ブログ

ポッドキャスト

ポッドキャスト RSS

2023年12月

2023.12.28[Thu] 09:00

अन्य(その他)

【नयाँ वर्षको पूर्वसंध्या】

वर्ष २०२३ सकिन अब केही दिन मात्र बाँकी छ। तपाईंहरुको यो वर्ष कस्तो रह्यो?

नयाँ वर्षको पूर्वसंध्या मनाउने केही योजना छ कि?

जापानमा, नयाँ वर्षको पूर्वसंध्या अर्थात् डिसेम्बर ३१मा, तोशिकोशी सोबा खाने चलन छ।

तोशिकोशी सोबा खाने भनेको लामो आयु बाँच्नु, यस बर्षको कठिनाई र असफलतालाई बिर्सेर नयाँ वर्षलाई स्वागत गर्नु हो।

जापानको विभिन्न भागहरूमा स्थानीय ओरिजिनल तोशिकोशी सोबा पाईन्छ।

यसलाई प्राय: नयाँ वर्षको पूर्वसंध्यामा खाने गरिन्छ।

पसलमा नखाए पनि, कन्भिनीयन्स स्टोर र सुपरमार्केटमा पनि किन्न पाईने भएकाले, अहिलेसम्म खानु भएको छैन भए, एकचोटी खाएर हेर्नुहोला।

हुन त, हामी नेपालीहरुको आफ्नै नव वर्ष भएकोले अंग्रेजी नव वर्षलाई खासै धुमधामका साथ मनाउने गरेको देखिन्दैन। नेपालमा खास गरि, काठमाडौंको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला पर्यटकीय शहरहरुमा नव वर्ष ईभ कार्यक्रम आयोजना गर्ने र विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने चलन छ। प्रायःजसो साथीहरुसँग बाहिर घुम्ने र खानपिन गर्ने अवसरको रुपमा अंग्रेजी नव वर्ष मनाउने गरेको देखिन्छ। 

जापानमा भने, सामान्यतयाः नयाँ वर्षको काउन्टडाउनको समयमा, परिवारहरू घरमासँगै समय बिताउने गर्छन् वा मन्दिरहरूमा आयोजना हुने, "जोयानो खाने" नामक कार्यक्रममा सहभागी हुने गर्छन्, जसमा सांसारिक इच्छाहरू मेटाउन १०८ पटक घण्टी बजाइन्छ। केही मन्दिरहरूमा, भक्तजनहरू आफैले घण्टी बजाएर अनुभव लिन पनि सक्छन्। नयाँ वर्षको पूर्वसन्ध्यादेखि नयाँ वर्षको दिनसम्म मन्दिरको दर्शन गर्नाले आशीर्वाद दोब्बर हुन्छ भन्ने गरिन्छ। केही ठाउँहरूमा भक्तजनहरूमाथि आमाजाके भनिने गुलियो रक्सीले छर्कने पनि गरिन्छ, जुन चाहिं काठमाडौंका प्रायः मन्दिरहरुमा हुने जल छर्कने चलनसँग ठ्याक्कै मिल्दोजुल्दो छ।

यस नयाँ वर्षको पूर्वसन्ध्यामा मन्दिरहरुमा लामो लाइन हुने गर्छ। यदि तपाईंहरु पनि दर्शन गर्न जाने विचारमा हुनुहुन्छ भने, बाक्लो न्यानो लुगाहरु लगाएर, जाडोबाट बच्नप्रति ध्यान दिनुहोस्।  

यस बाहेक, धेरैजसो मानिसहरू रातभर जागै बसेर नयाँ वर्षको पहिलो सूर्योदय हेर्नका लागि बस्छन्। नयाँ वर्षको पहिलो सूर्यलाई शुभ मानिने र नयाँ वर्षमा सुख र स्वास्थ्यको कामना गर्ने चलन छ। रमणीय ठाउँहरूमा गएर, सूर्य उदाएको क्षणको तस्बिर लिनेहरुको पनि उत्तिकै घुइँचो हुन्छ।

