ブログ

ポッドキャスト

ポッドキャスト RSS

2026.09.10[Thu] 09:00

【होजोया】

फुकुओकाको शरद ऋतुको विशेष चाडपर्व भनेको वसन्तको 'हाकाता डोन्ताकु' र गर्मीको 'हाकाता गिओन यामागासा' सँगै हाकाताका तीन ठूला चाडहरूमध्ये एक हो, 'होजोया'

फुकुओका सिटीको हिगासी वार्डस्थित हाकोजाकी गुउ (मन्दिर) मा, हरेक वर्ष सेप्टेम्बर १२ देखि १८ सम्म 'होजोया' चाड आयोजना हुन्छ । यस अवधिमा लगभग १० लाख मानिसहरूको भीडभाड हुन्छ, र यस वर्ष यो चाड यही हप्ता शनिबारदेखि सुरु हुँदैछ।

हजार वर्षभन्दा बढी समयदेखि चलिआएको परम्परागत चाड हो यो, जसमा माछा र चराचुरुङ्गीलाई प्रकृतिमा फुकाइन्छ र जीवनप्रति सम्मान व्यक्त गरिन्छ। आजकल यसलाई प्रशस्त उब्जनी, व्यापार-व्यवसायमा प्रगति र परिवारको सुख-शान्तिको कामना गरिने, फुकुओकाको प्रतिनिधित्व गर्ने एउटा लोकप्रिय शरद् ऋतु को चाडपर्वका रूपमा मनाइँदै आइएको छ। करिब १ किलोमिटर लामो मन्दिर मार्गमा लगभग ५०० वटा साना पसलहरू लहरै हुन्छन्। मेलामा पाइने स्वादिला खानेकुरा, गोल्डेन फिस समात्ने खेल, योयो बेलुन टिप्ने खेल (Yo-Yo Fishing) र बन्दुकले निशाना लगाउने खेलका साथै, शोवा कालको नोस्टाल्जिक झल्को दिने भूतघर जस्ता रमाउनका लागि थुप्रै रोमान्चक गतिविधिहरू रहेका छन्!

त्यसैगरी, मन्दिर तर्फ जाने मूल बाटोमा हिँड्दा सडकैभरिका पसलहरूमा लहरै सजाइएका हरिया पातसहितका 'ताजा अदुवा', होजोयामेलाको एउटा मुख्य र प्रख्यात पहिचान हो। पहिले हाकोजाकी मन्दिरको वरपर अदुवाका खेतहरू फैलिएका थिए, त्यही परम्पराका कारण दर्शनको सम्झनास्वरूप नयाँ अदुवा घर लैजाने चलन आजसम्म कायम छ।

बिहानदेखि रातसम्म रमाइलोले भरिपूर्ण 'होजोया' मेलामा, शरद ऋतुको फसलप्रति कृतज्ञता व्यक्त गर्दै, फुकुओकाको यो मौलिक शरदकालीन परम्पराको मज्जा लिन एकचोटि पक्कै जानुहोला!

 

 

【फुकुओका शहरको सूचना】

विपद् रोकथाम दिवस” र “भण्डारण प्रवर्द्धन सप्ताह

हरेक वर्ष सेप्टेम्बर १ विपद् रोकथाम दिवसहो। फुकुओका सिटीले सेप्टेम्बर १ को विपद् रोकथाम दिवसदेखि सेप्टेम्बर ७ सम्मको १ हप्तालाई फुकुओका सिटी भण्डारण प्रवर्द्धन साताहभनी तोकेको छ।

'भण्डारण' भनेको आकस्मिक अवस्थाका लागि खाद्य सामग्री आदि भण्डार गरेर राख्नु हो। घर र कम्पनीहरूमा 'भण्डारण' सहित, नागरिकहरूको विपद् चेतना बढाउने कार्यक्रमहरू सञ्चालन गरिँदैछ।

किन भण्डारण आवश्यक छ त?

भूकम्प वा टाइफुन आई बाँचे पनि, पानी र खाना नभएमा बाँच्न सकिँदैन।

पसलहरू बन्द भएमा खाना वा पिउने कुरा किन्न सकिँदैन।

धारा पानी बन्द भएमा पानी पिउन सकिँदैन।

बिजुली वा ग्यास बन्द भएमा खाना पकाउन सकिँदैन।

बचेको जीवन जोगाउन दैनिक रूपमा भण्डारण आवश्यक छ।

के, कसरी भण्डारण गर्ने त?

पिउन मिल्ने पानी र खानेकुरा कम्तीमा ३ दिनको लागि तयार गरौं।

पानी एक दिनमा प्रति व्यक्ति करिब ३ लिटर आवश्यक हुन्छ।

आपतकालीन खानामा भात (अल्फा राइस आदि), टिनको खाना, बिस्कुट, चकलेट, र सुख्खा रोटी आदि पर्दछन्।

खाना नपकाई खान मिल्ने चीजहरू तयार गर्नुहोस्।

रेडियो र टर्च लाइटमा ब्याट्री छ कि छैन जाँच गर्नुहोस्।

नियमित रूपमा खाने औषधि र ब्यान्डेजजस्ता आकस्मिक उपचार सामग्री पनि तयार गर्नुहोस्।

घरमा शिशु भएमा न्यापी लगायत आवश्यक सामग्री पनि तयार गर्नुहोस्।

पिउने पानीबाहेक, शौचालय बगाउन जस्ता कार्यका लागि जीवन प्रयोजनको पानी पनि आवश्यक हुन्छ।

दैनिक रूपमा, धारा पानी भरेर राखेको प्लास्टिक ट्याङ्की तयार गर्ने, बाथटबमा सधैं पानी भरेर राख्ने जस्ता तयारी गरौं।

सामान्यतया खाने चीजहरू अलि धेरै किनेर राख्ने, म्याद सकिने मिति हेरेर पुरानो चीज पहिले खाने, र खाएको जति फेरि किन्ने गरी सधैं एउटा निश्चित मात्रामा खाद्यसामग्री भण्डारण गर्ने विधिलाई 'रोलिङ स्टक' भनिन्छ। खर्च र समयको हिसाबले दैनिक किनमेलकै दायराभित्र गर्न सकिने भएकाले यो विधि सिफारिस गरिन्छ।

हरेक वर्ष यही समयमा टाइफुन धेरै आउने गर्छ, र कुमामोतोमा ठूलो भूकम्प भइसकेको हुनाले, फेरि एकपटक विपद्को तयारी गरौं।

