ブログ

ポッドキャスト

ポッドキャスト RSS

2023.10.05[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【नयाँ चामल】

अक्टोबरमा प्रवेश गरे लगत्तै गर्मी अलि कम हुन थालेको छ। यस मौसममा, जापानमा प्रायः अन्न, चामल, फलफूल आदि सम्बन्धि अभिव्यक्तिहरु जस्तै "फसलको मौसम, "भोक लाग्ने मौसम" आदिको रूपमा व्यक्त गर्ने गरिन्छ। के तपाईंहरुले यी अभिव्यक्तिहरू पहिले सुन्नुभएको छ?

त्यसैले आज,  "नयाँ चामल (新米, shinmai)," को जानकारी छ। "नयाँ चामल" ले शरद ऋतुमा काटिएको धानलाई बुझाउँछ र सोही वर्षको डिसेम्बर ३१ सम्ममा प्रशोधन गरी प्याकेज गरिन्छ। नयाँ चामल मोटो बनावट र अति स्वादिलो हुन्छ।

फुकुओकामा स्थानीय रूपमा उब्जाइएको धानका धेरै स्वादिष्ट प्रजातिहरू छन्। फुकुओका सहरमा, विशेष गरी निशी-कु, सावारा-कु र हिगाशी-कुका प्रकृति-सम्पन्न क्षेत्रहरूमा, सुरक्षित, वातावरणमैत्री खेती अभ्यासहरूमा ध्यान केन्द्रित गर्दै धान खेती गरिंदै आईरहेको छ।

मुख्य प्रजातिहरू मध्ये क्युशुको प्रतिनिधित्व गर्ने चामल "हिनोहिकारी" हो, जुन समान आकार भई लचिलोपना भई, जुनसुकै परिकारमा पनि जम्छ। अन्य चामलहरु जस्तै, अलि गुलियो सानो बनावट भएको "युमेचुकुशी"चामल, लचिलो तर नटासिने "मिनोरिचुकुशी" चामल, र  चिसो हुँदा पनि स्वादिष्ट, ओनिगिरी र बेन्टोको लागि उपयुक्त फुकुओकाको मौलिक चामल "गेनकिचुकुशी आदि बिभिन्न किसिमका पाइन्छन्।

शरद ऋतुको स्वाद मानिने सखरखण्ड, चेस्टनट, च्याउ, आदि मिसाएर बनाइएको परिकार, "ताकीकोमी गोहान्" पनि स्वादिष्ट हुन्छ।

तपाईंहरु पनि, फुकुओकाको स्वादिष्ट चामलको भातको साथ शरद ऋतुको मजा लिनुहोस्!

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको शरदको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

वर्ष २०२३ मा पनि नयाँ कोरोना भाइरस विरुद्धको खोप निशुल्क लगाउन सक्नुहुन्छ। ईच्छुक सम्पूर्ण व्यक्तिहरुले, आजकल फैलिरहेको ओमिक्रोन भेरियन्ट (XBB.1.5) विरुद्ध प्रभावकारी खोप लिन सक्नुहुन्छ। छ महिना वा सोभन्दा माथिका सबैले ओमिक्रोन भेरियन्ट (XBB.1.5) विरुद्ध प्रभावकारी एक-डोज खोप प्राप्त गर्न सक्नुहुन्छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिन्छ।

पहिले प्राप्त गर्नुभएका तर प्रयोग नगरिएका खोप टिकटहरू प्रयोग गर्न सक्नुहुन्छ।

खोप कुपन हराएका वा प्राप्त नभएका महानुभावहरुले, पुन: जारीको लागि आवेदन दिन कृपया कल सेन्टरमा फोन गर्नुहोस्।

विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,

खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न, सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

नेपाली, अंग्रेजी, चाइनिज आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

 

नागरिकहरूको लागि Asian-Pacific City Summit PR Event (आउनुहोस् ! SDGs र एशिया प्यासिफिक बारे रमाइलोसँग सिक्नुहोस्!

 

 

अक्टोबर ७ शनिबारको दिन, "Environmental Festival Fukuoka 2022" आयोजना हुन गईरहेको छ। २० औं पटकको यस वर्षको महोत्सव, सोलारिया प्लाजाको पहिलो तल्ला, फुकुओका मिचुकोशी लायन स्क्वायर, र केइगो पार्क गरि तीन स्थानहरूमा आयोजना हुनेछन्। यी मध्ये, फुकुओका मिचुकोशी लायन स्क्वायरमा, “आउनुहोस् ! SDGs र एशिया प्यासिफिक बारे रमाइलोसँग सिक्नुहोस्!” भन्ने बिषयमा, एसिया-प्रशान्त क्षेत्रका बालबालिकाहरूद्वारा बनाईएका चित्रहरूको प्रदर्शनी, अंग्रेजी समावेश क्विजहरू, डिजिटल टेक्नोलोजी प्रयोग गरेका टच-स्क्रिन खेलहरू मार्फत SDGs बारे सिक्न अनि रमाईलो गर्न सकिने कार्यक्रमहरु हुनेछन्। यस कार्यक्रममा भाग लिनको लागि कुनै अग्रिम दर्ता आवश्यक छैन।

