ブログ

ポッドキャスト

ポッドキャスト RSS

2022年01月

2022.01.27[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【प्रोफेसनल बेसबल दिवस】

फेब्रुअरी ५  तारिक प्रोफेसनल बेसबल दिवस हो।

सन् १९३६को यस दिनमा, वर्तमान निप्पोन प्रोफेसनल बेसबल ओर्गनाईजेसनको गठन भई, प्रोफेसनल बेसबलको शुरुवात भएको सम्झनामा यसको स्थापना भएको थियो।

प्रथम करार खेलाडी मिहारा ओसामु हुन्, जसले पहिले नै टोकियो जाइन्ट्ससँग सम्झौता गरिसकेका थिए। त्यो बेला उनको मासिक तलब १७७ येन थियो।

त्यस समयमा क्याम्पस स्नातकहरूकै शुरुवाती तलब लगभग ६४ येन थियो, यस अर्थमा उनको  एकदम उच्च तलब थियो।

फुकुओका शहरमा आबद्ध  Fukuoka Softbank Hawks गत वर्षको लिगमा चौथो स्थानमा टुंगिएको थियो। यस वर्ष, निर्देशक पनि नयाँ भएकोले  खेल शैलीमा परिवर्तन तथा अझ उत्कृष्ट खेलका लागि शुभकामना ।

हामी सबैले पनि समर्थन गरौं है।

 

 

【जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना】 

फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।

 

जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।

 

जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, र मायोकार्डियल इन्फ्रक्सन आदि असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।

 

साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।

 

स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।

 

साथै, राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू बलियो हुन्छ।

 

कम्तिमा पनि २० मिनेटको हाराहारीमा  बिस्तारै खाने गरौं।

 

 

 

व्यायामको कमीको कारणले मांसपेशिहरु घट्यो भने, Basal metabolism कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।

 

यस अतिरिक्त, मधुमेह जस्ता रोग लाग्ने जोखिम पनि बढाउँछ।

 

मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।

 

व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, अहिले भन्दा लगभग १० मिनेट बढि हिड्ने प्रयास गरौं।

 

निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।

 

रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।

 

सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं  किनभने यसले तपाईंको निद्राको गुणस्तर घटाउँछ।

 

साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।

 

 

 

यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?

 

2022.01.20[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【मूला】

डिसेम्बरदेखि फेब्रुअरीसम्म स्वादिष्ट हुने तरकारी हो, मूला।

पात र जरा पौष्टिक तत्वले भरिपूर्ण भई, पकाएर खाए पनि काँचै खाए पनि  मूला स्वादिष्ट हुन्छ।

मूला जापानभर उत्पादन गरिन्छ, तर फुकुओका शहरमा चाहिं, सावारा वार्डको हारा, निशी वार्डको कानाटाके र किताजाकीमा उत्पादन गरिंदै आएको देखिन्छ।

 

मूला किन्दा, जराको भाग धेरै भई भारीपन भएको, सेतो र पोष्ट देखिने मूला छान्ने गरौं।

पातहरू भएको मूला भएमा, ताजा हरियो र नओइलाएको उत्तम हुन्छ, तर यदि पातहरू काटिएका छन् भने, काटिएको भाग ताजा भएकोवाला छान्नेगरौं।

पातहरु भएको मूला किन्नुभएको खण्डमा, यसलाई तुरुन्तै काटेर छुट्टै भण्डार गर्नुहोस्। राम्रोसँग  प्लास्टिक र्यापले बेरेर, जाडोमा चिसो र अँध्यारो ठाउँमा राख्नुहोस्, र अन्य मौसमहरूमा फ्रिजको तरकारी डिब्बामा राख्नुहोस्।

पातहरूलाई तातो पानीमा उमालेर, साना भागहरूमा विभाजन गरि फ्रीजरमा भण्डारण गर्नु भयो भने, खाना बनाउँदा यसलाई थप स्वादको रूपमा प्रयोग गर्न सजिलो  हुन्छ।

जराको भागमा भिटामिन C र पाचन इन्जाइम एमाइलेज हुन्छ, यसका साथै, पिसेको मूलाले पाचन शक्तिलाई बढाउँछ। पातको भागमा कैरोटिन, क्याल्सियम र फाइबरको मात्रा प्रशस्त हुन्छ। यसलाई मिसो सूपमा हालेर वा चिरिमेन्ज्याको अर्थात् सुक्खा सानो माछा हालेर हल्का भुटेर खान पनि स्वादिलो हुन्छ।

 

 

【नोरोभाइरसदेखि सावधान!】

जाडोमा, नोरोभाइरसको कारण वान्ता हुने, पखाला हुने, पेट दुख्ने र बान्ता आउला जस्तो हुने  समस्या बढी हुने गर्छ।

यो भाइरस शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि संक्रमित हुन्छ।

 

भाइरस हात वा खानाद्वारा शरीरमा प्रवेश भई, यसले पखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ।

संक्रमित व्यक्तिको बान्ता वा पखालाको कारण हावामा भएको भाइरस, सास लिंदा संक्रमित हुने वा संक्रमित व्यक्तिले पकाएको खाना खाएर पनि सर्न सक्दछ।

