

ポッドキャスト

ポッドキャスト RSS

2026年01月

2026.01.29[Thu] 09:00

【फुकुओका बुदोखान्】

यस महिना, फुकुओका शहरको हाकाता–कु, हिगासी पार्कमा नयाँ "फुकुओका बुदोखान्" सञ्चालनमा आएको छ।

यो फुकुओका प्रान्तद्वारा व्यवस्थित मार्सल आर्ट्सको मुख्य केन्द्र हो। यहाँ जुडो, केन्डो, क्युदो र सुमो जस्ता खेलका प्रतियोगिताहरू र प्रहरीका तालिमहरू सञ्चालन गरिन्छन्। पहिले यो ओहोरी पार्क नजिकै थियो, तर प्रान्तीय कला संग्रहालयको पुनर्निर्माणका कारण यसलाई अहिले हाकाताको 'फुकुओका सिभिक जिम्नासियम' को पश्चिम तर्फ सारिएको छ।

यो नयाँ बुदोखान्, भूमिगत एक तला बेसमेन्ट सहित जम्मा पाँच तलाको छ। पहिलो तला: सुमो रिङ। दोस्रो तला: जुडो र केन्डोका लागि चार–चार वटा हलहरू (जुन अब इन्डोर भएका छन्)। चौथो तला: क्युदो (धनुविद्या) हल। बेसमेन्टमा बास्केटबल कोर्टको आकारको नयाँ आधुनिक हल रहेको छ।

"मार्सल आर्ट्स र फुकुओकाको संस्कृतिलाई जोड्ने" उद्देश्यले बनाइएको यो भवनको बाहिरी भाग हाकाताको प्रसिद्ध कपडा 'हाकाता–ओरी' को बुट्टाबाट प्रभावित छ। भवनभित्र फुकुओकाका परम्परागत हस्तकलाका सामग्रीहरू प्रदर्शन गरिएका छन्। साथै, यसमा सोलार ऊर्जाको प्रयोग र फुकुओकाकै काठहरू प्रयोग गरी वातावरणमैत्री बनाइएको छ। 

प्रहरीको तालिम हुने समय बाहेक यो हल सर्वसाधारणका लागि पनि खुला रहनेछ। तपाईंले त्यहाँको काउन्टरमा गएर बुकिङ गर्न सक्नुहुन्छ।

यदि तपाईं मार्सल आर्ट्समा रुचि राख्नुहुन्छ वा नयाँ भवनको सुन्दरता हेर्न चाहनुहुन्छ भने, एक पटक पक्कै जानुहोला!

 

 

【फुकुओका शहरको सूचना】

नोरोभाइरसदेखि सावधान!

जाडोयाममा नोरोभाइरसका कारण झाडापखाला, बान्ता र फुड पोइजनिङ (Food Poisoning) हुने सम्भावना बढी हुन्छ। यो भाइरस निकै शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि यसले बिरामी बनाउन सक्छ। संक्रमित व्यक्तिको हात वा खानाको माध्यमबाट शरीरमा भाइरस प्रवेश भई, यसले पखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ।संक्रमित व्यक्तिको बान्ता वा दिसाबाट हावामा फैलिएको भाइरस सास फेर्दा शरीरमा पुगेर वा भाइरस भएका सी-फूड (जस्तै: काकी वा अन्य शंखेकीरा) राम्रोसँग नपकाई खाँदा संक्रमण हुन्छ। यसका मुख्य लक्षणहरू बान्ता, झाडापखाला, पेट दुख्ने र ज्वरो आउनु हुन्। धेरै बान्ता वा पखाला लागेमा शरीरमा पानीको कमी (Dehydration) हुन सक्छ।

लक्षण देखिएमा तुरुन्त अस्पताल जानुहोस्। सामान्यतया २-३ दिनमा सन्चो भए पनि, निको भएको १ हप्तादेखि १ महिनासम्म दिसाको माध्यमबाट भाइरस बाहिर निस्किरहने हुनाले अरूलाई सर्न नदिन सतर्क रहनुपर्छ।