2026.09.03[Thu] 09:00

【Fukuoka Music Month】

यस हप्ता गर्मी बिदा सकेर अर्को हप्तादेखि नयाँ शैक्षिक सत्र सुरु हुने धेरै विद्यालयहरू होला।अनि याद गर्दा-गर्दै अब सेप्टेम्बर भइसक्यो! सेप्टेम्बर भन्नु नै, 【Fukuoka Music Month】! संगीतले भरिपूर्ण शहर 'संगीत शहर फुकुओका' मा, सेप्टेम्बरदेखि अक्टोबरसम्म, फुकुओका सिटीभित्र आयोजना हुने विभिन्न संगीत महोत्सवहरू एकआपसमा मिलेर, हरेक वर्ष संगीतको महोत्सव मनाउँदै आएको छ। यस वर्षको 【Fukuoka Music Month】 मा, सेप्टेम्बरका हरेक साप्ताहिक अन्त्यमा, ध्यान तान्ने ५ वटा संगीत कार्यक्रमहरू आयोजना हुनेछन्! त्यसैले, आज सेप्टेम्बरलाई रौनकपूर्ण बनाउने 【Fukuoka Music Month 2026】का ५ ठूला कार्यक्रमहरूको जानकारी लिएर आएकी छु।

पहिलो हप्ताको रूपमा, यही हप्ताको अन्त्य सेप्टेम्बर ५ र ६, शनिबार-आइतबार 'BAYFES' आयोजना हुनेछ।

बेसाइड प्लेस हाकातालाई 'संगीतले भरिएको बन्दरगाह' बनाउने उद्देश्यले स्टेज कार्यक्रम र डुङ्गा भाडामा लिई लाइभ कार्यक्रम आयोजना गरिनेछ। साथै, अघिल्लो दिन अर्थात् ४ शुक्रबार साँझ, हाकाता बन्दरगाहको ल्याण्डमार्क हाकाता पोर्ट टावरमा पूर्व-उत्सव पनि आयोजना हुनेछ। हाकाता पोर्ट टावरको भ्यूइङ रुम एक उत्कृष्ट लाउन्ज स्पेसमा परिणत भई 'Special DJ Night' बाट सुरु हुनेछ। रमाइलो समुद्री हावा चलिरहेको बन्दरगाहमा संगीतमा डुब्न सकिने यो कार्यक्रममा, प्रवेश निःशुल्क छ।

https://www.baysideplace.jp/bayfes/

 

 

अनि, दोस्रो हप्ता, सेप्टेम्बर १२ र १३, शनिबार-आइतबार दुई कार्यक्रम आयोजना हुनेछन्।

पहिलो त फुकुओकाको प्रमुख रमाइलो क्षेत्र नाकासुमा आयोजना हुने निःशुल्क ज्याज महोत्सव 'NAKASU JAZZ' हो! नाकासु शहरको ठाउँ-ठाउँमा स्टेजहरू खडा हुनेछन् र लगभग ५० भन्दा बढी उत्कृष्ट कलाकारहरूको प्रत्यक्ष प्रस्तुतिले सडकहरू गुञ्जिने, दुई दिनको विलासितापूर्ण अनुभव! क्लासिक धुनदेखि नयाँ गीतसम्म, फराकिलो दायराको ज्याज संगीतको आनन्द लिन सकिन्छ, साथै आँखैअगाडि हुने प्रस्तुतिहरू निकै प्रभावशाली हुन्छन्! संगीतप्रेमीहरू मात्र होइन, ज्याज बारेमा थोरै मात्र जानकारी भएकाहरूले पनि यसको ऊर्जा र वातावरणको आनन्द लिनुहुनेछ। साँझदेखि सुरु भई रात गहिरिँदै जाँदा, नाकासु शहर पूरै ज्याजमय हुँदै जान्छ। साथै, यही दिन मात्र देख्न पाइने विशेष सहकार्य प्रस्तुतिहरू पनि 'NAKASU JAZZ' को विशेषता हुन्

 https://nakasujazz.net/

 

 

अनि अर्को कार्यक्रम भनेको JR हाकाता स्टेसन अगाडिको चोकमा आयोजना हुने जनसहभागितामूलक संगीत कार्यक्रम हो, 'Sing! HAKATA'! गस्पेल, कोरस, र अकापेला गरी ३ विधामा, संगीतको सीमा नाघेर सबैले मिलेर गाउँदै, क्युशुको प्रवेशद्वार मानिने हाकाता शहरमा संगीतको उत्साह पूर्ण रूपमा आनन्द लिन सक्नुहुनेछ। कार्यक्रमको समय बिहान १० बजेदेखि राति ८ बजेसम्म, र यो पनि प्रवेश निःशुल्क छ।

https://fmfukuoka.co.jp/lp/singhakata/

 

 

अनि तेस्रो हप्ता, सेप्टेम्बर १९ शनिबार आयोजना हुने कार्यक्रम हो, 'ISLA DE SALSA (इस्ला डे साल्सा) - World Beat महोत्सव'। यो संगीत र नृत्यले विश्वलाई जोड्ने, २५ वर्षभन्दा बढी इतिहास भएको अन्तरसांस्कृतिक आदानप्रदान महोत्सव हो। स्थल फुकुओका सिटीको केन्द्रबाट डुङ्गाद्वारा जम्मा १० मिनेटमा पुगिने, प्राकृतिक सुन्दरताले घेरिएको हाकाता खाडीमा रहेको नोकोनोशिमाको समुद्रतट हो। स्थानीय स-साना ब्यान्डदेखि विश्वस्तरका कलाकारहरूसम्म, स्वदेशी तथा विदेशी विभिन्न विधाका संगीतकार र नर्तकहरू प्रस्तुत हुने स्टेजहरू सजाइनेछन्। ल्याटिन संगीतलाई केन्द्रमा राखेर, बहुराष्ट्रिय संगीत, नृत्य, स्वादिष्ट खाना, र कलाको आनन्द लिंदै, नाच्दै, कुरा गर्दै, मानिस र संस्कृति मिसिने यो रमाइलोले भरिपूर्ण संगीत कार्यक्रम हो।

https://isladesalsa.com/

 

 

त्यस्तै, 【Fukuoka Music Month 2026】को सेप्टेम्बरको अन्तिम कार्यक्रमको रूपमा सेप्टेम्बर २६ र २७ शनिबार-आइतबार आयोजना हुने हो 'MUSIC CITY TENJIN'। फुकुओकाको तेन्जिन शहरभरि धेरै निःशुल्क लाइभ स्टेजहरू देखा पर्नेछन्! तेन्जिन क्षेत्र सम्पूर्ण रूपमा नै एउटा संगीत महोत्सवको स्थलमा परिणत हुनेछ। मुख्य स्टेज फुकुओका सिटी हल पश्चिमको फुरेआई हिरोबामा हुनेछ। व्यावसायिक संगीतकारहरूलाई केन्द्रमा राखेर विभिन्न विधाका कलाकारहरू प्रस्तुत हुनेछन्, शहरका ठाउँ-ठाउँबाट संगीत सुनिने, साँच्चिकै 'संगीतको शहर फुकुओका' अनुभव गर्न सकिने दुई दिन हो! किनमेल र शहर घुमघाम गर्दै अचानक लाइभमा पुग्न सकिनु पनि यसको आकर्षण हो।

https://musiccitytenjin.com/

 

 

सेप्टेम्बरको अन्तिम साप्ताहिक अन्त्यमा, तेन्जिन शहर हिँड्दै संगीतको पूर्ण आनन्द लिनु कस्तो होला? 【Fukuoka Music Month 2026】 यही हप्ताको अन्त्यबाट सुरु हुँदैछ!