साथै, भाइरस भएको oysters आदि जस्ता bivalves नतताईकन खाँदा पनि भाइरस सर्न सक्दछ।

 

धेरै मात्रामा बान्ता र पखालाबाट डिहाईड्रेसन हुन सक्छ।

तुरुन्तै चिकित्सकलाई देखाउने गरौं।

यो सामान्यतयाः २, ३ दिनमा निको हुन्छ, तर लक्षणहरू हराए पनि १ हप्तादेखि १ महिनासम्म, भाइरस दिसामा निस्कन्छ, र यो अन्य व्यक्तिहरूलाई संक्रमित गराउने कारण बन्ने भएकोले यसप्रति सजक रहौं।

       

संक्रमणलाई बढ्न नदिन, निम्न रोकथामका बिधिहरू अपनाऔं।

खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय पछि, आदि साबुनले राम्ररी हात धुने गरौं।

खाना पकाउने भाँडाहरू हरेक पटक प्रयोग गरेपछि राम्रोसँग धोएर उमालेको पानी वा क्लोरीन ब्लीचले कीटाणुरहित पार्ने गरौं।

अल्कोहल युक्त किटनाशक भने नोरोभाइरस विरुद्ध कम प्रभावकारी हुन्छ।

नोरोभाइरस ८५℃ देखि ९०℃ तापक्रममा ९० सेकेन्ड वा सो भन्दा बढि ततायो भने मर्छ।

खानेकुरालाई पर्याप्त मात्रामा तताउने गरौं। काँचो खाने तरकारी र फलफूल राम्रोसँग धोएर प्रयोग गरौं।

शरीर सन्चो नभएको बेला खाना नपकाउनु राम्रो हुन्छ।

 

 

【अंग्रेजी भाषामा मनोरञ्जन लिन सकिने ‘फुकुओका दरवार भग्नावशेषको पैदल यात्रा’ सम्बन्धि】

〇भाषा स्वयंसेवकहरूले अंग्रेजीमा फुकुओका दरवारको भग्नावशेषमा मार्गदर्शन गराउने पैदल यात्रा सम्बन्धि जानकारी रहेको छ।

फेब्रुअरीको हरेक शनिबार १०:३० देखि १२:०० बजेसम्म, सहभागिता शुल्क १०० येन हो।

प्रत्येक हप्ता प्रथम  १० जना आवेदकहरुसम्मलाई  लिन्छौं, र सहभागिताको इच्छित मिति भन्दा एक हप्ता अघि सम्म आवेदन दिन सक्नुहुन्छ।

थप जानकारीको लागि, फोन नम्बर ०९२-७३३-५०५० मा सम्पर्क गर्नुहोस्।

कृपया फुकुओका पर्यटन कन्भेन्सन ब्यूरोमा सम्पर्क गर्नुहोस्।

के तपाईं पनि गाइडसँग फुकुओकाको इतिहास पुन: पत्ता लगाउन चाहनुहुन्न त?

चाहनुहुन्छ भने, लोकप्रिय यस भ्रमणमा सहभागिताको लागि छिटोभन्दा छिटो आवेदन दिनुहोला है!

2022.01.13[Thu] 09:00

जापानी भाषा(日本語) , आवास(住宅)

【बिजुलीको प्रयोग नगरिकन जाडोबाट बच्ने उपायहरु】

जनवरी २०, वर्षको सबैभन्दा जाडो भनिने "दाईखान"को दिन हो।

अत्यन्तै जाडोमा, कोठा तताउने सामान प्रयोग गर्दा पनि कोठा न्यानो गर्न गाह्रो हुन सक्छ। कोठा न्यानो नभएर, धेरै समय कोठा तताउने सामान प्रयोग गर्दा बिजुलीको बिल बढ्ने पनि हुन्छ। फेरी, यदि जाडो सहनु भयो भने बिरामी पर्न सक्छ। तसर्थ, बिजुलीको प्रयोग नगरिकन जाडोबाट बच्ने केही उपायहरु यहाँ भन्न चाहन्छु।

 

①बाक्लो पर्दाको प्रयोग गर्नुहोस्।

ताप र ध्वनिको प्रतिरोधात्मक प्रभावहरू भएको, विशेष रूपमा उत्पादन गरिएको कपडाबाट बनाईएका पर्दाहरू बजारमा पाईने हुनाले, यदि नयाँ पर्दा लगाउने सोच छ भने, चिसोबाट बचाउन सक्ने यस्ता पर्दाहरु छानौं। साथै, झ्यालबाट आउने चिसो हावा कोठामा छिर्न नदिनको लागि पर्दाको लम्बाइ भुइँमा छुने गरि अलिकति लत्रिने गर्नु भए पनि हुन्छ।

 

② बाक्लो कार्पेट वा गलैंचा बिछ्याउनुहोस्।

चिसो हावा सजिलै सर्न सक्ने भुइँमा, बाक्लो कार्पेट वा गलैंचाको प्रयोग गरि चिसो हुनबाट जोगाउन सकिन्छ। विशेष गरी भुवादारवाला प्रयोग गर्नुभयो भने, यसको र भुइँको बीचमा हावाको तह बन्ने भएकोले, यसले चिसो हावाको महसुस कम गराउँछ। यसका साथै, भुइँसँगको बीचमा हावाको तह रहने हुनाले ध्वनी प्रतिरोधात्मक पनि हुन्छ।

 

यस बाहेक, १००-येनको पसलमा जोइन्ट म्याट जस्ता धेरै पैसा खर्च नगरी जाडोबाट बच्न प्रयोग गर्न सकिने बिभिन्न सामानहरू पाईन्छन्। इच्छुक भएमा यसो पसलतिर हेर्नु भए कसो होला!

