ブログ

ポッドキャスト

ポッドキャスト RSS

2022年12月

2022.12.29[Thu] 09:00

अन्य(その他)

【२०२२ लाई फर्केर हेर्दा, नव वर्षका लक्ष्यहरु आदि】

वर्ष २०२२ लगभग सकिनै लाग्यो। तपाईंहरुको यो वर्ष कस्तो रह्यो?

यो वर्ष मेरो लागि चाहिं अकल्पनीय भयो। औधि माया गर्ने मेरी आमासँग सदाको लागि बिछोड्नु पर्यो। अचानकको यस खबरले स-परिवार नेपाल गएर, घरपरिवार, आफन्तजन अनि साथीभाईहरुलाई भेटेर भारी मन बिसाएर कर्मभूमिमा फर्केको केही महिना मात्र भएको छ। मेरो जस्तै धेरै नेपालीहरुको परदेशी जीवन भोगाइको यो एक वास्तविक्ता हो जस्तो लाग्छ। यस वर्षले परदेशको बसाईमा कति अकल्पनीय तगाराहरुको सामना गर्नु पर्ने हुन्छ, मिलन र बिछोडले जीवनको यथार्थतालाई बुझ्न सिकाएको छ।

 

अब कुरा गरौं, यस वर्ष फुकुओकामा आयोजना भएका केहि नेपाली कार्यक्रमहरुको बारेमा।

यस वर्ष १० औं नेपाल फेस्टिवल फुकुओका २०२२ अगष्टमा भव्यताका साथ सम्पन्न भएको थियो। बिगत १० वर्षदेखि प्रत्येक अप्रिल महिनामा हुँदै आइरहेको यो नेपाल फेस्टिवल कोरोनाको कारण २०१९ बाट हुन सकेको थिएन। म जापान आएदेखि यस फेस्टिवलमा जाने गर्दै आएकी छु। नेपाली साथीहरु तथा मान्यजनहरुसँगको भेटघाट हुनुका साथसाथै नेपाली मन पराउने जापानी साथीहरु पनि भेटघाट हुने, नेपाली संस्कृति चिनाउने, नेपाली खानाको स्वाद चाख्ने-चखाउने आदि अवसरको रुपमा यो फेस्टिवल रहँदै आएको छ। यस वर्षको नेपाल फेस्टिवलमा लामो समयको अन्तरालमा धेरै साथीहरुसँग रमाईलो भेटघाट भयो। त्यसै गरि, २ वर्ष कोरोनाको कारण रोकिएको प्रत्यक्ष तिज कार्यक्रम यसपाली अगष्टमा तिज धमाका २०२२ पनि भव्यताका साथ सम्पन्न भएको थियो।

 

यस वर्ष नयाँ कोरोनाभाइरसको प्रभाव जारी भएतापनि, बिस्तारै सामान्य दैनिकी जीवनमा फर्केन थालेको छ। साथै, युक्रेनमा रूसको आक्रमणको प्रभावको कारण, शान्तिको बारेमा सोच्न बाध्य तुल्याएको छ, बिजुली र ग्यासको महशुल बढेर पैसा बचतको महत्त्व महसुस गर्ने व्यक्तिहरु पनि धेरै हुनुहुन्छ होला।

नव वर्ष २०२३ मा, अहिलेको भन्दा अझ धेरै, सबैको अनुहारमा मुस्कानका साथ बाँच्ने समाजको सृजना होस् भनि कामना गर्दछु।

 

हुन त, हामी नेपालीहरुको आफ्नै नव वर्ष भएकोले अंग्रेजी नव वर्षलाई खासै धुमधामका साथ मनाउने गरेको देखिन्दैन। नेपालमा खास गरि, काठमाडौंको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला पर्यटकीय शहरहरुमा नव वर्ष ईभ कार्यक्रम आयोजना गर्ने र विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने चलन छ। प्रायःजसो साथीहरुसँग बाहिर घुम्ने र खानपिन गर्ने अवसरको रुपमा अंग्रेजी नव वर्ष मनाउने गरेको देखिन्छ।

 

तपाईंहरुको नव वर्ष २०२३ को कुनै संकल्प वा योजना छ कि ?  मेरो चाहिं, आउँदो वर्षमा दैनिक रुपमा बिहान छोटो समय भए पनि शारीरिक ब्यायाम गर्ने, सकेसम्म हिड्ने, भर्याङको प्रयोग गर्ने विचार छ। 

 

नव वर्षमा तपाईंहरु सबैको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु। तपाईहरु सबैलाई नव वर्ष २०२३ को हार्दिक मंगलमय शुभकामना!