अक्टोबरमा पनि कार्यक्रमहरू छन्, विस्तृत जानकारीको लागि 【Fukuoka Music Month】 को वेबसाइट हेर्नुहोस्!

2026.08.27[Thu] 09:00

【मरिन वर्ल्ड उमिनोनाखामिचि・रातको एक्वेरियम】

गर्मी यामको रातमा अलि विशेष प्रकारको एक्वेरियम अनुभव गर्न चाहनुहुन्छ? फुकुओका सिटीको हिगासी वार्डमा रहेको 'मरिन वर्ल्ड उमिनोनाखामिचि' मा हाल संचालन समय राति ९ बजेसम्म बढाएर रातको एक्वेरियमआयोजना गरिँदैछ।

दिउँसोको भन्दा उज्यालो पूर्ण रूपमा फेरिएर, भवनभित्र एक जादुई वातावरण सिर्जना हुन्छ। यसमध्ये सबैभन्दा आकर्षक भनेको लगभग २० हजार साइनका माछाहरू संगीत र प्रकाशसँगै तैरने जादुई प्रदर्शन हो! अनि, रातको दृश्यलाई पृष्ठभूमिमा राखेर देखिने डल्फिनको जोशिलो उफानो पनि दिउँसोभन्दा फरक अनुभव दिन्छ।

'मरिन वर्ल्ड उमिनोनाखामिचि' मा क्युशुको समुद्रलाई विषयवस्तु बनाएर ३५० प्रजातिका, करिब ३० हजार समुद्री जीवजन्तुहरू प्रदर्शन गरिएका छन्। साथै, सिललाई ३६० डिग्रीबाट अवलोकन गर्न सकिने 'आइल्यान्ड स्टेज' र पेंग्विनलाई नजिकबाट हेर्न सकिने 'पेंग्विन बीच' मा जीवजन्तुहरूलाई अझ नजिकबाट हेर्न सकिन्छ।

दिउँसोको चहलपहलभन्दा फरक, रातको एक्वेरियम, अगस्ट २३ आइतबारसम्म हरेक दिन आयोजना हुनेछ। अगस्ट २९ शनिबारदेखि सेप्टेम्बर २३बुधबार (सार्वजनिक बिदा)सम्मको अवधिमा, शनिबार, आइतबार र सार्वजनिक बिदाका दिनहरूमा मात्र सञ्चालन हुनेछ। बिहान ९ बजे ३० मिनेटदेखि राति ९ बजेसम्म आनन्द लिन सकिन्छ।

यस गर्मी यामको विशेष सम्झनाको रूपमा यो अनुभव लिनु कस्तो होला?

 

 

【फुकुओका शहरको सूचना】

मिनामी नागरिक केन्द्र जापानी भाषा कक्षा 'कुराकानी थलो'

जापानी मानिसहरूसँग 'जापानी भाषा' मा कुराकानी गर्ने प्रयास गर्नचाहनुहुन्न?

विदेशी र जापानी मानिसहरूले कुराकानीगर्दै आनन्द लिने कार्यक्रम आयोजना गरिँदैछ।

सेप्टेम्बर ८ मंगलबार, साँझ ७ बजेदेखि राति ९ बजेसम्म।

स्थान हो, मिनामी वार्डको 'मिनामी नागरिक केन्द्र'।

विदेशी र जापानी मानिसहरू आमनेसामने भई दुई घेरा बनाई विभिन्न विषयवस्तुहरूमा १ मिनेटसम्म एक-एक गरी कुराकानी गर्नुहुनेछ।

सकिएपछि सिट साटेर अर्को साथीसँग कुराकानीको आनन्द लिइनेछ।

पालैपालो साथी साटेर धेरै मानिसहरूसँग कुराकानी गर्न सकिने कार्यक्रम हो।

सहभागिता निःशुल्क छ, तर दर्ता आवश्यक छ।

सिट संख्या पहिलो आउनेलाई पहिलो प्राथमिकता दिने आधारमा २५ जना मात्र।

दर्ताको लागि अगस्ट १५ पछि फुकुओका सिटीको वेबसाइटबाट गर्न मिल्नेछ।

「南市民センターしゃべり場」’मिनामी सिमिन् सेन्टर स्याबेरीबा' भनेर खोज्नुहोस्।

कुराकानीको आनन्द लिँदै सीमा नाघेर सम्बन्ध बनाऔं!

2026.08.20[Thu] 09:00

【फुकुओका सिटी जू एन्ड बोटानिकल गार्डेन・रातको जू एन्ड बोटानिकल गार्डेन】

फुकुओका सिटी जू एन्ड बोटानिकल गार्डेनको गर्मी याममा निकै लोकप्रिय कार्यक्रम 'रातको जू एन्ड बोटानिकल गार्डेन' यस वर्ष पनि हरेक शनिबार आयोजना गरिँदैछ। हरेक वर्ष उच्च लोकप्रियता पाउने यो कार्यक्रम रातितिर मात्र देख्न सकिने वन्यजन्तुहरूको जीवनशैली र व्यवहार, र रातमा मात्र फुल्ने फूलहरूको अवलोकन जस्ता, रातको समयमा मात्र अनुभव गर्न सकिने विशेष कार्यक्रम हो।

यस वर्ष मार्च महिनामा खुलेको बोटानिकल गार्डेनको प्रवेशद्वार उद्यानलाई कार्यक्रम अवधिभर विशेष लाइटअपले सजाइनेछ। रातमा सक्रिय हुने जनावरहरूको जीवन्त रूप र पेंग्विन क्षेत्रको लाइटअप जस्ता, रातको जू एन्ड बोटानिकल गार्डेनमा मात्र देख्न पाइने दृश्यहरूको आनन्द लिन सकिन्छ।