फुकुओका शहरमा पनि यस्ता थुप्रै ठाउँहरू छन्। त्यसमध्ये एक हो, ''आटागो जिन्ज्या,'' जुन नयाँ वर्षको तीर्थस्थलको रुपमा पनि रहेको छ अनि त्यहाँबाट हाकाता बेको सुन्दर दृश्यको आनन्द पनि लिन सक्नुहुन्छ। त्यस्तै, बिहानी किरणले उज्यालो भएको फुकुओका शहरको मनोरम दृश्य प्रदान गर्ने ''फुकुओका टावर'' र ''आबुरायामा'' पनि उत्तिकै लोकप्रिय छन्। यहाँ नि:शुल्क पार्किङ पनि छ, कृपया यिनीहरुको होमपेजमा हेनुहोला।

नयाँ वर्षमा तपाईंहरु सबैको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु। तपाईहरु सबैलाई नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना! नव वर्ष २०२४ मा, अहिलेको भन्दा अझ धेरै, सबैको अनुहारमा मुस्कानका साथ बाँच्ने समाजको सृजना होस् भनि कामना गर्दछु।

2023.12.21[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【बोनेन् खाई अर्थात् वर्षको अन्त्य पार्टी】

वर्षको अन्त्य नजिकिँदै गर्दा, बोनेन् खाईको सिजन पूर्ण रुपमा लागि नै सकेको छ। तपाईहरुले यस समयतिर बोनेन् खाई भन्ने शब्द धेरै सुन्नु भएको हुनुपर्छ। जापानमा, जब डिसेम्बर शुरु हुन्छ तब काम गर्ने ठाउँमा होस् वा समुदाय, साथीहरूसँग यस वर्षको कठिनाइहरू बिर्सेर, रिसेट गरेर, नयाँ उत्साहका साथ नयाँ वर्षलाई स्वागत गरौँ! भन्ने कामनाका साथ बोनेन् खाई अर्थात् वर्षको अन्त्य पार्टी आयोजना गरिन्छ। एक-अर्काको कडा परिश्रमका लागि धन्यवाद दिनका लागि पनि बोनेन् खाई आयोजना हुने भएकोले, सम्पूर्ण टोली एकसाथ भेला हुने र खानपानका लागि बाहिर जाने गरिन्छ। "ओचुखारेसामादेसिता! तपाईंको कडा परिश्रमको लागि धन्यवाद" भन्दै खान्पाई गर्ने, खानपान गर्नुका साथसाथै मनोरञ्जनको आनन्द लिने पनि गरिन्छ। 

यस किसिमको कार्यक्रममा प्रायः निस्कने जापानी वाक्यांश, "क्योउ वा बुरेइको"!

यसको अर्थ- आफ्नो स्थिति र पदलाई बेवास्ता गरि रमाईलो गरौं! कुनै चिन्ता नलिईकन आराम गरौं र मजा लिऔँ! भन्ने हो। तपाईंहरु पनि नयाँ उत्साह उमंगका साथ नयाँ वर्ष शुरु गर्नुहोस् है!

 

 

फुकुओका शहरको सूचना

नयाँ वर्षको बिदाहरुमा वार्ड अफिस काउण्टर अनि फोहोर फाल्ने दिन सम्बन्धि सूचना

नयाँ वर्षको बिदाहरुमा, वार्ड अफिसको काउण्टर र फोहोर फाल्ने दिन परिवर्तन हुने भएकाले, कृपया ध्यान दिनुहोला। वार्ड अफिसको काउण्टर, डिसेम्बर २९ (शुक्रबार) देखि जनवरी ३(बुधबार) सम्म बन्द रहनेछ।