थप विवरणहरूको लागि, कृपया " Environmental Festival Fukuoka " वा "Asian-Pacific City Summit" भनि खोजेर वेबसाइटहरूमा हेर्नुहोला।

2023.09.28[Thu] 09:00

अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【सेप्टेम्बर ३० - अन्तर्राष्ट्रिय अनुवाद दिवस】

यो हप्ताको शनिबार, सेप्टेम्बर ३०, "अन्तर्राष्ट्रिय अनुवाद दिवस" को रूपमा चिनिन्छ।

एक भाषाबाट अर्को भाषामा अनुवाद गर्न व्यावसायिकता, उचित व्याख्या र शब्दावलीको प्रयोग हुनु आवश्यक छ । अन्तर्राष्ट्रिय समुदायलाई एकतावद्ध गर्न, संवाद तथा छलफललाई सहजीकरण गर्न, विकास तथा विश्व शान्ति र सुरक्षा प्रवद्र्धन गर्न भाषा अनुवादक तथा भाषाविज्ञको महत्वपूर्ण योगदान हुने भएकाले उनीहरुको सम्मानमा दिवस मनाउन थालिएको हो ।

जापानको जीवनयापनमा भाषाको अनुवाद गरेर सहज महसुस गर्नुहुनेहरु धेरै हुनुहुन्छ होला। आजकल, सजिलो र सुविधाजनक निशुल्क मोबाइल अनुवाद app हरू थुप्रै छन्। म पनि दैनिक रुपमा भाषा अनुवादको लागि मोबाइल app हरु चलाउने गर्छु। तपाईहरु पनि फुकुओकाको जानकारीहरुका लागि, जापानिजहरूसँग अन्तरक्रिया गर्न आदि बिभिन्न अवसरमा अनुवाद app प्रयोग गरि फुकुओकाको जीवनयापन आनन्दमयी बनाऔं।

 

 

【ओमुचु तो आन्सिन् तेइकिबिन्】

 फुकुओका शहरमा, ० देखि २ वर्षसम्मका बालबालिकाहरु हुर्काउने परिवारहरुका लागि おむつと安心定期便 (ओमुचु तो आन्सिन् तेइकिबिन्) नामक नयाँ सेवा सुरु गरिएको छ। यो सेवाले बाल हेरचाहका लागि डायपर जस्ता अन्य आवश्यक सामानहरु नियमित रुपमा प्रदान गर्दछ।

फुकुओका शहरमा बाल हेरचाह-सम्बन्धित सुविधाहरू र सेवाहरू प्रयोग गर्नुभयो भने, एउटा इलेक्ट्रोनिक स्ट्याम्प प्राप्त गर्नुहुनेछ, जसबाट डायपर, बेबी वाइप, बेबी फूड, पाउडर दूध र बेबी क्रिमहरु आदि जस्ता लगभग २०० प्रकारका सामानहरुबाट हरेक महिना २,००० येन मूल्य बराबरको सामानहरू साट्न सक्नुहुन्छ।

इलेक्ट्रोनिक स्ट्याम्पहरू प्राप्त गर्न, यस सेवाको लागि दर्ता गर्न आवश्यक छ।

यस सेवाको लागि योग्य घरपरिवारहरूलाई उपयोग निर्देशनहरू पठाइएको हुनाले कृपया सम्बन्धित वेबसाइटमा यस सेवाको प्रयोगको लागि दर्ता गर्नुहोस्।

शिशु स्याहारमा बच्चा राख्नु भएका परिवारहरुले इलेक्ट्रोनिक स्ट्याम्पहरू त्यहि नै प्राप्त गर्न सक्नुहुन्छ। त्यस्तै, कोदोमो प्लाजा र बाल हेरचाह एक्सचेन्ज सैलून जस्ता ठाउँहरूमा इलेक्ट्रोनिक स्ट्याम्पहरू प्राप्त गर्न सक्नुहुन्छ। अवश्य पनि यस सेवाको प्रयोग गर्नुहोस्!

थप विवरणहरूको लागि, कृपया "おむつと安心定期便 (ओमुचु तो आन्सिन् तेइकिबिन्)" भनि खोज्नुहोस्। नेपाली लगायत अंग्रेजी, चाइनिज, कोरियाली, र भियतनामी भाषाहरुमा जानकारीहरु राखिएका छन्!

2023.09.21[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【जापानको शरद ऋतु】

सेप्टेम्बर २३ मा जापानको छुट्टिहरू मध्ये एक , " Autumn Equinox Day " पर्छ। यसलाई "कृतज्ञता व्यक्त गर्ने र पुर्खाहरूप्रति सम्मान चढाउने" दिनको रूपमा तोकिएको छ साथै, यसलाई "दिन र रात बराबर हुने दिन" भनेर पनि चिनिन्छ। यो अनौठो छुट्टी प्रत्येक वर्ष सेप्टेम्बर २२ वा २३ तारिखमा पर्दछ, जुन सूर्यले भूमध्य रेखा पार गरेको दिनमा निर्भर गर्दछ।