साथै, स्याहारकर्ताहरूद्वारा जनावरहरूलाई खुवाइने समय पनि जनावरहरूको वास्तविक रूप र क्षमता नियाल्ने र पत्ता लगाउने उत्कृष्ट अवसर हो। जापानी बाँदर र मलायन भालुलगायत दिनको ९ प्रकारका जनावरका लागि यो कार्यक्रम सञ्चालन गरिन्छ।

यसका अतिरिक्त, बोटानिकल गार्डेनको ग्रीनहाउस अगाडिको चोकमा किचन कार पनि हुनेछन्, जसले स्वादिष्ट खानाको मज्जा पनि लिन पाइनेछ!! कार्यशाला र लाइभ संगीत कार्यक्रमहरू पनि आयोजना हुनेछन्, जसले ठूला र साना सबैलाई रमाइलो दिनेछ।

साथै, पार्किङ स्थल छिट्टै भरिने सम्भावना भएकाले, त्यहाँ जाँदा सार्वजनिक यातायातको प्रयोग गर्न सिफारिस गरिन्छ।

फुकुओका सिटी जू एन्ड बोटानिकल गार्डेनको गर्मी याममा अत्यन्त लोकप्रिय कार्यक्रम 'रातको जू एन्ड बोटानिकल गार्डेन' सेप्टेम्बर १२ सम्म हरेक शनिबार आयोजना हुनेछ।

यो कार्यक्रममा मात्र पाइने विशेष अनुभव लिन अवश्य जानुहोस्

 

 

【फुकुओका शहरको सूचना】

मद्यपान गरी गाडी चलाउने क्रिया अन्त्य

सन् २००६ अगस्ट २५ मा, हिगासी वार्डको 'उमिनोनाकामिचि ओहासी' पुलमा मद्यपान गरी गाडी चलाउँदा भएको दुर्घटनामा ३ जना बालबालिकाको मृत्यु भएको घटनालाई यस वर्ष २० वर्ष पूरा हुँदैछ। फुकुओका सिटीले यस दुर्घटनालाई एउटा कारण मानेर मद्यपान गरी गाडी नचलाउने विभिन्न पहलहरू सञ्चालन गर्दै आएको छ। मद्यपान गरी गाडी चलाउनु अपराध हो।

  • रक्सी पिइसकेपछि, कार, मोटरसाइकल, साइकल, वा 'इलेक्ट्रिक किकबोर्ड चलाउनु हुँदैन।

  • रक्सी पिएको व्यक्तिलाई गाडी दिनु, वा गाडी चलाउने व्यक्तिलाई रक्सी खुवाउनु वा सिफारिस गर्नु पनि हुँदैन।

  • साथै, चालकले रक्सी पिएको थाहा हुँदाहुँदै पनि सो गाडीमा चढ्नु हुँदैन।

  • रक्सी पिएर गाडी चलाउँदा ध्यान र निर्णय क्षमता घट्छ, खतराको पहिचान ढिलो हुन्छ, र अत्यधिक गति लगायतका कारणले सडक दुर्घटनामा पर्ने जोखिम बढ्छ।

साथै, , निम्न किसिमको गाडीहरूमा मद्यपान गरी गाडी चलाइरहेको हुन सक्ने सम्भावना हुन्छ। यस्तो देख्नुभयो भने कृपया ११० नम्बरमा सम्पर्क गर्नुहोस्।

  • रोकिने रेखाभन्दा धेरै अगाडि रोकिने, वा हरियो बत्ती भइसक्दा पनि छिटो नजाने

  • लर्खराउँदै गाडी चलाउने

  • बारम्बार अचानक गति बढाउने वा तीव्र गतिमा अघि बढ्ने

हरेक व्यक्तिमा 'मद्यपान गरी गाडी नचलाउने, चलाउन नदिने, कहिल्यै क्षमा नगर्ने, र बेवास्ता नगर्ने' भन्ने दृढ संकल्प आवश्यक छ।

सबैले मिलेर मद्यपान गरी गाडी चलाउने क्रिया अन्त्य गरौं!

2026.08.13[Thu] 09:00

【तेन्जिन नाचु माचुरी】

हरेक वर्ष फुकुओकाको गर्मीलाई अझ बढी जोसिलो र रमाइलो बनाउने '‘तेन्जिन नाचु माचुरी' यतिबेला धुमधामका साथ चलिरहेको छ! फुकुओका सिटी हलको पश्चिमतर्फ रहेको 'फुरेआई हिराबा' मा करिब एक महिनासम्म चल्ने यो महोत्सव तेन्जिनको गर्मी सिजनको एउटा निकै प्रख्यात र परम्परागत बार्षिक उत्सव हो।

जापानको समर फेस्टिभल भन्ने बित्तिकै 'बोन ओदोरी' (परम्परागत नाच)लाई सम्झिने गरिन्छ। यहाँ मैदानको बीचमा बनाइएको ठूलो काठको मञ्च अर्थात् "यागुरा" (Yagura) लाई घेरेर, पुराना पुराना सदाबहार गीतदेखि लिएर भर्खरका पप संगीत, र जापानी परम्परागत बाजा 'वाताइको' को धुनमा झुम्दै, पुराना दिनहरूको झल्को दिने वातावरणमा ससाना बालबालिकादेखि वृद्धवृद्धाहरू सम्म सबैजना एउटै गोलो घेरामा बसेर सँगै नाच्ने गर्छन्।

त्यहाँका आकर्षक फूड स्टलहरूमा गर्मी महिनामा खाइने 'खाकिगोरी' 'याकिसोबा' जस्ता मेलाका सदाबहार परिकारहरूका, साथै हाकाताका प्रख्यात स्थानीय स्वाददेखि लिएर अचेलका चर्चित आधुनिक मिठाईहरू सम्मका धेरै थरीका खानेकुराहरू लहरै सजाइएका छन्।

जापानको परम्परागत खेलहरूको कुना, जसलाई "एन्निची" (Ennichi) भनिन्छ, त्यहाँ पानीमा बेलुन टिप्ने 'योयो चुरी', सुपर बल सुकुई र बन्दुकले निशाना लगाउने जस्ता धेरै रमाइला खेलहरू छन्, जसमा बालबालिका मात्र होइन, ठूला मानिसहरू पनि निकै झुमेर रमाउने गर्छन्!