नयाँ वर्षको बिदाहरुको अघिपछि वार्ड अफिसको काउण्टर भिडभाड हुने भएकोले, धेरै समय राखेर जाने गरौँ।

डिसेम्बर ३१ (आइतबार) देखि जनवरी ३ (बुधबार) सम्म, फोहर संकलन हुने छैन।

जल्ने फोहरको मात्र संकलन, डिसेम्बर ३० (शनिबार) सम्ममा हुनेछ। नयाँ बर्षको जनवरी ४ (बिहिबार) पछि पुनः संकलन हुने हुनाले तोकिएको बारमा फोहर बाहिर राख्नुहोस्। 

सँधै बुधबार र आइतबार फोहर संकलन हुने क्षेत्रहरुमा, त्यसको सट्टा डिसेम्बर ३० (शनिबार) मा संकलन हुनेछ।

नजल्ने फोहर तथा खाली सिसाको बोतल, प्लास्टिकको बोतल फाल्नका लागि, 

जनवरी १ (सोमबार) मा संकलन हुने क्षेत्रमा डिसेम्बर २२ (शुक्रबार), 

जनवरी २ (मंगलबार) को क्षेत्रमा डिसेम्बर २९ (शुक्रबार),

त्यस्तै, जनवरी ३ (बुधबार) को क्षेत्रमा जनवरी ५ (शुक्रबार) को दिन फोहर फाल्नुहोस्।

यसका साथै, ठूलो आकारका फोहरको काउण्टर तथा संकलन, डिसेम्बर २९ (शुक्रबार) देखि जनवरी ३ (बुधबार) सम्म बन्द रहनेछ।

 

 

वर्षको समाप्ति र नयाँ वर्ष सुरक्षित र ढुक्क साथ बिताउनका लागि

वर्षको समाप्ति र नयाँ वर्षको बिदाहरूमा रक्सी पिउने धेरै अवसरहरू हुने गर्छन्।

“मादकपदार्थ सेवन गरि गाडि नचलाउने, चलाउन नदिने, चलाउनेलाई बिल्कुल माफी नदिने, र बेवास्ता नगर्ने” प्रति निश्चित होऔं।

रक्सी पिएर साइकल चलाउनु पनि कानूनले निषेध गरेको छ।

विशेष ध्यान दिनुपर्ने भनेको, अर्को दिन रक्सीको ह्यांगओभर हो।

अलिकति भए पनि रक्सी लागेको बाँकी छ जस्तो लागेमा, गाडि नचलाऔं।

यस अतिरिक्त, हरेक वर्षको अन्ततिर ट्राफिक दुर्घटनाहरू बढ्ने गरेको पाईएको छ।

राती बाहिर निस्कँदा, ड्राइभरले देख्न सजिलो हुने, चम्किलो लुगा वा चमकदार वस्तुको प्रयोग गरौँ।

कार वा साईकल चलाउँदा, समयमै बत्ति अन गरौं।

अर्को जानकारी, बाटोमा हुने लुटपाटको बारेमा छ।

कम ट्राफिक भएको स्थानमा, साँझदेखि मध्यरातसम्म धेरै अपराधहरू हुने गरेको, अझ, लुटेराहरु प्रायः मोपेड बाइकमा आएका घटनाहरु धेरै छन्।

खोस्नबाट जोगिन, झोला सडकको अर्को पट्टि समात्ने गरौँ।

साथै, मान्छेको संकेत वा बाइकको आवाज सुन्नुभएमा पछाडी फर्केर हेर्ने आदि जस्ता, आफ्नो वरपर ध्यान दिने गरौँ।

हिँड्दा वा साइकल चलाउँदा चुरोट खाने बन्द गरौँ।

नियम तथा आचरणहरुलाई पालन गरि, तपाईंको वरपरका मान्छेहरुले पनि दुक्क र सुरक्षित महसुस गर्ने वातावरण बनाउन मद्दत गरौँ।