यस वर्षको ‘च्युउस्युउ नो मेईगेचु’ अर्थात् ‘मध्य शरदको चन्द्रमा’, सेप्टेम्बर २९ बिहिबारमा देखा पर्नेछ। ‘च्युउस्युउ नो मेईगेचु’ भन्नाले बर्षभरिमा सबैभन्दा सुन्दर चन्द्रमा हो। जापानमा परापूर्वकालदेखि यसलाई हेर्ने परम्परा छ।

जापानमा सेप्टेम्बर महिना भन्नाले ग्रीष्म ऋतुबाट शरद ऋतुमा प्रवेश हुनु हो। गर्मी कम हुन थाल्छ, मौसम रमाइलो बन्दै आउँछ। जापानमा शरद ऋतुलाई प्रायः "फसलको मौसम" र "भोक लाग्ने मौसम" भनेर चिनिन्छ। भनिन्छ कि, गर्मीको कारण हराएको भोक पुर्न जागेर आउने र त्यस्तै बजारमा पनि धेरै स्वादिष्ट मौसमी खानेकुराहरु पाईने भएकोले शरदमा धेरै भोक लाग्छ रे।

तपाईंहरु पनि शरदको मौसमी खानाहरु तथा मौसमी फूलहरुको भरपूर आनन्द लिनुहोला!

 

 

【फुकुओका शहरको सूचना】

क्षयरोग रोकथाम सप्ताहको बारेमा

 

 

सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।

क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा जलन हुन्छ।

यो एक सरुवा रोग हो।

२०२२ मा, फुकुओका शहरमा १४३ नयाँ क्षयरोग बिरामीहरु पाईएका थिए।

क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, खकारमा रगत, छाती दुख्ने, अस्वस्थता, राती पसिना, र तौल घट्नु आदि समावेश छन्। शुरुका लक्षणहरू रुघाको जस्तै देखिन्छन्।

"खोकी २ हप्ता भन्दा बढि रहेमा", "खकार निस्केमा", "शरीर गलेमा", "अचानक तौल घटेमा" आदि केहि लक्षणहरु देखा परेमा, तुरुन्तै चिकित्सालयमा परामर्श लिनुहोस्।

प्रारम्भिक पहिचान र उपचारले रोगलाई गम्भीर हुनबाट बचाउने मात्र नभई, परिवारका सदस्य, साथीभाई र कार्यस्थल आदिमा संक्रमण रोकथाम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। 

क्षयरोग, सँधै संक्रमित भएको कारणले मात्र विकसित हुँदैन।

यदि शरीरको प्रतिरोधात्मक क्षमताले क्षयरोग ब्याक्टेरियालाई नियन्त्रण गर्न सकेन भने,

यो समयसँगै बढ्न र विकास हुन सक्छ।

संक्रमण र रोग रोक्नको लागि पर्याप्त निद्रा, सन्तुलित आहार, मध्यम व्यायाम, आदि दैनिक स्वास्थ्य हेरचाह प्रभावकारी हुन्छ। साथै, क्षयरोग लागि हाल्यो भने पनि, डाक्टरको निर्देशन अनुसार, हरेक दिन उचित औषधी सेवन गरी यसबाट छुटकारा पाउन सक्नुहुन्छ।

फुकुओका शहरमा, Fukuoka City Medical Interpreting Call Center छ, त्यहाँ अस्पताल खोज्नको लागि फोन मार्फत सल्लाह लिन सक्नुहुन्छ।

फोन नम्बर रहेको छ, ०९२-७३३-५४२९ ।

२० भाषाहरुमा यो सेवा उपलब्ध भएकोले, अप्ठ्यारो पर्दा अवश्य पनि परामर्श लिनु होला।

2023.09.14[Thu] 09:00

अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【NAKASU JAZZ】

यस सप्ताहन्तमा, फुकुओका शहर हाकाता वार्डको नाकासुमा, नि:शुल्क ज्याज फेस्टिवल "NAKASU JAZZ" आयोजना हुन गईरहेको छ। यो फेस्टिवल फुकुओकाको शरद ऋतु परम्पराहरू मध्ये एक हो। दुई दिनको यस फेस्टिवलमा, नाकासुको सडकहरूमा स्टेजहरू ठडिएका अनि रोमान्चक कलाकारहरूको प्रत्यक्ष प्रदर्शनहरुले सडकहरू भरिएका देख्न सक्नुहुन्छ। नाकासु भनेपछि नाइट लाईफ, अनि स्यालरीमेन र पर्यटकहरु धेरै आउने ठाउँको रुपमा चिन्ने धेरै हुनुहुन्छ होला तर, सबै उमेरका व्यक्तिहरुले यहाँ आएर रमाइलो गर्न सक्ने सुरक्षित वातावरण बनाउने स्थानीय बासिन्दाको चाहनाबाट यो फेस्टिवलको शुरुवात भएको हो। ज्याज प्रेमीहरू लगायत ज्याज थाहा नभएकाहरुले पनि यसको मनोरञ्जन लिन सक्छन्। सबै स्टेजहरु नि:शुल्क हेर्न पाउने नै यस उत्सवको आकर्षणहरुमध्ये एक हो। समय मिलाएर तपाईहरु पनि प्रेम र जोशले भरिपूर्ण "NAKASU JAZZ" को आनन्ददायी संगीतमा झुम्नु भए कसो होला!