यो रोमान्चक महोत्सवअगस्ट २३ तारिख, आइतबारसम्मचल्नेछ। कार्यक्रम स्थल तेन्जिनको मुटुमा रहेकोफुकुओका सिटी हलको पश्चिमतर्फको 'फुरेआई हिराबा' मा तोकिएको छ। यो मेलाबेलुका ५:३० बजेदेखि राती १०:०० बजेसम्ममहोत्सव अवधिभर एक दिन पनि नबिराई हरेक दिन खुल्ला रहनेछ।

तपाईं पनि कामबाट फर्कने बेला वा सपिङ गर्न निस्किएका बेला, यहाँ एकचोटि घुम्न र रमाइलो गर्न जाने होइन त? ♪

 

 

【फुकुओका शहरको सूचना】

Fukuoka Prize को बारेमा

फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्‍याउनेव्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ। 

यस वर्षको ३५औँ Fukuoka Prize का विजेताहरु घोषितभएकाछन्।

The Grand Prize को विजेतामा, भिडियो कलाको माध्यमबाट एसियाको इतिहास र स्मृतिलाई जीवन्त रूपमा प्रस्तुत गर्नुहुने आधुनिक कलाकार "Ho Tzu Nyen"
The Academic Prize मा,दक्षिण-पूर्वी एसियाली समाजका मानिसहरूमा भविष्य छनोट गर्ने स्वतन्त्रताको खोजी गर्नुहुने अनुसन्धानकर्ता "Caroline Sy HAU"

The Arts and Culture Prize मा, एसियाली परम्परागत नृत्यलाई आधुनिकता र विश्वमाझ जोड्ने नवप्रवर्तनकारी नर्तक "Pichet Klunchun"

सेप्टेम्बर १४ तारिख, सोमबारका दिन मुख्य पुरस्कार वितरण समारोह आयोजना गरिँदैछ। साथै, सेप्टेम्बर १२ तारिख, शनिबार र १५ तारिख, मंगलबारका दिन नागरिक मञ्च सञ्चालन गरिनेछ।

सेप्टेम्बर १२ तारिख, शनिबारको दिउँसो The Arts and Culture Prizeविजेता "Pichet Klunchun" को र सोही दिन बेलुका The Grand Prize विजेता "Ho Tzu Nyen"को विशेष लेक्चर हुनेछ। त्यसैगरी, सेप्टेम्बर १५ तारिख, मंगलबारका दिन The Academic Prize विजेता "Caroline Sy HAU"ले आफ्नो विशेष लेक्चर प्रस्तुत गर्नुहुनेछ।"

पुरस्कार समारोह र नागरिक मञ्चमा जो–कोहीले निःशुल्क सहभागी हुन सक्नुहुन्छ।
तर, अगावै दर्ता अनिवार्य, कृपया आधिकारिक वेबसाइट बाट आवेदन गर्नुहोस्।
दर्ता अन्तिम मिति, पुरस्कार समारोहको लागि:अगस्ट १७ तारिक (सोमबार) सम्मर नागरिक मञ्चको लागि,प्रत्येक कार्यक्रमको २ दिनअघिसम्म हो।

2026.08.06[Thu] 09:00

【नयाँ रूपमा खुल्दै “मेइजी पार्क】

हाकाता स्टेसन अगाडिनयाँ पुनर्निर्माण भइरहेको 'मेइजी पार्क' (Meiji Park), यही आउँदो हप्ताकोशुक्रबार, अगस्ट ७ तारिखका दिनऔपचारिक रूपमा खुल्ने भएको छ।

नयाँ रूपमा फेरिएको यो 'मेइजी पार्क' अब केवल एउटा पार्क मात्र नभएर मानिसहरू आरामसँग बस्न र समय बिताउन सक्ने एउटा सुन्दर आधुनिक सहरी केन्द्र बन्नेछ। यहाँ हरियालीका बीचमा बनाइएका आधुनिक पैदल मार्ग र फरक-फरक विशेषता भएका ५ वटा खुला प्लाजहरू रहनेछन्, जसले मानिसहरूलाई शितलता र आराम दिनेछन्। यसका साथै, पार्कभित्र विभिन्न रेस्टुरेन्ट र आधुनिक स्पा गरी७ वटा विशेष पसलहरूखुल्ने भएकाले, यसले हाकाता स्टेसन क्षेत्रमा एक नयाँ चहलपहल र मानिसहरूको जमघट बढाउनेछ।

पार्कभित्र खुल्ने पसलहरूमा फुकुओकाको आफ्नै मौलिक स्वाद र विशेषतालाई जोड दिइएको छ। यहाँ फुकुओकाकै प्रख्यात ब्रान्डले रेखदेख गर्ने बेकरी तथा बिस्ट्रो, इटालियन डाइनिङ, मीठो संगीत र मिठाइको मज्जा लिन मिल्ने क्याफे तथा बार रहनेछन्। यति मात्र नभएर, ओकायामाबाट क्युशुमै पहिलोपटक भित्रिन लागेको प्रख्यात पिज्जेरिया, सागाको स्थानीय क्राफ्ट बियर बार, र नयाँ शैलीको साउना अनुभव गर्न पाइने आधुनिक सहरी स्पा जस्ता सुविधाहरू यहाँको मुख्य आकर्षण बन्नेछन्।

हाकाता स्टेसन अगाडि एउटा नयाँ ल्यान्डमार्कका रूपमा जन्मिएको यो 'नयाँ मेइजी पार्क' मा, यहाँहरू पनि फुर्सदको समयमा एकचोटि पक्कै घुम्न जानुहोला है! 

 

 

【फुकुओका शहरको सूचना】

LINE कल मार्फत परामर्श लिन सकिन्छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।

थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला। छ

च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेकोसम्पर्क फारमप्रयोग गर्नुहोला।




कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क कानूनी परामर्शमानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श प्रदान गर्दैआईरहेको छ।

 “कानूनी परामर्श, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र 

तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ। परामर्श अवधि ४५ मिनेट। 

बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। 

यदि भाषा अनुवादक आवश्यक छ भने, कृपया अग्रिममा परामर्श गर्नुहोस्।

 “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो। 

फोन नम्बर ०१२०-६६-१७९९ हो।

2026.07.30[Thu] 09:00

【किताजाकी सुइखा】

फुकुओका सहरभित्रकै एक मात्र सुइखा अर्थात् खरबुजा उत्पादन हुने क्षेत्र— निसि वार्डको किताजाकी क्षेत्रमा उब्जाइएको, असाध्यै गुलियो र स्वादिलो 'किताजाकी सुइखा' को यतिबेला मुख्य सिजन चलिरहेको छ।