 

 

【“Japanese Chatting Event” को परिचय】

〇 फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू,

के तपाईंहरुलाई हरेक महिनाको एक पटक आयोजना हुने "Japanese Chatting Event" को बारेमा थाहा छ?

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ। हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, अवश्य पनि सहभागी हुनुहोला। सहभागिता शुल्क नि:शुल्क हो।

अर्को आयोजना जनवरी ३१, अनलाइनमा हुनेछ।

 

प्रयोग गर्ने तरिका तथा बुकिंग आदिको अधिक जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुक पेज ‘आत्ताखा फुकुओका’(あったか福岡)मा हेनुहोला वा फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क राख्नुहोला।

सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ ।

तपाईंहरुको सहभागीताका लागि पर्खीरहेका छौं।

 

 

【‘अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि आवास- परिवारिक कोठा’ सम्बन्धि आवेदन जानकारी】

फुकुओका शहर क्षेत्र भित्रको विश्वविद्यालय र स्नातकमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागी, अन्तर्राष्ट्रिय विद्यार्थी परिवारिक कोठामा सर्न चाहानेहरुको आवेदन लिईदैछौं।

 

सर्नको लागी विद्यार्थीको योग्यता, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको गतिविधिहरुमा सक्रिय रूपमा भाग लिन सक्ने र सहयोग गर्न सक्ने हुनुपर्छ। बस्न पाउने अवधि, बसेको मितिबाट २ बर्ष हो। यस पटकको आवेदनमा, एक्लै बस्न पनि सम्भव छ।

 

आवेदनको निर्देशनहरु आदि अधिक जानकारीको लागी, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" को होमपेजमा हेर्न वा ईमेल (dorm@fcif.or.jp) मा सम्पर्क गर्नुहोला।

2022.01.06[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【तोशिआके उडोन को परिचय】

के तपाईंहरुलाई “तोशिआके उडोन” को बारेमा थाहा छ?

नयाँ वर्षको पूर्वसन्ध्यामा खाने "तोशिकोशी सोबा" को बारेमा तपाईंहरुले शायद सुन्नु भएको छ होला, तर यो "तोशिआके उडोन" अझै पनि धेरैलाई थाहा छैन।

जापानमा उडोनको खपतलाई विस्तार गर्ने र प्रसिद्ध उडोनको पुनरुत्थान गर्ने उद्देश्यले सन् २००९ मा नयाँ वर्षदेखि यसको विकास भएको देखिन्छ।

परापूर्वकालदेखि नै उडोन मोटो र लामो भएकाले राम्रो स्वास्थ्य र दीर्घायुको कामनाका साथै यसको सेतो रंगका कारण यसलाई शुभ मानिन्दै आईरहेको छ। जनवरी महिनाको १ र १५ तारिखको बीचमा, उडोनको माथि रातो रंगको कुनै एक किसिमको खानालाई टपिंग गरी खाने खानाको रुपमा "तोशिआके उडोन" लाई लिईन्छ।

उमेबोशी, खामाबोको वा एबीको टेम्पुरासँग खान पनि जम्छ।

फुकुओका शहर रामेनका लागि प्रख्यात त छ नै, यसका साथै उडोन जापानमा पहिलो पटक चीनबाट फुकुओकामा आएको हुनाले यहाँ धेरै उडोन पसलहरू छन्। चिसो जाडोमा खाने उडोनको बेग्लै बिशेष स्वाद हुन्छ।

तपाईंहरु पनि "तोशिआके उडोन" अहिलेसम्म खानु भएको छैन भए एकचोटी खाएर हेर्नुभए कसो होला!

 

 

【नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना】

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

फुकुओका शहरमा, तेस्रो पटकको खोप शुरु भएको छ।

दोस्रो पटकको खोप लिईसक्नु भएका, १८ वर्षका वा सोभन्दा माथिका फुकुओका शहरको नागरिकहरुलाई , फुकुओका शहरले तेस्रो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाइएको छ।

 

दोस्रो पटकको खोप लिएको मिति अनुसार खोप कुपन पाउने समय फरक फरक हुन्छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

 

तसर्थ, यदि, पहिलो वा दोस्रो खोप नलिएका व्यक्तिहरुमध्ये, खोप लिन चाहनुहुन्छ भने, खोप लगाउन सकिने स्थानहरु आदिको बारेमा बुझ्न फुकुओका शहरको होमपेज वा कल सेन्टरमा बुझ्नुहोला।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श  लिन  र बुकिंग गर्न सकिने फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ । हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