 

【फुकुओका शहरको सूचना】

“कानूनी परामर्शर मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्शको परिचय”

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।

 “कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट, बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी 

अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

बुकिंग, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म स्वीकार गरिन्छ। विस्तृत जानकारीका लागि, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोला।

2023.09.07[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【होज्योया】

फुकुओकाका तीन प्रमुख चाडहरू मध्ये एक हो, "होज्योया"। तपाईंहरु यस चाडमा जानु भएको छ कि छैन?

फुकुओका शहरको हिगाशी वार्डमा अवस्थित हाकोजाकी तीर्थस्थलमा, सेप्टेम्बर १२ देखि १८ तारिखसम्म ७ दिन ७ रातसम्म मनाइने, एक हजार वर्षदेखि चलिआएको यो शरद ऋतुको चाडपर्व हो।

यस चाडमा बाँच्नको लागि प्राप्त गरेको जीवनको लागि प्रार्थना र कृतज्ञता व्यक्त गरिन्छ। साथै, "सफल व्यवसाय" र "पारिवारिक सुरक्षा" को लागि प्रार्थना गर्ने दर्शनार्थीहरु धेरै हुन्छन्। लगभग १ किलोमिटरको बाटोमा, खानाका स्टलहरू, भूत बंगला, सुटिङ ग्यालरी, यो-यो फिशिङ बुथ सहित लगभग ५००  स्टलहरू हुनेछन्, जसले गर्दा एक जीवन्त चाडपर्वको वातावरणको महसुस गर्न सक्नुहुन्छ। बिशेष गरि, हरियो पात भएको नयाँ अदुवा र "याकिमोची" भनिने परम्परागत मिठाई बेच्न राखेका हुन्छन्। यस बाहेक, जापानी ड्रम आदिको सांगीतिक कार्यक्रम र "च्यान्पोन्" भनिने विशेष कांचको सामग्रीहरुको प्रदर्शनी पनि रहनेछ। समय मिलाएर तपाईहरु पनि जापानी संस्कृति र जापानी चाडपर्वको मनोरञ्जन लिएर हेर्नुभए कसो होला!

 

 

【फुकुओका शहरको सूचना】

Fukuoka Prize को बारेमा

फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्‍याउने व्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ। यस वर्षको ३३औँ Fukuoka Prize का विजेताहरुमा,

The Grand Prize को विजेतामा, इतिहासविद Thongchai WINICHAKUL,

The Academic Prize मा, राजनीतिविद् र दक्षिण पूर्बी एशियाली अनुसन्धानविद् Khatharya UM

The Arts and Culture Prize मा, चलचित्र निर्देशक ZHANG Lu छनोट भएका छन्।

पुरस्कार समारोह सेप्टेम्बर १२ (मंगलबार) र त्यसपछि सेप्टेम्बर १३ (बुधवार) देखि सेप्टेम्बर १५ (शुक्रबार) सम्म नागरिक मञ्च आयोजना हुनेछ। १३ गते (बुधवार), कला र संस्कृति पुरस्कार बिजेता, चलचित्र निर्देशक ZHANG Lu को लेक्चर; १४ (बिहीबार) मा, राजनीतिविद् र दक्षिण पूर्बी एशियाली अनुसन्धानविद् Khatharya UM को लेक्चर, त्यस्तै १५ तारिक (शुक्रबार) The Grand Prize विजेता Thongchai WINICHAKUL को लेक्चर हुनेछन्।

सबैमा निःशुल्क सहभागी हुनसक्नुहुन्छ साथै, पछि अनलाइनमा रेकर्ड गरिएको संग्रह हेर्न सक्नुहुन्छ। प्रत्येक नागरिक मञ्चको रेकर्ड हेर्न सकिने अवधि अक्टोबर २ (सोमबार) देखि अक्टोबर ३१ (मंगलबार) सम्म हो। फोरममा सहभागिताका लागि सेप्टेम्बर १६ (शनिबार) सम्म दर्ता गर्नुहोस्।

कार्यक्रमको बिस्तृत जानकारीका लागि, कृपया "福岡アジア文化賞" वा " Fukuoka Prize " भनि खोजी, Fukuoka Prize को आधिकारिक होमपेजको इभेन्ट पेजमा हेर्नुहोला।

2023.08.31[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽) , प्राकृतिक प्रकोप(災害)

【Sunset Live】

यस सप्ताहन्तमा, फुकुओकामा ग्रीष्मको अन्त्यको उत्कृष्ट कार्यक्रम, "सनसेट लाइभ" हुन गईरहेको छ। समुन्द्रि तटमा आयोजना हुने, यो एक भब्य आउटडोर संगीत महोत्सव हो। अगाडि समुन्द्रको साथ, बलौटे समुन्द्रि किनारमा, जंगलको बिचमा, र क्याम्पिङ मैदानहरूमा बनाईएका स्टेजमा विभिन्न विधाका उत्कृष्ट कलाकारहरूको लाइनअप प्रस्तुतहरु हुनेछन्। फुकुओकाका रेस्टुरेन्टहरुको खानेकुरा र पेय पदार्थको स्टलहरू धेरै हुने भएकोले संगीतका साथसाथै खानपानको पनि आनन्द लिन सक्नुहुन्छ। यसबाहेक, महोत्सवले प्रकृतिको रक्षाको लागि वातावरण मैत्री गतिविधिहरूलाई प्रोत्साहन गरेको छ।

