ブログ

ポッドキャスト

ポッドキャスト RSS

2023年04月

2023.04.27[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽) , DJ को Choice!(DJのオススメ)

【सिफारिस गरिएको बाहिरी स्थलहरू】

अप्रिल महिना शुरु भएको जस्तो मात्र लाग्छ तर, अर्को हप्ता त Golden week नै आई सक्यो। सामान्यतया, मे ३ देखि ५ तारिकसम्म गोल्डेन विक भएता पनि, सप्ताहन्तबाट बिदा लिएर ९ दिन जतिको लामो बिदा लिनुहुनेहरु पनि धेरै हुनुहुन्छ होला। लामो बिदामा के गर्ने, कसरी रमाइलो गरि मनाउने भनेर तपाईंहरु पनि म जस्तै योजना बनाउँदै हुनुहुन्छ होला। त्यसैले आज, फुकुओकामा गोल्डेन वीकको समय घुमघाम गर्न सुझावजन्य ३ वटा स्थलहरुको जानकारी लिएर आएकी छु।

पहिलो सुझावजन्य स्थल हो, फुकुओका शहरको चिडियाघर र वनस्पति उद्यान। फुकुओका शहरको च्युओकुमा अवस्थित, यस उद्यानमा बिभिन्न किसिमका जनावरहरु लगायत बोटबिरुवाको आनन्द लिन सक्नुहुन्छ। तेन्जिनबाट बस वा सबवेबाट जान सक्नुहुन्छ तर, धेरै हिड्न नपर्ने गरि, सबवे “याकुइन ओडोरी स्टेशन (स्योकुबुचुएन् एक्जिट)” बाट, हिडेर जान राम्रो होला।

टिकट शुल्क, वयस्कहरूको लागि ६०० येन, हाईस्कूलका विद्यार्थीहरू लागि ३०० येन, जुनियर हाई स्कूलका विद्यार्थी र त्यस मुनिकाहरुलाई निशुल्क हो। तर गोल्डेन विकको "हरियाली दिवस (मे ४ )" मा जानुभयो भने, प्रवेश निशुल्क हुन्छ।

अर्को छ, फुकुओका शहरको हिगाशी वार्डमा रहेको Uminonakamichi Seaside Park मा, मे को २१ आइतबारसम्म, आयोजना हुने “Uminonakamichi Flower Picnic” इभेन्ट ।
यहाँ लगभग ७०,००० जतिको रंगीन ट्युलिपहरु र १२ लाख जतिको निमोफिला फूलको विशाल नीलो फूल बगैचा हेर्न सक्नुहुन्छ। विशेष गरी सप्ताहन्तमा, स-परिवार रमाइलो गर्न सकिने विभिन्न कार्यक्रमहरू पनि आयोजना भईरहेको छ।
टिकट शुल्क, वयस्कहरूको लागि ४५० येन, ग्रुपमा आउनेहरुका लागि ३०० येन, जुनियर हाई स्कूलका विद्यार्थी र त्यस मुनिकाहरुलाई निशुल्क हो।

अब अन्तिम सुझावजन्य स्थल छ, सुन्दर नीलो समुद्रले घेरिएको, इतिहास महसुस गर्न सकिने हिगासी वार्डमा रहेको, "शिकानोसिमा" । टापुको प्रतीकको रुपमा चिनिने "शिकाउमी जिन्ज्या" सानो पहाडमा अवस्थित छ। मन्दिर जाने बाटोमा ताजा समुद्री खानाको स्वादको आनन्द लिन सक्नुहुन्छ त्यस्तै, किनमेलको पनि मजा लिन सक्नुहुन्छ।