संक्रमण फैलिनबाट रोक्नको लागि, निवारक उपायहरू अपनाऔं।

खाना पकाउनु अघि, खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्रोसँग हात धुने गरौं। भाँडाकुँडाहरू तातो पानी वा क्लोरिनयुक्त ब्लिचले सफा गर्ने गरौं। नोरो भाइरसमा अल्कोहोलले खासै काम गर्दैन। खानालाई ८५ देखि ९० डिग्री सेल्सियसमा कम्तीमा ९० सेकेन्डसम्म राम्रोसँग पकाउने गरौं। काँचै खाइने फलफूल र तरकारी राम्ररी धोएर प्रयोग गरौं। सन्चो नभएको बेला खाना पकाउने काम नगरौं। 

यदि तपाईंलाई कुन अस्पताल जाने थाहा छैन वा डाक्टरसँग कुरा गर्न भाषाको समस्या छ भने, फुकुओका सहरको "मेडिकल इन्टरप्रिटेसन कल सेन्टर" मा सम्पर्क गर्न सक्नुहुन्छ। यो सेवा अस्पताल वा फार्मेसीमा औषधि लिने बेला पनि प्रयोग गर्न सकिन्छ।

फोन नम्बर: (०९२-७३३-५४२९) हो ।

यो सेवा २४सै घण्टा उपलब्ध छ र २० वटा भाषामा सेवा लिन सकिने भएकोले, आवश्यक परेको बेला अवश्य पनि परामर्श लिनु होला।

2026.01.22[Thu] 09:00

【अतिथि अन्तर्वार्ता】

➖Ramchandra Giri➖

GAG Japanese Language Institute

https://info336916.wixsite.com/training-center/%E7%A6%8F%E5%B2%A1-gag%E6%97%A5%E6%9C%AC%E8%AA%9E%E5%AD%A6%E9%99%A2

2026.01.15[Thu] 09:00

【स्ट्रिट पियानो】

पछिल्लो समय स्टेशन र सार्वजनिक ठाउँहरूमा जोसुकैले बजाउन मिल्ने "स्ट्रिट पियानो" निकै लोकप्रिय बन्दै गएका छन्। फुकुओकामा पनि तेन्जिनको सोलेरिया प्लाजा, मेइनोहामाको आयोन मारिना टाउन र बेसाइड प्लेस हाकाता जस्ता ठाउँमा यस्ता पियानोहरू राखिएका छन्। विशेषगरी बेसाइड प्लेस हाकातामा ठूलो एक्वेरियम अगाडि राखिएको ग्राण्ड पियानो त फोटो खिच्नका लागि पनि निकै चर्चित छ।

एउटा खुसीको खबर! सन् २०२५ को ओसाका–कान्साई एक्स्पो (Osaka-Kansai Expo) मा प्रदर्शन गरिएको विशेष स्ट्रिट पियानो अब हाम्रो फुकुओकामा आउँदैछ। एक्स्पोको चर्चित पात्र "म्याकु-म्याकु"को डिजाइन गरिएको यो पियानो यसै हप्ता जनवरी १७, शनिबारदेखि प्रदर्शनीमा राखिनेछ।

स्थान: आक्रोस फुकुओका (Across Fukuoka) को भुइँतल्ला (B1) मा रहेको यामाहा म्युजिक फुकुओका स्टोर।

समय: जनवरी १७ देखि २६ तारिखसम्म।

सञ्चालन समय: बिहान ११:३० देखि बेलुका ६:३० सम्म (मंगलबार पसल बन्द रहनेछ)।

यो विशेष पियानो एक्स्पोमा देखिएको एउटा मात्र 'मोडल' हो, जुन अहिले जापानका ५ वटा ठूला सहरहरू घुम्दै फुकुओका आइपुगेको हो। प्रदर्शनी अवधिभर जोसुकैले पनि यो पियानो सित्तैमा बजाउन सक्नुहुन्छ। एक्स्पोमा मात्र देख्न पाइने यो दुर्लभ पियानोलाई नजिकैबाट हेर्ने र बजाउने यो एउटा सुनौलो अवसर हो।

तपाईं पनि संगीतको आनन्द लिन एक पटक पक्कै जानुहोला!