यो 'किताजाकी सुइखा ' फुकुओकाका मात्र ३ वटा किसान परिवारले मात्र उत्पादन गर्ने गर्दछन्। यसको धेरैजसो हिस्सा फुकुओका प्रान्तभित्रै खपत हुने भएकाले प्रान्त बाहिर यो पाउन निकै गाह्रो छ। सामान्य खरबुजाको गुलियोपन १० देखि १२ डिग्री जति हुने गर्दछ, तर यो 'किताजाकी सुइखा ' को गुलियोपन १३ डिग्रीभन्दा बढी हुन्छ। यसलाई एकचोटि टोक्ने बित्तिकै यसको कुरुम-कुरुम हुने बनोटसँगै एउटा छुट्टै र बाक्लो गुलियोपन मुखभरि फैलिन्छ। यसको अर्को विशेषता भनेको यसको बोक्राको फेदसम्मै उत्तिकै गुलियो हुन्छ, जसले गर्दा धेरै भाग खान मिल्छ। "एकपटक खाएपछि यसको स्वाद कहिल्यै बिर्सिन सकिन्न" भन्दै हरेक वर्ष यो सिजनलाई पर्खिएर बस्ने यसका थुप्रै प्रशंसकहरू छन्। यो साँच्चै नै पारखीहरूले मात्र थाहा पाएको एउटा उत्कृष्ट उत्पादन हो।

स्वादिलो खरबुजा कसरी छान्ने? यदि सिङ्गो खरबुजा किन्दै हुनुहुन्छ भने, बाहिरको हरियो रङ गाढा भएको छान्नुहोला। र यदि काटिएको खरबुजा किन्दै हुनुहुन्छ भने, भित्रको बीउको रङ एकदमै गाढा रातो भएको छान्नु राम्रो मानिन्छ।

यस वर्ष मौसमले राम्रो साथ दिएकाले खरबुजाको उत्पादन निकै राम्रो भएको छ। यो खरबुजा अगस्टको मध्यतिरसम्म JA को प्रत्यक्ष बिक्री केन्द्र र स्थानीय सुपरमार्केटहरूमा किन्न पाइन्छ। खरबुजा मन पराउने श्रोताहरूले फुकुओकाको यो रैथाने र असाध्यै गुलियो 'किताजाकी सुइखा' लाई एकचोटि पक्कै पनि चाखेर हेर्नुहोला है!

 

 

【MLB Breakfast Club】

फुकुओकाको तेन्जिनमा 'एमएलबी ब्रेकफास्ट क्लब @ फुकुओका' (MLB Breakfast Club @ Fukuoka) सुरु भएको छ, जहाँ तपाईं ठूलो मनिटरमा अमेरिकी मेजर लिग बेसबल (MLB) को खेल हेर्दै हटडग र क्रोसाँ (Croissant) जस्ता स्वादिला ब्रेकफास्टको मज्जा लिन सक्नुहुन्छ। मेजर लिगका धेरैजसो खेलहरू जापानको समय अनुसार बिहान खेलिने हुनाले, यसै अवसरलाई सदुपयोग गर्दै यो कार्यक्रम आयोजना गरिएको हो। मेजर लिगमा तहल्का मच्चाइरहेका जापानी खेलाडीहरूको खेल र मीठो बिहानी खाजाका साथ मानिसहरूले आफ्नो दिनको सुरुवात ऊर्जावान् रूपमा गर्न सकून् भनेर यसै वर्षदेखि यो नयाँ अभियान सुरु गरिएको हो।

यो कार्यक्रम मार्चदेखि मे महिनासम्म टोकियोमा र जुन महिनामा ओओतानी शोहेई, किकुची युउसेई र सासाकी रोउकी जस्ता चर्चित खेलाडीहरूको गृहप्रान्त इवातेमा आयोजना भइसकेको छ। र, टोकियो र इवातेपछि फुकुओका सहर यो कार्यक्रम आयोजना हुने तेस्रो स्थान बनेको छ।

कार्यक्रम स्थलमा राखिएका मनिटरहरूमा विशेषगरी जापानी खेलाडीहरू आबद्ध रहेका टोलीहरूको खेल प्रसारण गरिनेछ। त्यहाँ राखिएका फूड ट्रक (Kitchen Cars) हरूमा अमेरिकी बेसबल रंगशालामा लोकप्रिय रहेका स्वादहरूलाई नयाँ रूप दिइएका ४ प्रकारका हटडगहरू, क्रोसाँ र बेकन समावेश भएको "मर्निङ प्लेट" (Morning Plate) का साथै अमेरिकाको प्रख्यात मेनु "केजन चिकन ओभर राइस" लगायतका परिकारहरू बिक्री गरिनेछ। मेनुमा फुकुओकाको आफ्नै विशेषता झल्किने "मेन्ताई डग" पनि उपलब्ध हुनेछ।

यो कार्यक्रमयही हप्ताको २७ तारिख (सोमबार) देखि अगस्ट १६ तारिखसम्मतेन्जिनमा रहेको "फुकुओका मिचुकोशी लायन हिरोबा" (Fukuoka Mitsukoshi Lion Hiroba) को "फुकुओका सहर पर्यटक सूचना केन्द्र" अगाडि आयोजना हुनेछ। कार्यक्रमको समयसोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मशनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मरहनेछ।

विश्वकै सर्वोत्कृष्ट खेल हेर्दै नयाँ शैलीमा दिनको सुरुवात गर्नका लागि यो 'एमएलबी ब्रेकफास्ट क्लब' मा एकचोटि पक्कै जानुहोला है!

2026.07.23[Thu] 09:00

【IRIE MUSIC with JIM BEAM SUMMER FES】

यस सप्ताहन्त, LOVE FM को रेगे संगीत कार्यक्रम "IRIE MUSIC" को संगीत कार्यक्रम आयोजना हुँदैछ।

प्रत्येक शनिबार बिहान ८ बजे प्रशारण हुने रेगे १००% प्रोग्रामIRIE MUSIC ले आयोजना गर्ने यो खुल्ला मन्चमा हुने संगीत महोत्सव हो। हरेक वर्ष अत्यधिक लोकप्रिय हुने यो कार्यक्रम यस वर्ष पनि तेंन्जिनको केन्द्रमा ३ दिनसम्म आयोजना गरिँदैछ! रेगे, हिप-हप र ओकिनावालाई विषय बनाएर रमाइलो तालको उत्कृष्ट संगीत प्रस्तुत गरिनेछ। रेगे संगीतमा नौलो व्यक्तिदेखि लिएर रेगे प्रेमीहरूसम्म सबैले रमाइलो गर्न सक्ने निशुल्क संगीत कार्यक्रम हो।

कार्यक्रम यस हप्ताको शुक्रबार२४ तारिखदेखि २६ तारिकसम्म — ३ दिन लगातार।

शुक्रबार कार्यक्रम साँझ ४ बजेबाट सुरु हुनेछ। शनिबार र आइतबार भने कार्यक्रम बिहान ११ बजेबाट रातिसम्म चल्नेछ।

स्थान, तेंन्जिन स्टेशन नजिकैको तेंन्जिन चुओ पार्क

प्रवेश निःशुल्क छ।

संगीत महोत्सवमा स्वादिलो खानाको पनि आनन्द लिन सक्नुहुन्छ! महोत्सवमा फुकुओकाका स्थानीय लोकप्रिय रेस्टुरेन्टहरूका साथै क्युशुका अन्य प्रान्तहरूबाट समेत छानिएका विशेष फूड स्टलहरू, अनि चिसो पेय पदार्थहरूको साथमा रमाइलो गर्न सकिन्छ।

उत्कृष्ट कलाकारहरूको लाइभ संगीत, स्वादिलो खाना, र रमाइलो पेय पदार्थहरूको साथ यो गर्मीको सबैभन्दा रमाइलो संगीत क्षण अनुभव गरौं!