2022.12.22[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【वर्षको समाप्ति र नयाँ वर्षको बिदा बिताउने तरिका】

क्रिसमस पार्टी, नयाँ वर्ष आदि जस्ता वर्षको समाप्ति र नयाँ वर्षको बिदाहरूमा, खाने र पिउने अवसरहरु धेरै हुने गर्छन्। अधिक खानाले पेटमा बोझ पर्न गई, शारीरिक अवस्था बिग्रन सक्छ अनि पेट दुख्ने सम्भावना पनि बढाउन सक्छ। विशेष गरी, मासु, कफी, मदिरा, कडा मसला, कडा कोच्या, ग्रिन चिया आदिले पेटको ग्यास्ट्रिक एसिडको स्रावलाई बढाउने भएकोले धेरै नखान प्रति सावधान रहनु आवश्यक छ।

स्वस्थ रहने उपायहरुमध्ये धेरै भनिने एक हो, "नियमित तथा पौष्टिक सन्तुलित आहार खानु"। यो पेटलाई स्वस्थ कायम राख्नको लागि मात्र नभई, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र बिरामी हुने सम्भावना कम राख्नको लागि पनि उतिकै महत्त्वपूर्ण छ।

नयाँ वर्षको मौसम वास्तविक रूपमा कठिनपूर्ण हुन सक्छ, तर पनि, कम्तिमा घरमा बेलुकाको खानामा नाबे, उडोंन् जस्ता पचाउन सजिलो खानेकुराहरू खाने, खाना बीचको अनियमित अन्तराल नराख्ने आदि जस्ता कुराहरुमा ध्यान दिने गरौं।

स्वस्थ पेटलाई कायम राख्दै नयाँ वर्षलाई स्फूर्तिदायी बनाऔँ।

 

 

【फुकुओका शहरको सूचना】

नयाँ वर्षको बिदाहरुमा वार्ड अफिस काउण्टर अनि फोहोर फाल्ने दिन सम्बन्धि

नयाँ वर्षको बिदाहरुमा, वार्ड अफिसको काउण्टर र फोहोर फाल्ने दिन परिवर्तन हुने भएकोले कृपया ध्यान दिनुहोला।

वार्ड अफिसको काउण्टर, डिसेम्बर २९ (बिहिबार) देखि जनवरी ३(मंगलबार) सम्म बन्द रहनेछ।

नयाँ वर्षको बिदाहरुको अघिपछि वार्ड अफिसको काउण्टर भिडभाड हुने भएकोले, धेरै समय राखेर जाने गरौँ।

 

डिसेम्बर ३१ (शनिबार) देखि जनवरी ३ (मंगलबार) सम्म, फोहर संकलन गर्न आउँदैन।

जल्ने फोहर, डिसेम्बर ३० (शुक्रबार) सम्ममा तथा जनवरी ४ (बुधबार) पछि मात्र तोकिएको दिनमा बाहिर राख्नुहोस्।

नजल्ने फोहर तथा खाली सिसाको बोतल, प्लास्टिकको बोतल फाल्नका लागि,

जनवरी १ (आइतबार) मा संकलन हुने क्षेत्रमा डिसेम्बर २९ (बिहिबार),

जनवरी २ (सोमबार) को क्षेत्रमा डिसेम्बर ३० (शुक्रबार),

त्यस्तै, जनवरी ३ (मंगलबार) को क्षेत्रमा जनवरी ६ (शुक्रबार) को दिन फोहर फाल्नुहोस्।

यसका साथै, ठूलो आकारका फोहरको काउण्टर तथा संकलन, डिसेम्बर २९ (बिहिबार) देखि जनवरी ३ (मंगलबार) सम्म बन्द रहनेछ।

 

 

वर्षको समाप्ति र नयाँ वर्ष सुरक्षित र ढुक्क साथ बिताउनका लागि

वर्षको समाप्ति र नयाँ वर्षको बिदाहरूमा रक्सी पिउने धेरै अवसरहरू हुने गर्छन्।

“मादकपदार्थ सेवन गरि गाडि नचलाउने, चलाउन नदिने, चलाउनेलाई बिल्कुल माफी नदिने, र बेवास्ता नगर्ने” प्रति निश्चित होऔं।