 

 

【फुकुओका सिटीको सूचना】

"फुकुओका किबो च्युउ गाक्को" मा विद्यार्थी भर्ना खुल्यो

"फुकुओका किबो च्युउ गाक्को" भनी चिनिने विद्यालयको बारेमा यहाँहरुलाई जानकारी छ?

यो फुकुओका सहरद्वारा सञ्चालित सरकारी रात्रिकालीन विद्यालय हो। विभिन्न कारणले विद्यालय जान नपाएका वा पढाइ पूरा गर्न नसकेकाहरूका लागि यो खोलिएको हो। यहाँ जुनसुकै देशका नागरिकले पनि भर्ना पाउन सक्छन्।

यहाँ दिउँसोको माध्यमिक विद्यालयमा जस्तै ९ वटै विषय पढाइ हुन्छ, तर जापानी भाषामा समस्या हुने विद्यार्थीहरूले जापानी भाषाको विशेष कक्षा पनि लिन सक्नेछन्।

विद्यालयको पाठ्यक्रम पूरा गरेपछि, माध्यमिक विद्यालयको स्नातकको प्रमाणपत्र प्राप्त हुनेछ।

कक्षा सोमबारदेखि शुक्रबार साँझ ५:५० बजेबाट राती ९:१५ बजे सम्म हुन्छ। 

विद्यालयको ठेगाना, सवारा वार्डको मोमोचीमा अवस्थित छ।

कक्षाको शुल्क र पाठ्यपुस्तकको खर्च लाग्ने छैन।

अहिले 'फुकुओका किबोउ च्युउ गाक्को' ले नयाँ विद्यार्थीहरू भर्ना लिंदैछ।

यस विद्यालयमा भर्ना हुनका लागि आवेदन दिने अन्तिम मिति २०२६ जनवरी ३० सम्म रहेको छ। यदि तपाईं भर्ना हुन चाहनुहुन्छ भने फोन वा वेबसाइटमार्फत आवेदन दिन सक्नुहुन्छ।

सम्पर्कका लागि फोन नम्बर हो: (०९२-४००-०७५१)

वेबसाइटको लागि, कृपया "फुकुओका किबो च्युउ गाक्को सेइतो बोस्यु (福岡きぼう中学校 生徒募集)" भनेर खोज्नुहोस्।

सोधपुछ तथा परामर्शको लागि पनि सम्पर्क गर्न सकिन्छ।

वेबसाइटमा दिइएको इमेल ठेगाना प्रयोग गरेर, सजिलै सोधपुछ गर्न सक्नुहुनेछ।

2026.01.08[Thu] 09:00

【खागामी बिराकी】

नयाँ वर्षको बिदा सकिएर यो हप्तादेखि धेरैजना आफ्नो काम र दैनिक जीवनमा फर्किनुभएको होला। तपाईंहरूको यो सुरुवात सुखद र ऊर्जावान् रहोस् भन्ने कामना गर्दछौं।

आज हामी "खागामी मोची" बारे कुरा गर्नेछौं। यो भगवानलाई चढाइने चामलको रोटी (Mochi) हो। यस हप्ताको आइतबार, जनवरी ११ मा, घरमा सजाएर राखिएका यी मोचीहरूलाई निकालेर स्वास्थ्यको कामना गर्दै खाने चलन छ, जसलाई "खागामी बिराकी" भनिन्छ।

यस परम्पराका केही खास कुराहरू छन्, जस्तै कि; भगवानलाई चढाइएको हुनाले यसलाई चक्कुले काट्नु अशुभ मानिन्छ। त्यसैले काठको हथौडाले हानेर स-साना टुक्रा पारिन्छ। त्यस्तै, यसको गोलो आकारले पुराना ऐनालाई जनाउँछ। दुई तहमा राखिएका मोचीले "खुसी थपिँदै जाओस्" र "जीवन सुखद रहोस्" भन्ने अर्थ दिन्छ।