चर्चित कलाकारहरूको उत्कृष्ट लाइभ प्रस्तुति, स्वादिला परिकारहरू र चिसो पेय पदार्थको मज्जा लिँदै, संगीतको यो सबैभन्दा रोमान्चक वातावरणमा यो गर्मी सिजनकै सबैभन्दा उत्कृष्ट र अविस्मरणीय सम्झना सँगै बुनौँ!

 

 

【फुकुओका शहरको सूचना】

साइकल चलाउँदा पालना गर्नुपर्ने ट्राफिक नियम र शिष्टाचार

प्रायःजसो दैनिक रुपमा साइकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।

के तपाईं जापानको साइकल चलाउने नियम र शिष्टाचारबारे जानकार हुनुहुन्छ?

  • जापानमा साइकल मूलतः सडकको बायाँ पट्टि चलाउनु पर्ने हुन्छ।

  • पैदलमार्गमा पैदल यात्रीलाई प्राथमिकता दिइन्छ। पैदलमार्ग प्रयोग गर्दा सडकपट्टि बिस्तारै चलाउनुपर्छ।

  • साइकल प्रयोग गर्ने सबै व्यक्तिले हेलमेट अनिवार्य रूपमा लगाउनुपर्छ।

  • राति साइकल चलाउँदा अनिवार्य रूपमा बत्ती बाल्नुपर्छ।

  • दुई जनाले एउटै साइकलमा सँगै चढ्ने वा सँ र समानान्तर रूपमा सँगसँगै साइकल चलाउने कार्य निषेध गरिएको छ।

  • छाता ओढेर सवारी गर्नु, मोबाइल फोन प्रयोग गर्नु वा ठूलो आवाजमा हेडफोन लगाएर सवारी गर्नु पनि प्रतिबन्धित गरिएको छ।

  • साथै, साइकल चलाउँदा मदिरा सेवन (ड्रिंक ड्राइभिङ्ग) गर्नु पूर्ण रूपमा निषेध गरिएको छ।

  • साइकल चलाउँदा ट्राफिक नियम मिच्ने १६ वर्ष वा सोभन्दा माथिका चालकहरूका लागि जरिवाना प्रणाली (जसलाई 'अओकिप्पु' वा निलो चिट भनिन्छ) लागू गरिएको छ।

  • साइकल सधैं पार्किङ स्थलमा राख्नुपर्छ। पार्किङ स्थलबाहेकको सडकमा साइकल राखेमा, त्यो पैदल यात्रीलाई अवरोध वा असुविधा पुर्‍याउन सक्छ, त्यसैले त्यसलाई परित्याग साइकल मानी हटाइन्छ। फुकुओका शहरमा हटाइएको साइकल फिर्ता लिन २,५०० येन लाग्छ, र निश्चित अवधिभित्र नलिइएमा त्यो फ्याँकिन सक्छ। व्यापारिक क्षेत्र वा स्टेशन वरपर छोटो अवधिका लागि निःशुल्क पार्किङ स्थल पनि उपलब्ध छन्, त्यसलाई प्रयोग गरौं।

  • साथै, फुकुओका शहरभित्र साइकल चलाउने जो-कोहीले साइकल बीमा लिन अनिवार्य छ। साइकल दुर्घटनामा तपाईंले अर्कोलाई ठूलो रकम तिर्नुपर्ने अवस्था आउन सक्छ। यदि तपाईंले साइकल बीमा लिनुभएको छ भने, तपाईंको साइकलले कसैलाई चोट पुर्‍यायो भने उपचार खर्च बीमाले तिर्नेछ। यस्तो आकस्मिक घटनाको लागि, अवश्य पनि साइकल बीमा लिनुहोस्।

साइकल एक वातावरणमैत्री र सुविधाजनक यातायात साधन हो। नियम र शिष्टाचार पालना गर्दै सुरक्षासाथ साइकल चलाऔं।

 

2026.07.16[Thu] 09:00

【अगापान्थास ब्ल्याकज्याक】

फुकुओका सहरमा विश्वमै पहिलोपटक 'अगापान्थास ब्ल्याकज्याक' (Agapanthus Black Jack) फूलको सर्वसाधारणका लागि बिक्री-वितरण सुरु भएको छ। यो प्रजातिलाई फुकुओका सहरले गत वर्षको मार्च महिनामा आयोजना गरेको "Fukuoka Flower Show" मा जापानमै पहिलोपटक प्रदर्शन गरिएको थियो, र यो यहाँको 'फिचर फ्लावर' को पहिलो नम्बरमा पर्न सफल भएको छ। 'फिचर फ्लावर' भन्नाले विश्वभरि उच्च मूल्याङ्कन गरिएका नयाँ प्रजातिहरूमध्येबाट— हुर्काउन सजिलो, सहरको वातावरण र मानिसहरूको जीवनशैलीसँग सहजै मेल खाने र "भविष्यको नयाँ ट्रेन्ड" बन्न सक्ने फूलहरूलाई बुझिन्छ।

विश्वकै सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय फ्लावर शो "चेल्सी फ्लावर शो २०२३" को नयाँ प्रजाति विधामा सर्वोत्कृष्ट पुरस्कार (Plant of the Year) जित्न सफल यो 'अगापान्थास ब्ल्याकज्याक' फूल, गाढा कालो-बैजनी रङका साना फूलहरू झुप्पा परेर फुल्ने यसको छुट्टै र अनुपम सुन्दरताका लागि चिनिन्छ। यसको फुल्ने अवधि निकै लामो हुने भएकाले गर्मीको सुरुवाती महिनादेखि ढिलो गर्मी सम्म यसले हाम्रो आँखालाई आनन्द दिइरहन्छ। साथै, यसमा अत्यधिक गर्मी र खडेरी खप्न सक्ने उच्च क्षमता हुने भएकाले कडा गर्मी मौसममा पनि यसलाई सजिलैसँग हुर्काउन सकिने ठूलो फाइदा छ।

विश्वभरि उच्च प्रशंसा पाएको यो दूर्लभ र नयाँ प्रजातिको फूल, जापानमा पहिलोपटक प्रदर्शन गरिएको करिब एक वर्षपछि अन्ततः अब सर्वसाधारणका लागि नर्सरी तथा फूल पसलहरूमा किन्न उपलब्ध भएको छ। आफ्नो घरको बगैँचा वा कौसीलाई नयाँ र आकर्षक रूप दिनका लागि तपाईं पनि यसलाई सजिलैसँग रोप्ने प्रयास गर्ने होइन त?