शिकानोसिमाको बाहिरी परिधि करिब १२ किलोमिटर छ, यदि साइकलबाट घुम्ने हो भने करिब एक घण्टा जति मात्र लाग्छ। साइकल राम्ररी जान्नेहरुका लागि मात्र नभई, भर्खर सिकेकाहरूले पनि ढुक्क भई यसको मजा लिन सक्नुहुन्छ।
हाकाता फुतोउमा रहेको "Bayside Place Hakata" बाट, शिकानोसिमामा जाने जहाज छ, त्यसमा आफ्नो साइकल चढाएर लैजान पनि सक्नुहुन्छ। साथै, शिकानोसिमा र उमी नो नाकामिची क्षेत्रमा साइकल भाडामा पनि लिन सक्नुहुन्छ।

यस अतिरिक्त, गोल्डेन वीकमा छुटाउन नै नहुने, फुकुओकालाई प्रतिनिधित्व गर्ने, "हाकाता डोन्टाकु मिनातो महोत्सव" को छोटो जानकारी दिन गईरहेकी छु।
फुकुओकावासीहरूको पर्वको रूपमा रहेको यस महोत्सवमा, स्थानीय बासिन्दा मात्र नभई, जापान र विदेशबाट पनि पर्यटकहरू भेला हुने गर्छन्। हरेक वर्षमा २० लाख भन्दा बढी मानिसहरू यो महोत्सव हेर्न आउँछन्। ६२औँ पटकको यो महोत्सव, यस वर्ष पनि, मे ३ र ४ मा आयोजना हुन गईरहेको छ। सबै उमेरका पुरुष-महिलाहरूले स्वतन्त्र रुपमा पोशाक लगाई, काठको पन्यू बजाउदै शहरको परिक्रमा गर्ने परेड, स्थानीय रुपमा बनाईएका स्टेज र खुला ठाउँमा नृत्यको प्रस्तुति आदि जस्ता सम्पूर्ण शहरलाई जीवन्त बनाउने यो महोत्सव हो।

क्यारेक्टरहरूले सजाइएका ठूला फ्लावर गाडिहरू पनि यस महोत्सवको लोकप्रिय विशेषताहरु हुन्।
समापनको समयमा, दर्शकहरू पनि नाच र काठको पन्यू बजाउनेमा सामेल हुन सक्छन्, अनि सिंगो शहर नै उत्सवको वातावरणले भरिएको हुन्छ।

तपाईंहरु सबैको गोल्डेन वीक बिदा रमाईलो रहोस् भन्ने कामना गर्दै आजलाई यति नै!

2023.04.20[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

सबवे नानाकुमा लाइन "तेन्जिन मिनामी" देखि "हाकाता" सम्मको विस्तार खण्ड खोलियो!

विमानस्थलबाट शहरको केन्द्रको निकटता, उत्तर-दक्षिण-पूर्व-पश्चिम चल्ने रेल र सबवेहरु, अनि धेरै बस मार्गहरू आदिको सुबिधा भएको फुकुओका शहरले जापानको सबैभन्दा राम्रो यातायात पहुँचको गर्व गर्दछ। सबवेमा, तेन्जिन र हाकातालाई जोड्ने नयाँ लाइन थपिएको छ, जसले गर्दा अझ धेरै सुविधाजनक बनाएको छ!

"तेन्जिन मिनामी स्टेशन" र "हाकाता स्टेशन" बीचमा, "कुशिदा जिन्जा-माए" नामको नयाँ स्टेशन स्थापना गरिएको छ। बिशाल व्यावसायिक सुविधा "Canal City Hakata" सम्म पुग्न अहिले सम्म, नजिकैको सबवे स्टेशनबाट पैदल हिँड्दा ८-१० मिनेट लाग्थ्यो, तर अब लगभग २-३मिनेटमा पुग्न सकिने भएको छ! 

वसन्तको घमाइलो मौसममा, सार्वजनिक यातायातको कुशलतापूर्वक प्रयोग गरेर, पक्कै पनि, तपाईहरु पनि फुकुओका शहरको आकर्षण गन्तव्यहरु धेरैभन्दा धेरै खोज्दै, घुमघाम गरेर हेर्दा कसो होला!