आयोजना स्थलमा थुप्रै कलाकृतिहरु प्रदर्शन हुनुका साथै प्रतक्ष्य पेन्ट आर्ट पनि हुनेछ। बाल हेरचाह सेवाहरू उपलब्ध हुनेभएकोले बच्चाहरू सहित कार्यक्रममा जान सम्भव छ। सांगीतिक मनोरन्जनको साथसाथै, त्यहाँ समुद्री खेलकुद र अन्य गतिविधिहरूले गर्दा पक्कै पनि ग्रीष्मको भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। हाकाता र तेन्जिनबाट सुविधाजनक शटल बसहरू छन्। थप जानकारीको लागि, " Sunset Live 2023" भनि खोज्नुहोस्।

आगामी दिनहरूमा, LOVEFM मा पनि विशेष कार्यक्रमहरु हुने भएकोले निरन्तर सुन्दै गर्नु होला♪

 

 

फुकुओका शहरको सूचना

विपद् रोकथाम दिवस र भण्डारण प्रोत्साहन सप्ताहको बारेमा

प्रत्येक वर्ष सेप्टेम्बर १ "विपद् रोकथाम दिवस" ​​हो।

फुकुओका शहरमा, सेप्टेम्बर १ को "विपद् रोकथाम दिवस" देखि सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ। भण्डारण वा जापानी भाषामा "बिचीकु" भन्नाले आपतकालीन समयका लागि, खानेकुरा आदि संचित गरेर राख्नु हो। घर वा कार्यस्थलहरुमा "भण्डारण" को शुरु लगायत नागरिकहरुमा विपद् रोकथामको बारेमा जनचेतना जगाउने प्रयासहरू भइरहेका छन्। 

किन भण्डारको आवश्यकता भएको होला?

  • यदि भूकम्प वा आंधी आयो र सुरक्षित भयो भने पनि, हामी पानी र खानाबिना बाँच्न सक्दैनौं।
  • पसल बन्द भएमा, खाना वा पेय पदार्थ किन्न सक्दैनौं।
  • यदि पानी आपूर्ति बन्द भयो भने, पिउने पानी पाउन सक्दैनौं।
  • यदि बिजुली वा ग्यासको लाईन काटिएको छ भने, खाना पकाउन सक्दैनौं।
  • त्यसैले, बाँच्न सफल भएको ‘जीवनको सुचारुक्ता’ को लागी, दैनिक रुपमा भण्डार गर्न आवश्यक छ।

के र कसरी भण्डार गर्दा राम्रो होला त?

  • पिउन मिल्ने पानी र ३ दिनको लागि पुग्ने गरि खानेकुरा तयारी गरि राखौं। प्रति दिन १ जनालाई करीव ३ लिटर पानी आवश्यक पर्छ।
  • आपतकालिन खाना जस्तै भात (अल्फा चामल आदिको), क्यान् खाना, बिस्कुट, चकलेट बार, र सुख्खा रोटी आदि जस्ता नपकाईकन खान सक्ने खानेकुराहरु तयारी गरि राखौं।
  • रेडियो वा फ्ल्यासलाइटमा ब्याट्री छ छैन जाँच गरि राखौं।
  • सँधै खाई रहनु भएको औषधि र टास्ने पट्टि जस्ता प्राथमिक उपचार सामग्रीहरू पनि तयार गरि राखौं।
  • यदि परिवारमा बच्चा छ भने, डायपर जस्ता आवश्यक सामग्रीहरू तयार गरि राखौं। 
  • पिउने पानी बाहेक,शौचालय फ्लश गर्नका लागि घरेलु पानी पनि आवश्यक पर्छ। दैनिक रुपमा, पोलीट्यांकमा धाराको पानी भरेर राख्ने, ओफुरोमा पानी भरेर राख्ने आदि जस्ता तयारीहरु गरि राखौं। 

यसका साथै, सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छ।

खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छ।

हरेक वर्ष, यस समयतिर  टाइफुन धेरै आउने भएकोले, विपद्को लागि पुनः तयारी गरि राखौं।

2023.08.24[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【Say Cheese Day】

जापानमा अगस्ट २२ मा, " Say Cheese Day " मनाईन्छ। 

फोटो खिच्ने समयमा, फोटो खिच्ने व्यक्तिले " Say Cheese " भन्ने गरेको देख्नु भएको होला वा तपाईंहरु पनि गर्नु हुन्छ होला। संसारका विभिन्न देशहरूमा फोटो खिच्ने समयमा भनिने कुनै न कुनै वाक्यांश हुने गरेको पाईन्छ, जस्तै कि जापानमा "हाई, चीजु!", अंग्रेजी मूलका देशहरुमा "से, चीज!" त्यस्तै, नेपालमा पनि बिदेशी प्रभावका कारण "चीज!" भन्ने गरेको पाईन्छ। फोटोग्राफरले Say Cheese भनेपछि फोटो खिचाउन बसेका व्यक्तिहरुले पनि "चीज!" भन्ने चलन, एक किसिमको अब क्यामरामा क्लिक गरे भयो भन्ने संकेत हो तर, प्रायः जापानमा फोटोग्राफरले संकेत दिएपछि, फोटो खिचाउने व्यक्तिले मुस्कान सहितको पोज दिए पुग्छ। 

अचानक सडकमा जापानीहरुले फोटो खिचि दिन अनुरोध गर्दा होस् वा जापानी साथीहरूसँग फोटो खिच्दा,  

तपाईहरु पनि जापानी शैलीमा फोटो खिच्ने र खिचाउनेको मनोरञ्जन लिनुहोस् !