यी मोचीहरू सुकेर कडा हुने भएकाले सूप वा भुटेर खाने गरिन्छ। भगवानको शक्ति र आशीर्वाद मानिने यो मोचीलाई नफालेर स्वादिलो परिकार बनाई खानु महत्त्वपूर्ण छ।

यसरी "खागामी मोची" खाएर नयाँ वर्षलाई स्वस्थ र ऊर्जावान् बनाउनुहोस्!

 

 

【फुकुओका सिटीको सूचना】

शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा- “याराना हिरोबा”

साना बालबालिकाका आमाबुबाहरू, एकछिन आराम गर्ने पो हो कि?

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

जनवरी महिनाको विषय "सान्नो कोदोमो प्लाजा: किन्डरगार्टेन र नर्सरी स्कूल" रहेको छ।

यो कार्यक्रम हाकाता वार्डका बाल-सहयोग परामर्शदाता Concierge द्वारा सञ्चालन गरिनेछ। जनवरी १३, मंगलबार बिहान १०:३० देखि ११:३० सम्म हुने यस कार्यक्रममा सुरुको १५ मिनेट जानकारीमूलक कक्षा हुनेछ र बाँकी समय स्वतन्त्र छलफलका लागि छुट्याइएको छ।

यस सत्रमा तपाईंले किन्डरगार्टेन र नर्सरी स्कूलबीचको भिन्नता, भर्ना प्रक्रिया र आवश्यक तयारीबारे जानकारी पाउनुहुनेछ। कार्यक्रम सकिएपछि परामर्शदातासँग व्यक्तिगत रूपमा सल्लाह लिने अवसर पनि मिल्नेछ।

साना बालबालिकाका अभिभावकहरूका लागि यो निकै उपयोगी हुनेछ, सहभागी हुनुहोला!

थप जानकारी र दर्ताका लागि कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको फेसबुक पेज हेर्नुहोला। हामी तपाईंहरूको सहभागिताको प्रतीक्षामा छौं!

 

 

“विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श”

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर (०१२०-६६-१७९९) मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।

2026.01.01[Thu] 09:00

【हाचुमोदे】

तपाईहरु सबैलाई सन् २०२६ नयाँ वर्षको हार्दिक शुभकामना!

明けましておめでとうございます!

यस वर्ष पनि “LIFE IN FUKUOKA” ले तपाईंको फुकुओका बसाइलाई अझ सहज र सुखद बनाउन उपयोगी जानकारीहरू दिनेछ भन्ने आशा राख्दछौं।

यो वर्ष पनि हामीलाई यसैगरी साथ दिनुहोला!

सन् २०२६ को यो पहिलो प्रसारणमा, जापानको नयाँ वर्षको परम्परा “हाचुमोदे" अर्थात् नयाँ वर्षको पहिलो मन्दिर दर्शनको बिषय लिएर आएकी छु।

 

 

नयाँ वर्षको सुरुवातमा पहिलो पटक मन्दिर गएर दर्शन गर्ने परम्परालाई “हाचुमोदे” भनिन्छ। यस अवसरमा बितेको वर्षको लागि धन्यवाद दिने र नयाँवर्षको सुरक्षा तथा शान्तिको प्रार्थना गरिन्छ। हरेक वर्ष जनवरी १ देखि नै मन्दिरहरूमा दर्शनार्थीहरूको ठूलो भीड लाग्ने गर्छ।

दर्शन गरिसकेपछि धेरैले आफ्नो भाग्य जाँच्न “ओमिकुजी” लिने, नयाँ “ओमामोरी” (ताबीज) किन्ने वा काठको पाटी “एमा” मा आफ्ना सपना रलक्ष्यहरू लेख्ने गर्छन्। साथै, अघिल्लो वर्ष प्रयोग गरिएका पुराना ओमामोरीहरूलाई धन्यवादसहित मन्दिरमा फिर्ता गर्ने यो उत्तम समय पनि हो।