आफू र आफ्नो बहुमूल्य सामानहरूको ध्यान दिई, नयाँ वर्षको बिदा सुरक्षित र आनन्दमयी बिताऔं।

2023.12.14[Thu] 09:00

अन्य(その他)

【नेन् माचु ओसोउजी अर्थात् वर्षको अन्ततिर सरसफाई】

जापानमावर्षको अन्ततिर वा नयाँ वर्ष शुरु हुनु अघि बिस्तृत सरसफाई गर्ने चलन छ।

नयाँ वर्षको दिन भगवान्लाई स्वागत गर्न आफ्नो घर तथाकार्यस्थलबाट एक वर्षभरिको फोहोर हटाई, सफासुघ्घर पार्ने कार्य परापूर्वकालदेखि चलिआएको हो। 

डिसेम्बरमा, सरसफाई गर्नु सामान्य हो, तर २९, ३१र जनवरी १ तारिक चाहिं अशुभ मानिन्छ।त्यसैले नयाँ वर्षको लागि सरसफाई वा तयारी जस्ता घरका कामहरू यी दिनहरुमा नगर्नु राम्रो भनिन्छ।

यस वर्षको अब लगभग दुई हप्ता जति कामपछि लामो बिदा आउनै लाग्यो, बाँकीका दिनहरुमा पनि उत्तिकै मिहेनत गरौं। बिदामा भरपूर आराम अनि मनोरञ्जन लिने योजना बनाऔं।

 

 

फुकुओका शहरको सूचना

LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account संचालन गरिएको छ।

फाउण्डेसनको LINE आधिकारिक Account बाट LINE कल प्रयोग गरि, जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्श आदिका लागि बुकिंग गर्न सक्नुहुन्छ। टेलिफोन मार्फत् परामर्श, २२ वटा भाषाहरूमा उपलब्ध भएकोले, परामर्श लिन नहिचकिचाउनुहोस्। 

साथै, LINE Voom को प्रयोग गरेर फाउण्डेसनको कार्यक्रमहरुको जानकारी र फुकुओका शहरबाट जारी सूचनाहरु पठाइने गरिएको छ। "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन"को होमपेजबाट फाउण्डेसनको LINE आधिकारिक Account को Friend add गर्न अनुरोध गर्दछौं

LINE talk मार्फत परामर्श सेवा उपलब्ध छैन, तर फाउण्डेसनको होमपेजमा रहेको सोधपुछ फारमबाट पनि परामर्श लिन सक्नुहुन्छ।

 

 

वर्षको समाप्ति र नववर्षको बिदाको सूचना

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, डिसेम्बर २९ शुक्रबारदेखि जनवरी ३ बुधबाररसम्म ६ दिनको लागि बन्द रहनेछ।

नववर्ष २०२४ जनवरी ४ बिहिबार बिहान ९ बजेबाट खुल्नेछ।

वर्ष २०२४ को पहिलो विदेशीहरूका लागि नि:शुल्क कानुनी परामर्श,जनवरी ६ शनिबार आयोजना हुनेछ।

कानुनी परामर्शको लागि अग्रिम बुकिंग आवश्यक हुने हुनाले, परामर्श लिन ईच्छुक महानुभावहरुले सकेसम्म चाँडो सम्पर्क गर्नुहोस्। अग्रिम बुकिंग बिना उपलब्ध हुने प्रसाशनिक वकिलद्वाराको परामर्श,जनवरी १४ आइतबार आयोजना हुनेछ।

विस्तृत जानकारीका लागि कृपया फोन कल वा फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेनुहोला। फोन नम्बर०१२०-६६-१७९९ हो। कल शुल्क लाग्दैन।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले, फुकुओकामा बस्नु हुने सबै विदेशीहरुको आरामदायी जीवनयापनका लागि, मुख्य संवाहकको रुपमा, बिभिन्न जानकारीहरु प्रदान गर्दै, सबैको जीवनयापनमा सहयोग गर्दछ। अवश्य पनि बिना हिच्किचाई परामर्श सेवा लिनुहोस्।