 

 

फुकुओका शहरको सूचना

साईकल चलाउने नियम सम्बन्धि सूचना

प्रायःजसो दैनिक रुपमा साईकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।

के तपाईंहरुलाई साईकल चलाउने तरिका र नियमको बारेमा थाहा छ?

जापानमा नियम अनुसार साईकल, मोटर-बाटोको बायाँ पट्टिबाट चलाउनु पर्छ।

सडक-पेटीमा पैदल यात्रीलाई प्राथमिकता दिनुपर्छ। सडक-पेटीबाट चलाउँदा मोटर-बाटो पट्टिको साइड भएर बिस्तारै चलाउने गरौं।  

साइकल चलाउने सबैले हेलमेट लगाउने गरौं।

राति नबिर्सिकन लाइट बाल्ने गरौं।

दुई जना चढ्ने र समानान्तर रूपमा सँगसँगै साईकल चलाउन निषेध भएकोले त्यस्तो कार्य नगरौं।

साथै, साईकलको हकमा पनि मादक पदार्थ सेवन गरी नचलाऔं।

छाता ओढेर चलाउने, मोबाइल फोन वा हेड फोन प्रयोग गरेर साईकल चलाउने गर्दा, दुर्घटनाको खतरा हुने भएकोले यस्ता कार्यहरु नगरौं।

साईकल पार्किंग गर्दा तोकिएको पार्किंग स्थलमा पार्क गर्ने गरौं।

साइकल पार्किङस्थल बाहेक सडक वा पार्कमा पार्किङ गरिएका साइकलहरू पैदल यात्रुलाई बाधा वा अवरोध हुने भएकाले अवैध रूपमा पार्किङ गरिएका साइकलहरुलाई उठाएर लैजाने नियम छ।

फुकुओका शहरमा, यसरी उठाएर लगेका साइकल फिर्ता लिन २,५०० येन तिर्नु पर्छ, यदि निश्चित समय भित्र दावी गरेन भने, यसलाई खारेज गरिन्छ।

व्यावसायिक सुविधा र स्टेशन वरपर छोटो समयको प्रयोजनका लागि नि:शुल्क पार्किङ क्षेत्रहरू पनि हुने भएकोले अवश्य प्रयोग गरेर हेरौं।

यस अतिरिक्त, फुकुओका शहरमा साईकल चालकहरूले साईकल बीमामा अनिवार्य सामेल हुनुपर्छ। साईकल दुर्घटना भयो भने, तपाईंले दुर्घटनामा परेको व्यक्तिलाई धेरै पैसा तिर्नुपर्ने हुन्छ।

तर, यदि तपाईंसँग साइकल बीमा छ भने, उदाहरणका लागि, तपाईं साइकल चलाउँदै गर्दा, यदि कसैलाई चोटपटक लाग्न गएमा, तपाईंको पक्षबाट औषधि उपचारको लागि भुक्तानी गरि दिन्छ।

हुन सक्ने दुर्घटनाको क्षतिपुर्तीबाट बच्न, साइकल बीमा लिऔं।

साइकल पर्यावरण अनुकूल र सुविधाजनक सवारी साधन हो। यसलाई चलाउँदा नियम तथा आचरणको पालन गर्ने गरौं।

2023.04.13[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

फुकुओका शहरको बारेमा

यो वसन्तमा, फुकुओका शहरमा नयाँ जीवनयापन गर्न लागेका धेरैजना हुनुहुन्छ होला, त्यसैले आजको कार्यक्रममा फुकुओका शहरको बारेमा छोटो परिचय दिन चाहन्छु।

फुकुओका शहर, "एसियाको प्रवेशद्वार" को रूपमा, धेरै अन्तर्राष्ट्रिय उडानको सेवा भएको, 

क्युशुको राजनीति, अर्थव्यवस्था, संस्कृति र फेसनको केन्द्रको रूपमा समृद्ध भई अत्यन्तै स्फूर्त शहर हो।

