福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2023.04.27[Thu] 09:00
कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽) , DJ को Choice!(DJのオススメ)
【सिफारिस गरिएको बाहिरी स्थलहरू】
अप्रिल महिना शुरु भएको जस्तो मात्र लाग्छ तर, अर्को हप्ता त Golden week नै आई सक्यो। सामान्यतया, मे ३ देखि ५ तारिकसम्म गोल्डेन विक भएता पनि, सप्ताहन्तबाट बिदा लिएर ९ दिन जतिको लामो बिदा लिनुहुनेहरु पनि धेरै हुनुहुन्छ होला। लामो बिदामा के गर्ने, कसरी रमाइलो गरि मनाउने भनेर तपाईंहरु पनि म जस्तै योजना बनाउँदै हुनुहुन्छ होला। त्यसैले आज, फुकुओकामा गोल्डेन वीकको समय घुमघाम गर्न सुझावजन्य ३ वटा स्थलहरुको जानकारी लिएर आएकी छु।
पहिलो सुझावजन्य स्थल हो, फुकुओका शहरको चिडियाघर र वनस्पति उद्यान। फुकुओका शहरको च्युओकुमा अवस्थित, यस उद्यानमा बिभिन्न किसिमका जनावरहरु लगायत बोटबिरुवाको आनन्द लिन सक्नुहुन्छ। तेन्जिनबाट बस वा सबवेबाट जान सक्नुहुन्छ तर, धेरै हिड्न नपर्ने गरि, सबवे “याकुइन ओडोरी स्टेशन (स्योकुबुचुएन् एक्जिट)” बाट, हिडेर जान राम्रो होला।
टिकट शुल्क, वयस्कहरूको लागि ६०० येन, हाईस्कूलका विद्यार्थीहरू लागि ३०० येन, जुनियर हाई स्कूलका विद्यार्थी र त्यस मुनिकाहरुलाई निशुल्क हो। तर गोल्डेन विकको "हरियाली दिवस (मे ४ )" मा जानुभयो भने, प्रवेश निशुल्क हुन्छ।
अर्को छ, फुकुओका शहरको हिगाशी वार्डमा रहेको Uminonakamichi Seaside Park मा, मे को २१ आइतबारसम्म, आयोजना हुने “Uminonakamichi Flower Picnic” इभेन्ट ।
यहाँ लगभग ७०,००० जतिको रंगीन ट्युलिपहरु र १२ लाख जतिको निमोफिला फूलको विशाल नीलो फूल बगैचा हेर्न सक्नुहुन्छ। विशेष गरी सप्ताहन्तमा, स-परिवार रमाइलो गर्न सकिने विभिन्न कार्यक्रमहरू पनि आयोजना भईरहेको छ।
टिकट शुल्क, वयस्कहरूको लागि ४५० येन, ग्रुपमा आउनेहरुका लागि ३०० येन, जुनियर हाई स्कूलका विद्यार्थी र त्यस मुनिकाहरुलाई निशुल्क हो।
अब अन्तिम सुझावजन्य स्थल छ, सुन्दर नीलो समुद्रले घेरिएको, इतिहास महसुस गर्न सकिने हिगासी वार्डमा रहेको, "शिकानोसिमा" । टापुको प्रतीकको रुपमा चिनिने "शिकाउमी जिन्ज्या" सानो पहाडमा अवस्थित छ। मन्दिर जाने बाटोमा ताजा समुद्री खानाको स्वादको आनन्द लिन सक्नुहुन्छ त्यस्तै, किनमेलको पनि मजा लिन सक्नुहुन्छ।
शिकानोसिमाको बाहिरी परिधि करिब १२ किलोमिटर छ, यदि साइकलबाट घुम्ने हो भने करिब एक घण्टा जति मात्र लाग्छ। साइकल राम्ररी जान्नेहरुका लागि मात्र नभई, भर्खर सिकेकाहरूले पनि ढुक्क भई यसको मजा लिन सक्नुहुन्छ।
हाकाता फुतोउमा रहेको "Bayside Place Hakata" बाट, शिकानोसिमामा जाने जहाज छ, त्यसमा आफ्नो साइकल चढाएर लैजान पनि सक्नुहुन्छ। साथै, शिकानोसिमा र उमी नो नाकामिची क्षेत्रमा साइकल भाडामा पनि लिन सक्नुहुन्छ।
यस अतिरिक्त, गोल्डेन वीकमा छुटाउन नै नहुने, फुकुओकालाई प्रतिनिधित्व गर्ने, "हाकाता डोन्टाकु मिनातो महोत्सव" को छोटो जानकारी दिन गईरहेकी छु।
फुकुओकावासीहरूको पर्वको रूपमा रहेको यस महोत्सवमा, स्थानीय बासिन्दा मात्र नभई, जापान र विदेशबाट पनि पर्यटकहरू भेला हुने गर्छन्। हरेक वर्षमा २० लाख भन्दा बढी मानिसहरू यो महोत्सव हेर्न आउँछन्। ६२औँ पटकको यो महोत्सव, यस वर्ष पनि, मे ३ र ४ मा आयोजना हुन गईरहेको छ। सबै उमेरका पुरुष-महिलाहरूले स्वतन्त्र रुपमा पोशाक लगाई, काठको पन्यू बजाउदै शहरको परिक्रमा गर्ने परेड, स्थानीय रुपमा बनाईएका स्टेज र खुला ठाउँमा नृत्यको प्रस्तुति आदि जस्ता सम्पूर्ण शहरलाई जीवन्त बनाउने यो महोत्सव हो।
क्यारेक्टरहरूले सजाइएका ठूला फ्लावर गाडिहरू पनि यस महोत्सवको लोकप्रिय विशेषताहरु हुन्।
समापनको समयमा, दर्शकहरू पनि नाच र काठको पन्यू बजाउनेमा सामेल हुन सक्छन्, अनि सिंगो शहर नै उत्सवको वातावरणले भरिएको हुन्छ।
तपाईंहरु सबैको गोल्डेन वीक बिदा रमाईलो रहोस् भन्ने कामना गर्दै आजलाई यति नै!