रक्सी पिएर साइकल चलाउनु पनि कानूनले निषेध गरेको छ।

विशेष ध्यान दिनुपर्ने भनेको, अर्को दिन रक्सीको ह्यांगओभर हो।

अलिकति भए पनि रक्सी लागेको बाँकी छ जस्तो लागेमा, गाडि नचलाऔं।

 

यस अतिरिक्त, हरेक वर्षको अन्ततिर ट्राफिक दुर्घटनाहरू बढ्ने गरेको पाईएको छ।

राती बाहिर निस्कँदा, ड्राइभरले देख्न सजिलो हुने, चम्किलो लुगा वा चमकदार वस्तुको प्रयोग गरौँ।

कार चलाउँदा, चाँडै बत्तीहरू अन गरौं।

 

अर्को जानकारी, बाटोमा हुने लुटपाटको बारेमा।

कम ट्राफिक भएको स्थानमा, साँझदेखि मध्यरातसम्म धेरै अपराधहरू हुने गरेको, अझ, लुटेराहरु प्रायः मोपेड बाइकमा आएका घटनाहरु धेरै छन्।

खोस्नबाट जोगिन, झोला सडकको अर्को पट्टि समात्ने गरौँ।

साथै, मान्छेको संकेत वा बाइकको आवाज सुन्नुभएमा पछाडी फर्केर हेर्ने आदि जस्ता, आफ्नो वरपर ध्यान दिने गरौँ।

 

आफू र आफ्नो बहुमूल्य सामानहरूको ध्यान दिई, नयाँ वर्षको बिदा सुरक्षित र आनन्दपूर्वक बिताऔं।

2022.12.15[Thu] 09:00

समुदाय(コミュニティ)

【मौसमी खाना "एनोकी च्याउ"】

कुरुम्कुरूम् किसिमको र हल्का स्वाद भएको अनि, जुनसुकै मसलासँग पनि जम्ने, एनोकी च्याउ।

वर्षभरि सुपरमार्केट आदिमा पाउन सक्नुहुन्छ, तर यसको मौसम शरद र शिशिर ऋतुमा हो!

कम क्यालोरी र अधिक फाईबर पाईने एनोकी च्याउ आहारको लागि खान सल्लाह दिईन्छ। हेर्दा सेतो र पातलो यस तरकारीमा पौष्टिक होला त? भन्नेहरु पनि हुनुहुन्छ होला। एनोकी च्याउमा भिटामिन बी, पोटासियम, आइरन आदि पाईने हुनाले यो एक पौष्टिक खाना हो।

फुकुओका प्रिफेक्चरले "हाकाता-एनोकी" भनिने तरकारीको ब्रान्ड उत्पादन गर्छ र यो पश्चिमी जापानको नम्बर एक उत्पादक हो। स्वादिष्ट खाने तरिका भनेको, यसलाई नपखालीकन पकाउने हो।

च्याउलाई पानीले पखाल्यो भने, च्याउको सुगन्ध, स्वाद र पोषक तत्वहरू पखालिने भएकोले, खासै पखाल्न सल्लाह दिईन्दैन। यसलाई मासुसँग भुटेर वा सूपमा हालेर स्वादिष्ट रूपमा खान सक्नुहुन्छ।

यसलाई फ्रिजमा एक हप्ता जति भण्डारण गर्न सकिन्छ, डीफ्रिज गरेर राख्न पनि राम्रो हुन्छ।

खाने साईजमा काटेर फ्रिजर झोलामा राखी डीफ्रिज गर्ने गर्नुहोस्।

बरु डीफ्रिज भएकोलाई नपगालिकन, जमेको अवस्थामा नै तताउने गर्नुहोस्।

डीफ्रिज गरेर राख्नाले च्याउको बाहिरी पातलो तह निस्केर, पोषक तत्वहरूको अवशोषण दर बढाउँछ र स्वाद बढाउँछ।

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account संचालन गरिएको छ।

फाउण्डेसनको LINE आधिकारिक Account बाट LINE कल प्रयोग गरि, जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्श आदिका लागि बुकिंग गर्न सक्नुहुन्छ। टेलिफोन मार्फत् परामर्श, २२ वटा भाषाहरूमा उपलब्ध भएकोले, परामर्श लिन नहिचकिचाउनुहोस्।