१६ लाख भन्दा बढी जनसंख्या भएको, स्वदेशी र विदेशी दुवै क्षेत्रबाट धेरै आप्रवासीहरू भएको जसमा हाल यहाँ ४० हजार विदेशी बसोबास गरिरहेका छन् ।

यातायातको राम्रो सुविधा, जापानको उत्कृष्ट याताई, खाद्य संस्कृतिको उच्च गुणस्तरको अतिरिक्त, किनमेल सुविधाहरू पनि प्रशस्तै भई, शहरी पूर्वाधारहरू कम्प्याक्ट रूपमा ब्यबस्थित छन्।

साथै, समुद्र र पहाडले घेरिएको, धेरै पार्कहरू भएको, शहर र प्रकृतिको मेल पनि आकर्षित भएकोले, यहाँ बस्न धेरै सुविधाजनक र आरामदायी छ!

हावापानी राम्रो हुने यस मौसममा, तपाईहरु पनि पक्कै पनि बिदाको दिनमा शहर वरिपरि हिड्डुल गरेर आनन्द लिनुहोस्।

 

 

फुकुओका शहरको सूचना

फोहर फाल्ने नियम सम्बन्धी

फुकुओकामा नयाँ जीवनयापन शुरु गर्नुहुने धेरै संख्यामा हुनुहुन्छ होला।

यसपटक, फोहर फाल्ने नियम सम्बन्धी सूचना रहेको छ।

फुकुओकामा फोहरलाई तीन किसिममा विभाजन गरी फाल्ने गरिन्छ।

जल्ने फोहर, खाली सिसाको बोतल/प्लास्टिकको बोतल, अनि नजल्ने फोहर गरी ३ किसिमका हुन्छन्।

कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहर फाल्ने गर्नुहोस्।

जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला हो।

कच्चा फोहर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्।

खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्नुहोस्।

खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला प्रयोग गर्नुहोस्।

बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ।  

जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १पटक संकलन हुन्छ।

फोहर मध्यरात संकलन हुनेभएकोले अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्नुहोस।

फुकुओका शहरको आधिकारिक LINE ID मा Friend add गरेर, तपाईंको ठेगाना राख्नु भयो भने, LINE बाट फोहर फाल्ने दिनको बारेमा जानकारी उपलब्ध गराईन्छ।

फाल्न चाहनुभएको फोहरको नाम राख्नुभयो भने, फोहरको किसिम पनि जान्न मिल्ने भएकोले यो एकदम उपयोगी छ।

एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्।

ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गरेर  संकलन गराउन सक्नुहुन्छ।

कृपया शुल्क, फोहर फाल्ने ठाउँ, मिति, इत्यादि जाँच गरेर फोहर बाहिर राख्नुहोस्।

फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, 

०९२-७३१-११५३ । दोभाषे सेन्टर मार्फत् १८ वटा भाषाहरुमा यो सेवा उपलब्ध हुँदै आइरहेको छ।

यस अतिरिक्त, QR कोड इस्क्यान् गर्नुभयो भने, १० वटा भाषाहरुमा, फोहर फाल्ने नियमहरू जानकारी दिने सेवा पनि उपलब्ध छ। फुकुओका शहरको होमपेजमा हेर्नुहोला।