 

2023.12.07[Thu] 09:00

अन्य(その他)

【mochi-pounding】

तपाईहरुलाई "मोची" कत्तिको मन पर्छ?ताजा बनाएको मोची नरम अनि स्वादिष्ट हुन्छ। 

जापानमा डिसेम्बरमा विद्यालय र सामुदायिक भेलाहरूमा "मोची बनाउने प्रतियोगिताहरू" आयोजना गरिन्छ।

जापानमा, नयाँ वर्षमा धेरै मोची उपभोग गर्ने भएकोले, यस समयमा बनाएर भण्डारण गरि राख्ने गरिन्छ।

ठूलो संख्यामा मानिसहरू भेला हुन्छन् र मोची बनाउनको लागि विशेष किसिमको भाँडाको प्रयोग गरि तात्तातो, बाफिएको ताइचिन भातलाई कुट्ने-मुछ्ने प्रक्रिया दोहोर्याएर मोची बनाईन्छ। यो मोची बनाउनेप्रक्रिया निकै जीवन्त छ, सबैले हुटिंग गर्ने, ताली बजाउने अनि पालैपालो मोची कुट्नेगर्छन् जसमा सहभागी हुनु त रमाइलो भई नै हाल्छ भने, हेर्न मात्र पनि अत्यन्तै रमाइलो हुन्छ।

मोची बनाउन सकेपछि, आयोजना स्थलमा नै, सबैले आफ्नो मनपर्ने स्वादको साथमा ताजा बनाएको मोची खान्छन्।

बिभिन्न स्वादहरु जस्तै कि भटमासको पिठो, रातो बीन पेस्ट, चिनी-सोया ससको मिश्रण लगायत ग्रेटेड मूला, नाटो,सोया सस र नोरी जस्ता थुप्रै थरिहरुबाट रोज्न सक्नुहुन्छ।

यदि तपाईंहरुलाई मौका मिल्यो भने, पक्कै पनि परम्परागतमोची बनाउने जापानी कार्यक्रममा सहभागी हुनुहोला है!

 

 

फुकुओका शहरको सूचना

विश्व मानव अधिकार दिवस र मानव अधिकार सप्ताहको बारेमा

"मानव अधिकार" भनेको हरेक व्यक्ति जन्मेदेखि उसले "मानव जस्तो जीवन जीउन" पाउनु अधिकार हो।

डिसेम्बर १० "विश्व मानव अधिकार दिवस" हो, जुन जापानमा मात्र होइन, विश्वको विभिन्न भागहरुमा पनि "मानव अधिकार" को बारेमा मनन गर्ने दिनको रुपमा रही आएको छ।

डिसेम्बर ४ देखि १० सम्म "मानव अधिकार सप्ताह" को अवसरमा, फुकुओका शहरमा पनि, मानव अधिकारको सम्मान गरि, भेदभाव रहित आरामदायी फुकुओका शहरको उद्देश्यले मानव अधिकार सम्मान सप्ताह आयोजना गरिंदै आईरहेको छ।

प्रत्येक व्यक्ति स्वावलम्बी छ भन्ने कुरा अनुभूति दिने यो महत्त्वपूर्ण सप्ताह हो।

SDGs द्वारा उल्लेख गरिए अनुसार "कोही पनि नछुटौं" समाजलाई महसुस गर्न, महिला, बालबालिका, वृद्ध, विदेशी, अशक्त, आदिको आधारमा भेदभाव र पूर्वाग्रह हटाएर, एक अर्काको मानव अधिकारको सम्मान गर्न जरुरी छ।

हामीहरु पनि "दयालु हृदय" र "स्वाभिमानी जीवन"को बारेमा फेरि एकपटक मनन गरेर हेर्ने होइन त?

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