साथै, LINE Voom को प्रयोग गरेर फाउण्डेसनको कार्यक्रमहरुको जानकारी र फुकुओका शहरबाट जारी सूचनाहरु पठाइने गरिएको छ। "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन"को होमपेजबाट फाउण्डेसनको LINE आधिकारिक Account को Friend add गर्न अनुरोध गर्दछौं।

LINE talk मार्फत परामर्श सेवा उपलब्ध छैन, तर फाउण्डेसनको होमपेजमा रहेको सोधपुछ फारमबाट पनि परामर्श लिन सक्नुहुन्छ।

 

अर्को रहेको छ,

वर्षको समाप्ति र नववर्षको बिदाको सूचना

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, डिसेम्बर २९ बिहिबारदेखि जनवरी ३ मंगलबारसम्म ६ दिनको लागि बन्द रहनेछ।

नववर्ष २०२३ जनवरी ४ बुधबार ९ बजेबाट खुल्नेछ।

वर्ष २०२३ को प्रथम विदेशीहरूका लागि नि:शुल्क कानुनी परामर्श, जनवरी ७ शनिबार आयोजना हुनेछ।

कानुनी परामर्शको लागि अग्रिम बुकिंग आवश्यक हुने हुनाले, परामर्श लिन ईच्छुक महानुभावहरुले सकेसम्म चाँडो सम्पर्क गर्नुहोस्।

विस्तृत जानकारीका लागि कृपया फोन कल वा फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेनुहोला। फोन नम्बर ०१२०-६६-१७९९ हो। कल शुल्क लाग्दैन।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले, फुकुओकामा बस्नु हुने सबै विदेशीहरुको आरामदायी जीवनयापनका लागि, मुख्य संवाहकको रुपमा, बिभिन्न जानकारीहरु प्रदान गर्दै, सबैको जीवनयापनमा सहयोग गर्दछ। अवश्य पनि बिना हिच्किचाई परामर्श सेवा लिनुहोस्।

2022.12.08[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【नोबेल पुरस्कार वितरण समारोह】

डिसेम्बर १० मा नोबेल पुरस्कार वितरण समारोह आयोजना हुन गईरहेको छ।

स्विडेनी आविष्कारक अल्फ्रेड नोबेलको ईच्छा अनुसार, यो पुरस्कार भौतिक विज्ञान, रसायन विज्ञान, फिजियोलोजी/चिकित्सा, साहित्य र शान्तिको क्षेत्रमा "मानवजातिको लागि सबैभन्दा ठूलो योगदान गर्ने व्यक्तिहरूलाई" प्रदान गरिन्छ।

पछि आएर, अर्थशास्त्र क्षेत्र पनि थपिएर अहिले छ वटा पुरस्कारहरू समाबेश छन्।

हरेक वर्ष, प्रत्येक पुरस्कार बढिमा ३ जनासम्मलाई प्रदान गरिन्छ।

विजेताहरुलाई पुरस्कार राशि, प्रमाणपत्र र मेडल प्रदान गरिन्छ ।

यस वर्षको नोबेल शान्ति पुरस्कार, लामो समयदेखि नागरिकहरूको आधारभूत मानवअधिकार र शक्तिको आलोचना गर्ने अधिकारको संरक्षणमा सक्रिय रहँदै आएका भूतपूर्व सोभियत संघका बेलारुसका मानवअधिकार कार्यकर्ता, त्यस्तै रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई प्रदान गर्ने घोषणा गरिएको छ।

राष्ट्को आधारमा, पहिलोमा संयुक्त राज्य अमेरिका, दोस्रोमा युनाइटेड किंगडम र तेस्रोमा जर्मनी रहेका छन्।

जापान बाहेक एसियामा भारत पहिलो स्थानमा, चीन र ताइवान समान संख्यामा दोस्रो स्थानमा छन्।

यस वर्ष कस्ता व्यक्तिहरू पुरस्कृत हुन गईरहेका छन् त भन्ने कौतुहलताको बिषय बनेको छ!