2023.04.06[Thu] 09:00

समुदाय(コミュニティ) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【नयाँ जीवनको लागि सल्लाह】
वर्ष २०२० को अप्रिलमा शुरु भएको यो कार्यक्रम “Life in Fukuoka”, यो हप्ताबाट चौथों वर्षमा प्रवेश गरेको छ। कार्यक्रम सुनि दिनुहुने सम्पूर्ण श्रोताजनहरुलाई धेरै धेरै धन्यवाद! चौथों वर्षमा प्रवेश भएपछिको आजको पहिलो कार्यक्रममा, मेरो छोटकरीमा परिचय दिन गईरहेकी छु। मेरो नाम सरिता महर्जन हो, नेपालको काठमाडौँबाट।
फुकुओका आएको ८ बर्ष भयो। Kyushu University बाट Architecture & Urban Planning मा PhD सकेर, Professional Architect को रुपमा, जापानी डिजाईन् कम्पनीमा काम गर्दैछु। सँगसँगै, Love FM मा DJ को पनि काम गर्दैछु।
मलाई पुरानो जापानी शैलीको भवनहरुको अध्ययनको साथै आधुनिक शैलीका घरहरु डिजाईन् गर्न मनपर्छ। जापानी खाना मलाई असाध्यै मनपर्छ, विशेष गरि फुकुओकाको तोन्कोचु रामेन र ओडेन मनपर्छ। फुकुओकामा, Dazaifu र Ohari Park चै मलाई घुम्न र फुर्सदको समय बिताउन मनपर्ने ठाउँहरु हुन्।
जापानमा अप्रिल महिनालाई, नयाँ भर्ना हुने वा नयाँ रोजगार शुरु गर्ने आदि जस्ता नयाँ जीवनयापन शुरु हुने महत्वपूर्ण महिनाको रुपमा लिईन्छ। तपाईंहरु पनि जीवनको नयाँ अध्यायको लागि प्राप्त गर्न सकिने लक्ष्यहरू सेट गर्नुहोस् र तिनीहरूतर्फ कसरी काम गर्ने भन्ने योजना बनाउनुहोस्। सफल अनि स्वस्थ वर्ष सुनिश्चित गर्नका लागि आत्म-हेरचाहलाई पनि प्राथमिकता दिनुहोस्।

 

【फुकुओका शहरको सूचना】

विदेशीहरूले परामर्श लिन सकिने काउन्टरको परिचय

यो फुकुओका शहरको सूचना हो।
नयाँ जीवनमा कुनै समस्या वा नबुझेको कुरा छ कि?

Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धि परामर्श कहाँ लिने भनेर थाहा नभएको समयमा, उपयुक्त सम्पर्क काउन्टर तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।

फोन नम्बर, ०१२०-६६-१७९९ ।
सम्पर्क समय ९:०० देखि ६:०० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
यो सेवा २१ वटा भाषाहरूमा उपलब्ध छ।

साथै, राष्ट्रिय स्वास्थ्य बीमा, फोहोर, कर, आदि जस्ता फुकुओका शहरका प्रक्रियाहरूको बारेमा बुझ्नु परेमा, दोभाषे सेन्टरमा कल गरेर, आफू बस्ने वार्डमा सम्पर्क गरि परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७५३-६११३ । १८ वटा भाषाहरूमा सेवा उपलब्ध छ।

 

「भियतनाम फेस्टिवल २०२३ फुकुओका」 को आयोजना सम्बन्धि

जापान र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा, अप्रिल १५ र १६ मा, फुकुओका तेन्जिन सेन्ट्रल पार्कमा, "भियतनाम फेस्टिवल २०२३ फुकुओका" आयोजना हुन गईरहेको छ।

कार्यक्रममा, भियतनामी POP कलाकारहरूद्वारा लाईभ, परम्परागत नृत्य अनि आओदाई शो, आदि स्टेज कार्यक्रमहरू बाहेक भियतनामी खाना आदि खाने र पिउने बूथहरू पनि राखिने भएको छ।
आयोजना हुने दिन र समय, १५ तारिक बिहान १०:०० बजेदेखि २०:०० बजेसम्म, १६ तारिक बिहान १०:०० बजेदेखि १९:०० बजेसम्म।
पानी परे पनि कार्यक्रम जारी रहनेछ, तर आँधीबेहरी मौसम भएमा रद्द गरिनेछ।
प्रवेश नि:शुल्क भएकोले बिना हिचकिचाई हेर्न जानुहोला।

बिस्तृत जानकारीका लागि, "भियतनाम फेस्टिवल २०२३ फुकुओका" भनि खोज्नुहोस्।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