 

 

फुकुओका शहरको सूचना

मापसे ड्राइभिंग उन्मूलनको बारेमा

तपाईहरुलाई, २००६ अगस्त २५ मा फुकुओका शहरमा घटेको, मदिरा सेवन सवारी दुर्घटनाको बारेमा थाहा छ?

हिगासी वार्डको "उमि नो नाका मिची ओहाशी" मा, मापसे गरि सवारी चलाउँदा, तीन जना बच्चाहरुको ज्यान जाने गरि दुर्घटना भएको यस वर्षबाट १७ वर्ष पुग्यो। फुकुओका शहरमा, यस दुर्घटनाको कारण, मादक पदार्थ सेवन गरि सवारी चलाउन रोक्नका लागि विभिन्न प्रयासहरू हुँदै आईरहेको छ। 

तर पनि यो अहिलेसम्म रोकिएको छैन। २०२२ मा, मापसेका कारण २८ वटा दुर्घटनाहरू भएको पाईन्छ। मदिरा सेवन गरि गाडी चलाउनु अपराध हो।

  • मदिराको सेवन गरेपछि कार, मोपेड, वा साइकल नचलाउनुहोस्।
  • मदिराको सेवन गरेको व्यक्तिलाई कार भाँडामा दिने वा गाडी चलाउने व्यक्तिलाई रक्सी पिउन प्रोत्साहन नगर्नुहोस्।
  • साथै, सवारी चालकले मदिराको सेवन गरेको थाहा पाउँदा, त्यस कारमा नचढ्नुहोस्।

मदिरा पिएर गाडी चलाउनाले, ट्राफिक दुर्घटनाको जोखिम बढाउँछ।

उदाहरणको लागी,

  • सुरक्षित ड्राइभिंगका लागि आवश्यक पर्ने ध्यान र निर्णय क्षमतामा कमी हुन्छ।
  • अत्यधिक गति र खतरा पत्ता लगाउन ढिलाइ हुन्छ।
  • ब्रेक लगाउन लामो समय लिन्छ।

साथै, निम्न किसिमको गाडी मदिरा सेवन गरि चलाएको हुन सक्छ। यदि देख्नु भएमा, कृपया ११० नम्बरमा फोन गर्नुहोस्।

  • ट्राफिक लाइटमा स्टप लाइनभन्दा केही अगाडि गाडी रोकिन्दा
  • ट्राफिक लाइट हरियो बले पनि, गाडी नचल्दा
  • अनियन्त्रित रुपले गाडी गुड्दा
  • गाडीको गति अचानक बढ्ने-घट्ने भई रहँदा

"मदिरा सेवन गरि सवारी नचलाऔं, चलाउन नदिऔं, गर्नेलाई माफी नदिऔं र बेवास्ता नगरौँ"  भन्ने दृढ इच्छाशक्ति प्रत्येक व्यक्तिमा हुनु आवश्यक छ। 

हामी सबैले मापसे ड्राइभिंगलाई बन्द गरौँ!

2023.08.17[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【समर कोउशिएन्" वा "समर हाई स्कूल बेसबल】

हरेक वर्ष अगस्टमा हाईस्कूल बेसबल प्रतियोगिता आयोजना हुने गरिन्छ। यो जापानको ग्रीष्मकालीन परम्पराहरू मध्ये एक हो भन्दा पनि हुन्छ । वर्षको यस समयतिर दिनदिनै जसो हाईस्कूल बेसबल मिडियामा प्रसारण र छलफल हुने गरिन्छ। यसको औपचारिक नाम "राष्ट्रिय हाई स्कूल बेसबल च्याम्पियनसिप मेमोरियल टूर्नामेन्ट" हो, तर खेल मैदान ह्योगो प्रिफेक्चरको कोउशिएन् स्टेडियममा हुने भएकोले, यसलाई "कोउशिएन्" भनेर चिनिन्छ।

देशभरका हाईस्कूल बेसबल खेलाडीहरू यस प्रतियोगितामा भाग लिन चाहन्छन्। क्षेत्रीय छनोट प्रतियोगिताहरूमा तीव्र खेलहरू मार्फत जितेका विद्यालयहरूले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका पाउँछन्। व्यावसायिक बेसबलमा उत्कृष्ट प्रदर्शन गर्ने धेरै खेलाडीहरू पनि यस प्रतियोगिताबाट आएका पाईन्छन्। मांगा, चलचित्र आदिमा पनि बेसबलमा आधारित धेरै सिर्जनाहरु हुनुका साथै हरेक वर्ष प्रतियोगितालाई उत्सुकताका साथ प्रतीक्षा गर्ने प्रशंसकहरू जापानभर छन्। यस बाहेक, प्रत्येक विद्यालयको विद्यालय धुन, ब्रास ब्यान्डहरूको प्रदर्शन, चियर स्क्वाडहरूको उत्साहजनक प्रदर्शन, र खेलाडीहरूले प्रतियोगिता सकेपछि खेल मैदानको बालुवा लिएर जाने आदि जस्ता यस प्रतियोगिताका बिशेषताहरु हुन्।