 

 

【फुकुओका शहरको सूचना】

विश्व मानव अधिकार दिवस र मानव अधिकार सप्ताहको बारेमा

"मानव अधिकार" भनेको हरेक व्यक्ति जन्मेदेखि उसले "मानव जस्तो जीवन जीउन" पाउनेको अधिकार हो।

डिसेम्बर १० "विश्व मानव अधिकार दिवस" हो, जुन जापानमा मात्र होइन, विश्वको विभिन्न भागहरुमा पनि "मानव अधिकार" को बारेमा सोच्ने दिनको रुपमा रही आएको छ।

डिसेम्बर ४ देखि १० सम्म "मानव अधिकार सप्ताह" को अवसरमा, फुकुओका शहरमा पनि, मानव अधिकारको सम्मान गरि, भेदभाव रहित आरामदायी फुकुओका शहरको उद्देश्यले “मानव अधिकार सम्मान सप्ताह” आयोजना गरिंदै आईरहेको छ।

 

प्रत्येक व्यक्ति स्वावलम्बी छ भन्ने कुरा अनुभूति दिलाने यो महत्त्वपूर्ण सप्ताह हो।

SDGs द्वारा उल्लेख गरिए अनुसार "कोही पनि नछुटौं" समाजलाई महसुस गर्न, महिला, बालबालिका, वृद्ध, विदेशी, अशक्त, आदिको आधारमा भेदभाव र पूर्वाग्रह हटाएर, एक अर्काको मानव अधिकारको सम्मान गर्न जरुरी छ।

हामीहरु पनि "दयालु हृदय" र "स्वाभिमानी जीवन"को बारेमा फेरि एकपटक सोचेर हेर्ने होइन त?

 

 

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

तेस्रो पटक, चौंथो पटक र पाँचौं पटकको खोप लिनेहरूका लागि Omicron strain विरुद्धको खोप लगाउने काम भईरहेको छ। Omicron strain विरुद्धको खोप प्रति व्यक्ति एक पटक लगाईने खोप हो।

पछिल्लो खोप लिएकोबाट ३ महिना कटिसकेकाहरूका लागि, खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

खोप कुपन हराएका महानुभावहरुले, पुन: जारीको लागि आवेदन दिन आवश्यक छ। कृपया कल सेन्टरमा फोन गर्नुहोस्।

 

विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,

खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न, सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

साथै, प्रत्येक वर्ष जाडो शुरु भयो कि, इन्फ्लूएन्जाको संक्रमण देखा पर्दछ।

यस वर्ष नयाँ कोरोना भाइरससँगै दुवै रोगहरू एकै समयमा हुने सम्भावना हुन सक्छ।

यदि इन्फ्लूएन्जा लागि हालेमा, गम्भीर बिरामी हुनबाट बच्नका लागि पनि, इन्फ्लूएन्जाको खोप लगाउन सल्लाह दिन्छौं।

यसका साथै, नयाँ कोरोना भाइरस र इन्फ्लूएन्जा दुबैको खोप एकै समयमा लिन सक्नुहुन्छ।

2022.12.01[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , नियम तथा आचरण(ルール・マナー)

【डिसेम्बर बिताउने तरिका】

डिसेम्बर महिनालाई शिवासु पनि भनिन्छ। किनभने, "बौद्ध मन्दिरहरुको पूजारीको भिक्षुहरु सूत्र जप गर्न पूर्वबाट पश्चिमतर्फ जाने व्यस्त महिना हो" भन्ने बलियो सिद्धान्त छ।

परापूर्वकालमा १३ औँ दिनलाई "नयाँ वर्षको शुरुवात"को रुपमा मानिन्थ्यो, वर्षभरीको फोहोरहरु हटाउने "सुसुहाराई" बनाउन र Kadomatsu आदिको तयारीको लागि सल्लोको संकलन गरिन्थ्यो तर, यो आधुनिक युगको सरसफाई गर्ने तरिकामा परिवर्तन हुँदै गयो। यसका अतिरिक्त, वर्षको सबैभन्दा छोटो दिन, टौउजी (Touji) को २२ तारिखतिरदेखि जाडो बढ्दै जान्छ। त्यसैले, युजु अर्थात् निबुवा हालेको ओफुरोमा बस्यो भने, चिसो नलागीकन स्वस्थ भई जाडो कटाउन सकिन्छ भन्ने चलन छ।