फुकुओका लगायत पश्चिम जापानमा नयाँ वर्षको पहिलो तीन दिनभित्र तीनवटा फरक-फरक मन्दिरको दर्शन गर्ने “सान्सा माइरी” भन्ने विशेष चलनछ। तीनवटा मन्दिर धाउनाले धेरै पुण्य र आशिर्वाद मिल्ने विश्वास गरिन्छ।

फुकुओकाका तीन प्रसिद्ध मन्दिरहरू यस प्रकार छन्:

  • दाजाइफु तेन्मान्गु : शिक्षा र बुद्धिका देवता।
  • हाकोजाकि गु : विजय र सुरक्षाका देवता।
  • मियाजिदाके जिन्जा : व्यापारमा सफलता र राम्रो भाग्यका देवता।

तर, तपाईंले यी तिन वटै मन्दिर जानुपर्छ भन्ने छैन। तपाईंले आफ्नो इच्छा अनुसार ट्राफिक सुरक्षा, परिवारको सुख-शान्ति वा प्रेम सम्बन्धका लागिप्रसिद्ध जुनसुकै तीनवटा मन्दिर रोज्न सक्नुहुन्छ। कुन मन्दिर पहिला जाने भन्ने कुनै निश्चित नियम छैन, तपाईं आफ्नो अनुकूलता अनुसार जानसक्नुहुन्छ।

दर्शनका लागि घाम अस्ताउनुअघि अर्थात् उज्यालो समयमै जानु राम्रो मानिन्छ। भनिन्छ कि, दिनको उज्यालोमा मन्दिरको वातावरण बढी पवित्र रसकारात्मक हुन्छ।

नयाँ वर्षको यो विशेष समयमा नयाँ उमंगका साथ प्रार्थना गरौं। सन् २०२६ ले तपाईंहरू सबैको जीवनमा धेरै खुसी र सफलता लिएर आओस् भनिकामना गर्दछु ♡

 

 

अब कुरा गरौं, फुकुओकामा नयाँ वर्षको रौनक बढाउने अर्को परम्परागत उत्सवको।

फुकुओका सहरको हाकाता, योसिजुका स्थित “तोका एबिसु” श्राइन मा हरेक वर्ष जनवरी ८ देखि ११ तारिखसम्म “ग्राण्ड न्यू इयर फेस्टिभल”आयोजना गरिन्छ। यो उत्सव विशेषगरी व्यापारमा सफलता र परिवारको सुख-शान्ति को कामना गर्नका लागि मनाइन्छ।

यो चार दिने मेलामा करिब १० लाख दर्शनार्थीहरू आउने गर्छन्। मन्दिर जाने बाटोमा करिब ४०० वटा खानेकुरा र उपहारका स्टलहरू राखिन्छन्, जसलेगर्दा त्यहाँको वातावरण निकै रमाइलो हुन्छ। यहाँको फुकुबिकी (भाग्यशाली चिठ्ठा); काट्ने जोकोहीले पनि केही न केही शुभ उपहार प्राप्त गर्छन्, कोहीपनि खाली हात फर्किनु पर्दैन रे। साथै, जनवरी ९ तारिखमा हाकाताका गेइस्याहरू सुन्दर किमोनोमा सजिएर, परम्परागत संगीतको धुनसँगै हिँडेर मन्दिरदर्शन गर्न आउने दृश्य निकै मनमोहक हुन्छ।

हाकाताका व्यापारीहरूका लागि यो उत्सव नयाँ वर्षको सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम मानिन्छ। यदि तपाईं पनि फुकुओकामा व्यापार वा कुनै काम गर्नुहुन्छ भने, नयाँ वर्षमा शुभ फल र सफलताको कामना गर्न यो मेलामा पक्कै सहभागी हुनुहोला!

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