यदि मौका मिल्यो भने, तपाईंहरु पनि हाई स्कूलका खेलाडीहरूको जोश र खेलकुदसँगको उनीहरूको तिब्र लगावको अनुभव गरेर हेर्नु होला!

 

 

DJ को Summer Recipe Choice

हरेक दिन गर्मी उतिकै बढिरहेको छ। सक्रिय रहन र यस गर्मीमा पूर्ण रूपमा रमाइलो गर्न, राम्रोसँग खानपान गर्नु र पोषणयुक्त आहार लिनु महत्त्वपूर्ण छ। यस गर्मीको थकानबाट बच्न आज मैले दुई थरि खानाहरुको जानकारी लिएर आएकी छु। 

पहिलो छ, बनाउन सजिलो अनि स्वादिलो खानाहरुमध्ये एक, नेवारी खाना "चटामरी"। 

चटामरीको समतल र गोलो आकारको कारण यसलाई नेपाली पिज्जा पनि भनिन्छ। विभिन्न टोपिंगहरू राखेर बनाउन सकिने भएकोले, यो गर्मीको समयमा हल्का र स्वादिष्ट भोजनको रुपमा उत्कृष्ट विकल्प हो। पातलो अनि कुनै टोपिंगबिना सादा चटामारी पनि मिठो नै हुन्छ। चटामारी बनाउन चाहिने सामग्रीहरु भनेको, चामलको पीठो, जीरा पाउडर, नून, पानी अनि आफूलाई मन पर्ने टोपिंगहरू। मलाई चाहिं चिज, ससेज, क्याप्सिकमको तोपिंग धेरै मनपर्छ। किमामा प्याज, अन्य मसलाहरु हालेर टोपिंग गरेर खान पनि स्वादिष्ट हुन्छ। 

जापानमा भने प्रायः गर्मी मौसममा खाईने खाना हो, सोमेन्। सोमेन् पिठोबाट बनेको पातलो नुडल हो। तातो पानीमा उमालेको सोमेन्लाई, बरफको पानी वा धाराको पानीमा चिसो पारेर,त्यसपछि पानीबाट झिकेर, चिसो सससँग खाईन्छ। त्यस्तै सोमेन्लाई तितेकरेला वा मौसमी तरकारीहरू, मासु आदिसँग मिसाएर तेलमा भुटेर खान पनि मिठो हुन्छ। सोमेन्, सुपरमार्केट वा कन्भिनीहरुमा सजिलै र सुपथ मूल्यमा किन्न पाईन्छ।

गर्मीको यस मौसममा खान नरुचाउने बेला, तपाईंहरु पनि पक्कै चटामारी वा सोमेन् खाएर खानाको आनन्द लिनुहोला।

2023.08.10[Thu] 09:00

अन्य(その他)

【फुकुओका शहरका टापुहरू"नोकोनोशिमा""शिकानोशिमा"】

गर्मी मौसम भनेपछि दिमागमा पहिले आउने नै समुद्र! तपाईहरुमध्ये कतिपयले समुद्रमा पौडी खेली पनि सक्नु भयो होला। यस हप्ता, एकै दिनमा फर्कन सकिने, फुकुओकाबाट नजिक दुईवटा टापुहरू, नोकोनोशिमा र शिकानोशिमाको बारेमा जानकारीहरु छन्।

नोकोनोशिमा, फुकुओका शहरको मेइनोहामामा रहेको नोतो फेरी टर्मिनलबाट फेरीमा करिब १० मिनेटमा पुग्न सकिने, परिधि लगभग १२ किलोमिटर भएको टापु हो। 

मौसमी फूलहरू, सुन्दर समुद्री दृश्यहरू, इतिहासलाई महसुस गराउने थुप्रै स्थलहरु आदिको अनुभव यस टापुमा गर्न सक्नुहुन्छ।

समुद्र तटमा, मोटर बोटिङ, बनाना बोटिङ, वाटर स्कीइङ, समुन्द्रमा तैरने ट्राम्पोलिन लगायत डाइभिङ बोर्ड र स्विङ जस्ता गतिविधिहरूको मनोरञ्जन लिन सक्नुहुन्छ। 

त्यस्तै, फूलहरु हेर्नका लागि प्रसिद्ध रहेको "नोकोनोशिमा आइल्याण्ड पार्क" मा, आजभोलि सूर्यमुखी फूलहरु फुलिरहेका छन्। 

यस बाहेक, सुन्दर दृश्यहरू हेर्न सकिने रेस्टुरेन्टहरु, बार्बिक्यु हाउस, क्याम्प मैदानमा लजहरुको व्यवस्था आदिले गर्दा टापुको प्राकृतिक वातावरणको पूर्ण आनन्द लिन सक्नुहुन्छ। 