भन्दाभन्दै वर्षको अन्त्यतिर आईसक्यौं, अब २०२२ सकिनै लाग्यो। बिना विघ्नबाधा २०२३ शुरु गर्न, आफ्नो कामहरू कुन क्रममा पूरा गर्ने भन्ने कल्पना गर्दै योजना बनाऔं। किनमेल लिस्ट, गर्नु पर्ने कामहरुको लिस्ट बनाई क्यालेन्डरमा लक्ष्य पूरा गर्ने दिनमा चिन्ह लगाउने पनि राम्रो उपाय होला। साथै, बिदाको मौसमको आनन्द लिन पनि नबिर्सनुहोस्।

 

 

【फुकुओका शहरको सूचना】

विश्व एड्स दिवस सम्बन्धि

डिसेम्बर १ विश्व एड्स दिवस हो। हरेक वर्ष डिसेम्बर १ लाई केन्द्रित गरि, विश्वभर एड्स सम्बन्धि जनचेतना जगाउने गतिविधिहरू आयोजना गरिन्छ।

एचआईभी संक्रमण पछि, धेरै वर्षसम्म यसको प्रत्यक्ष लक्षण बिनाको अवधि जारी रहने भएकोले, एड्स नलागेसम्म रोग पत्ता नलगाएका संक्रमित व्यक्तिहरू धेरै छन् भन्ने अनुमान गरिन्छ।

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचारले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, प्रारम्भिक परिक्षण गर्ने गरौँ।

प्रत्येक वार्डको Health and Welfare Center मा, HIV परिक्षण निःशुल्क र गोप्य रूपमा गर्न सक्नुहुन्छ।

परिक्षण गर्न मिल्ने दिनको निश्चित समय भएकोले, कृपया जानुअघि अग्रिम जानकारी लिनुहोला।

यसका अतिरिक्त, एड्स पीडित व्यक्तिहरूलाई बुझ्ने र समर्थन गर्ने ईच्छुकत्तालाई रातो रिबनको प्रतिकले दर्शाउँछ। रातो रिबनले, एड्सको बारेमा कुनै पूर्वाग्रह नभएको र एड्स भएकासाथ बस्नेहरूसँग भेदभाव गर्दैनौं भन्ने सन्देश दिन्छ। रातो रिबन पछि डिसेम्बर १ देखि ७ सम्म ७ दिन को लागी, Hakata Port Tower र Fukuoka Red Brick Culture Museum रातो रंगको बत्ति बालि उज्यालो पारिन्छ।

विश्व एड्स दिवसको अवसरमा, एड्सको बारेमा सही ज्ञान र यसको रोकथाम उपायहरूको बारेमा सबैजनाले मनन गरेर हेरौं।

 

 

फोहरको अवैध डम्पिंग

जंगल, समुद्रीतट, नदी, सडक, पार्क आदिमा ठूलो आकारका फोहर वा घरको फोहर फाल्नेलाई अवैध डम्पिंग भनिन्छ।

फुकुओका शहरमा, बर्षको अन्त्यमा सरसफाईको कारण फोहरको मात्रा बढ्ने डिसेम्बरमा, “अवैध डम्पिंग रोकथाम सुदृढीकरण महिना" को रूपमा, अवैध फोहर फाल्न रोक्नका लागि गतिविधिहरू थप सुदृढ गरिन्छ।

फुकुओका शहरले पुलिसको सहयोगमा, धेरै अवैध फोहर फाल्ने स्थानहरुमा, निगरानी क्यामेरा वा चेताउनी संकेतहरू राख्ने र गस्तीहरू सञ्चालन गरिंदै आईरहेको छ।

टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर, र एयर कन्डिशनरहरू घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ।

नयाँ जडान गर्ने बेलामा लगिदिनुहुन्छ कि भनेर खरिद गरेको पसल वा नजिकको Yamada Denki मा सोध्नुहोला। रिसाइकल शुल्क, संकलन र यातायात शुल्क आवश्यक पर्छ।

शहरमा गस्ती गर्नेहरू, पर्चाहरू, इन्टरनेट आदि मार्फत् "अनावश्यक सामानहरू कम शुल्कमा संकलन गरिदिन्छौं” भनि विज्ञापन गर्नेहरु, फुकुओका शहरको अनुमति बिना अवैध रूपमा संकलन गर्ने ठेकेदारहरु हुन्। अनुमति प्राप्त नभएका ठेकेदार मार्फत् गराउनु भयो भने, अवैध डम्पिंग वा अनुचित प्रशोधन गर्ने, अधिक शुल्क लिने जस्ता समस्याहरू निम्त्याउने हुनाले कृपया यसको प्रयोग नगर्नुहोस्।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