यदि तपाईं यो फूल कस्तो देखिन्छ भनेर हेर्न चाहनुहुन्छ भने, अहिलेफुकुओका सहरको वनस्पति उद्यान (Fukuoka City Botanical Garden) माइजुरु पार्क (Maizuru Park) मा यो फूल रोपिएकाले त्यहाँ गएर यसको वास्तविक सुन्दरताको आनन्द लिन सक्नुहुन्छ।

कालो-बैजनी रङको यो सुन्दर फूल; 'अगापान्थास ब्ल्याकज्याक', अब फुकुओका हुँदै विश्वभरि छाउनेछ!

 

 

【फुकुओका शहरको सूचना】

नेच्च्युस्योउ अर्थात् लू लाग्नुबाट सावधान हुनुहोस्!

अत्याधिक गर्मीको बेला, गाह्रो ब्यायाम वा तीव्र शारीरिक क्रियाकलापका कारण शरीरले आफ्नो तापक्रम ठीकसँग नियन्त्रण गर्न सक्दैन, जसले गर्दा शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा भई नेच्च्युस्योउ अर्थात् लू लाग्छ 

नेच्च्युस्योउका लक्षणहरूमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने जस्ता हुन्।

यस्तो बेलामा शरीरलाई चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछ। यदि यस्तो गर्दा पनि निको नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुपर्छ।

विशेष गरी, भारी वर्षा समाप्त भएपछि, जुलाईबाट अधिकतम तापमान बढ्ने समयमा आकस्मिक कक्षमा ल्याउनेहरुको सङ्ख्या ह्वात्तै बढ्छ। 

यस समयमा, उच्च आर्द्रता हुने र शरीरलाई अधिकतम गर्मीको बानि नहुने हुनाले धेरै ध्यान दिनु आवश्यक छ। लू, घर बाहिर मात्र होइन घर भित्र पनि हुन सक्छ।

अब केही नेच्च्युस्योउबाट बच्ने उपायहरु बताउन गईरहेकी छु।

  • तरल पदार्थ बारम्बार पिउने गर्नुहोस्। 

नियमित रूपमा जौको चिया र पानी पिउने, व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छ। पसिना आउँदा, नुनपानी पिएर शरीरमा पानीको मात्रा कायम राखौं।

  • टोपी वा छाताको प्रयोग गरेर प्रत्यक्ष घामबाट जोगौं।

  • कोठाको तापक्रम २८ डिग्री सेल्सियसभन्दा कम राख्न, बुद्धिमानीपूर्वक air conditioner र फ्यानको प्रयोग गरौँ।

  • Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।

  • सन्तुलित आहार र पर्याप्त निद्रा लिएर, स्वास्थ्यको ख्याल गरौं।

2026.07.09[Thu] 09:00

अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【HAKATA FISH PROJECT】

क्युशुका विभिन्न क्षेत्रबाट ताजा समुद्री खानेकुराहरू भित्रिने नागाहामा माछा बजार (Nagahama Fish Market) र अनगिन्ती स्वादिला रेस्टुरेन्टहरूका कारण फुकुओका सहरमिठो माछा पाइने सहरका रूपमा प्रख्यात छ।

अहिले फुकुओका सहरमा माछा र समुद्री परिकारहरूको उपभोग बढाउनका लागि 'हाकाता फिस प्रोजेक्ट' अन्तर्गत विशेष सी-फूड महोत्सव चलिरहेको छ। गेन्काइनादा समुद्र र नागाहामा बजारबाट सिधै ल्याइने ताजा र मौसमी सी-फूडको वास्तविक स्वादलाई सबैमाझ पुर्‍याउनु नै यस महोत्सवको मुख्य आकर्षण हो।

अहिले नै हाकातामा मीठो माछा खाऔँभन्ने नाराका साथ हाल यस महोत्सवको पहिलो चरणमा 'स्क्विड फेयर' भइरहेको छ। फुकुओकामा गर्मीको सुरुवाती सिजनको पहिचान मानिने 'इखा' अर्थात् स्क्विड, यसको कुरुम-कुरुम हुने लचिलोपन र मुखमा हाल्ने बित्तिकै पग्लिने छुट्टै गुलियो स्वादका लागि निकै रुचाइन्छ।

फुकुओका सहरका सहभागी रेस्टुरेन्टहरूमा यो सिजनको ताजा स्क्विडबाट बनेका विभिन्न परिकारहरूको स्वाद लिन नभुल्नुहोला।

यो पहिलो चरणको 'स्क्विड फेयर' जुलाई १९ तारिखसम्मचल्नेछ। यसपछि आगामी दिनहरूमा प्रख्यात जापानी माछाहरू— ताई, बुरी र सावारा माछाका विशेष फेयरहरू पनि आयोजना हुनेछन्।

कुनै मिसावट नभएको समुद्रको यो शुद्ध तथाताजा माछाको स्वादलाई सही मौसममै चाख्न नभुल्नुहोला है

🔎https://www.city.fukuoka.lg.jp/nosui/suisanshinko/charm/documents/ikafair.pdf

🔎https://www.instagram.com/hakata_fish_project/

 

 

 【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
विदेशी मूलका बालबालिकाहरुका लागि शैक्षिक तथा करियर परामर्श कार्यक्रम

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर, फुकुओका YWCA”,“Fukuoka International Residents Association” सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्शकार्यक्रम" आयोजना हुन गइरहेको छ।

यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। 

यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।

परामर्श नि:शुल्क छ

जापानी, अंग्रेजी, चाइनिज, भियतनामी र नेपाली भाषामा परामर्श उपलब्ध छन्।

कार्यक्रम हुने दिन: जुलाई ११, शनिबार दिउँसो १:०० बजेदेखि

आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर

बुकिङ  तथा सोधपुछको लागि, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदरको वेबसाइटमा हेर्नुहोला।🔎https://www.fcif.or.jp/latestnews/consultation/schoolguidance/

 

 

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।🔎https://www.fcif.or.jp/consultation/immigration/

<< previous 1 2 3 4 5 6 7 8 9

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