अर्को टापु छ, फुकुओकाको मुख्य भूमिसँग जोडिएको शिकानोशिमा। यहाँ, स्थल र जल दुवै मार्गबाट सजिलै पुग्न सक्नुहुन्छ। यस टापुको सबैभन्दा ठूलो आकर्षण भनेको, यहाँको सुन्दर समुद्र हो। डाइभिङ पोइन्टहरूमा, ट्रोपिकल माछाहरु र seahorse हरू देख्न सक्नुहुन्छ। यहाँ याटिङ, विन्डसर्फिङ, स्कुबा डाइभिङ र फिसिंगको आनन्द लिन सक्नुहुन्छ। त्यस्तै, ताजा समुद्री खानाको साथै "किनइन डक" र "किनइन करी" जस्ता प्रसिद्ध स्थानीय पकवानहरुको पनि स्वाद लिनुहोला।

यस वर्षको गर्मीलाई सक्रिय रुपमा रमाइलो गरि बिताऔँ!

 

 

फुकुओका शहरको सूचना

“विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२३” सम्बन्धि

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, संस्था "माची फुकुओका नो ऐ" र फुकुओका YWCA सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२३" आयोजना हुने भएको छ।

यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। परामर्श नि:शुल्क हो। जापानी, अंग्रेजी र चाइनिज भाषाहरुमा परामर्श उपलब्ध छन्।

कार्यक्रम हुने दिन: अगस्ट २७, आईतबार दिउँसो १:०० देखि ४:०० बजेसम्म

आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर

सोधपुछको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा सम्पर्क गर्नुहोस्। 

फोन मार्फत् वा फाउण्डेसनको वेबसाइटमा राखिएको सोधपुछ फारम मार्फत् सम्पर्क गर्न सक्नुहुन्छ। फोन नम्बर, ०९२-२६२-१७४४ हो।

 

 

“‘विदेशीहरुका लागि आप्रवासनआवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।

2023.08.03[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【फुकुओकामा IRIE MUSIC FES सँगै JIM BEAM SUMMER FES 2023】

यस सप्ताहन्तमा, LOVE FM को रेगे कार्यक्रम "IRIE MUSIC (आईरी म्युजिक)" द्वारा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। हरेक शनिबार बिहान ८:०० बजे प्रसारण हुने Reggae 100% program "IRIE MUSIC" र Suntory "JIM BEAM SUMMER FES" को सहप्रायोजनमा आयोजना हुन लागेको हो।

गत वर्षको कार्यक्रमको भब्य सफलताको फलस्वरुप, यस वर्ष पनि "रेगे, हिप हप, ओकिनावा" को विषयवस्तुमा केन्द्रित हुँर्दै, तीन दिनको विशेष कार्यक्रम हुनेछ। अगस्तको ४ देखि ६ तारिकसम्म ३दिनको, अर्थात् यो हप्ताको शुक्रवार, शनिबार र आइतबार पर्छन्। 

आयोजना स्थल, "तेन्जिन च्युउओउ पार्क"। प्रवेश नि:शुल्क छ। 

उत्कृष्ट कलाकारहरूको प्रत्यक्ष प्रस्तुतिहरूको साथै स्वादिष्ट खाना र पेय पदार्थहरुको आनन्द लिन सक्नुहुन्छ।

बिस्तृत जानकारीका लागि, कृपया LOVE FM को आधिकारिक वेबसाइटमा हेर्नुहोस्।

 

 

फुकुओका शहरको सूचना

Fukuoka City Official Tourist Guide सम्बन्धि

यसपटक “Fukuoka City Official Tourist Guide” सम्बन्धि जानकारी रहेको छ। 

हालसम्म, "YOKA NAVI" साइट मार्फत्, जापानी तथा विदेशी भाषाहरूमा फुकुओका शहरको पर्यटकीय जानकारीहरु प्रदान गर्दै आईरहेको थियो भने, अहिलेबाट विशेष रूपमा बिदेशीहरूप्रति लक्षित, बुझ्न सजिलो हुने गरि जानकारीहरु प्रदान गर्ने हेतुले, "Fukuoka City Official Tourist Guide" तयार गरिएको छ।

यस वेबसाइटमा, पर्यटकीय सुविधाहरू, कार्यक्रमहरू, पर्यटकीय स्थलहरू, स्वादिष्ट खाना आदि जस्ता जानकारीहरु ४ वटा भाषाहरू (अंग्रेजी, कोरियाली, परम्परागत चाइनिज, र सरलीकृत चाइनिज) मा प्रदान गरिंदै आईरहेको छ। 

त्यस्तै, भिडियो र फोटोहरूको प्रयोग गरि जानकारीहरू सजिलै बुझ्न सकिने गरि राखिएका छन्।

पर्यटकहरुलाई मात्र नभई, फुकुओकामा बसोबास गर्नुहुनेहरुका लागी पनि, फुकुओकाको बारेमा अझै धेरै जानेर मनोरञ्जन लिन सकिने उपयोगी जानकारीहरुले भरिपूर्ण छ।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