ブログ

ポッドキャスト

ポッドキャスト RSS

2024.02.22[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【माउन्ट फुजी】

भोलि शुक्रबार, फेब्रुअरी २३ तारिख "माउन्ट फुजी दिवस" ​​हो। के तपाईंले कहिल्यै "Mt. Fuji" देख्नुभएको छ? जापानका हिमालहरु भनेपछि, पहिलो नाम आउँछ माउन्ट फुजीको। यो जापानको सबैभन्दा अग्लो हिमाल हो, जसको उचाई ३,७७६ मिटर छ। अहिले पनि यो हिमालमा ज्वालामुखी सक्रिय छ। 

यो यामानाशी प्रिफेक्चर र शिजुओका प्रिफेक्चरको बीचमा अवस्थित छ, उत्तरमा यामानाशी प्रिफेक्चर र दक्षिणमा शिजुओका प्रिफेक्चर पर्दछन्। तर, पहाडको टुप्पोतिर भने कुनै प्रीफेक्चरल सीमानाहरू छैनन्, त्यसैले कुनै पनि प्रान्तमा पर्दैन जस्तो देखिन्छ। यद्यपि, पहाडको टुप्पोमा रहेको हुलाक कार्यालय भने शिजुओका प्रिफेक्चरभित्र पर्छ। त्यहाँ एउटा मन्दिर पनि छ, जहाँ विवाह समारोह पनि गरिन्छ। माउन्ट फुजी जापानमा स्कीइङको उद्गम स्थल हो, त्यसैले यहाँस्कीइङका लागि बर्सेनि ठूलो घुइँचो लाग्ने गर्छ। माउन्ट फुजीलाई फोटोमा वा टेलिभिजनमा हेर्दै आए पनि एकचोटी वास्तबमा गएर हेर्न भने मलाई मन छ।

जापानका सार्वजनिक स्नानगृहमा जानुभएकाहरुले, पक्कै पनि त्यहाँ माउन्ट फुजीको सुन्दर कला कोरिएको देख्नु भएको हुनुपर्छ। माउन्ट फुजी प्रायः जापानी सार्वजनिक स्नानगृहको नुहाउने ठाउँको भित्तामा चित्रित हुन्छ। त्यस्तै, जापानी कविता, साहित्यिक लेख, पैसाको नोट आदिमा पनि जापानको प्रतीकको रुपमा यसलाई प्रयोग गर्दै आईरहेको छ। माउन्ट फुजी विश्वभर चिनिएको, दायाँबायाँ दुबैबाट समान आकार भएको दुर्लभ सुन्दर हिमाल हो, जुन विश्व सांस्कृतिक सम्पदा स्थलको रूपमा पनि दर्ता भएको छ।

 

 

 फुकुओका शहरको सूचना

 

“शहर तथा प्रान्तीय करफाइल गर्ने सम्बन्धि”

 


फुकुओका शहरले रेइवा ६ को शहर तथा प्रान्तीय कर फाइल लिईदैछ। 

 

कर फाइल गर्ने म्याद, मार्च १५ शुक्रबारसम्म हो। 

 

कर फाइल बुझाउने काउन्टर चाहिं वार्ड कार्यालयको कर बिभागमा, सोमबारदेखि शुक्रबार बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म खुला रहनेछ।

 

काउण्टर भिडभाड हुने भएकोले, कृपया हुलाक वा अनलाइन मार्फत् कर फाइल गर्न अनुरोध गरिन्छ।

फुकुओका शहरमा कर फाइल गर्न आवश्यक व्यक्तिहरु भन्नाले, २०२४ को जनवरी १ देखि फुकुओका शहरभित्र ठेगाना भई २०२३ मा आम्दानी भएका व्यक्तिहरु पर्दछन्।

 

कर कार्यालयमा अन्तिम कर फिर्ती निवेदन पेश गर्नुहुने वा तलब आय मात्र भएको व्यक्तिको हकमा कम्पनीमा वर्षान्तको समायोजन गर्नुहुने आदिले कर फाइल गर्न आवश्यक छैन

 कर फाइलका लागि आवश्यक कागजातहरु,

 

  • माइनम्बर कार्ड वा माइनम्बर बुझ्न सजिलो कागजपत्र 

  • सवारीचालक परिचय पत्र, पासपोर्ट, बसोबास कार्ड आदि पहिचान खुल्ने कागजातहरू

  • गेन्सेन्च्योउस्युउह्योउ आदि जस्ता गतवर्ष २०२३ को आय देखाउने कागजातहरु

  • २०२३ मा गरिएका कटौतीहरुको कागजातहरू

 

आवश्यक कागजात वा कर फाइल गर्न आवश्यक छ छैन आदि बारे बिस्तृत जानकारीका लागि कृपया आफू बसोबास गर्दै आएको स्थानीय वार्ड कार्यालयको होमपेजमा हेर्नुहोला। नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

 

अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली जस्ता १८ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ।

 

फोन नम्बर, ०९२-७५३-६११३ हो।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुन्छ।

 

तपाईं आफू बस्ने वार्ड र कर फाइलबारे बुझ्न चाहेको भन्नुहोला।

 

यस अतिरिक्त, वार्ड कार्यालयमा जानुहुँदा पनि आफ्नो फोन प्रयोग गरेर यस सेवा मार्फत् अनुवाद गर्न सकिने भएकोले नहिच्किचाइकन यसको प्रयोग गर्नुहोला।

 

 

 

2024.02.15[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【Breaking World Match 2024】

बाली ओलम्पिकमा पहिलो पटक प्रस्तुत गरिएको नृत्य खेल " Breaking" को प्रतिस्पर्धा "Breaking World Match 2024",  फेब्रुअरी २४शनिबार फुकुओका शहरको मरीन मेस्से फुकुओकामा आयोजना हुन गईरहेको छ।

"Breaking"  दुई जनाबीच एक-अर्कामा हुने प्रतिस्पर्धा हो जसमा, सहभागीहरूले पालैपालो परिमार्जित संगीतमा एक्रोबेटिक नृत्य चालहरू प्रस्तुत गर्छन्प्रविधि र अभिव्यक्तिको लागि प्रतिस्पर्धा गर्छन्। यस वर्षको पेरिस ओलम्पिकमा पदक जित्ने अपेक्षा बोकेका खेलाडीहरुको भावुक प्रस्तुति हेर्न सक्नुहुन्छ।

संयुक्त राज्य अमेरिका" Breaking" को उद्गमस्थल हो भनेउच्च गुणस्तरका पुरुष  महिला खेलाडीहरुबीच एक-आपसमा प्रतिस्पर्धा देखाउने चाहिं जापान हो। पेरिसओलम्पिकमा भाग लिन पहिले नै छनोट भइसकेका खेलाडीहरूका साथै विश्व वरीयतामा उच्च स्थानमा रहेका खेलाडीहरू पनि हुनेछन्। ६ महिना पछि आयोजना हुन गईरहेकोओलम्पिकको प्रारम्भिक रुपमा रहेको यस प्रतिस्पर्धाले धेरैको ध्यान तानिरहेको  !

 

 

【फुकुओका शहरको सूचना】

Fukuoka City Medical Interpreting Call Center

फुकुओका शहरमा, जापानी भाषामा कुराकानी गर्न कठिनाइ हुने विदेशीहरूले ढुक्क भएर चिकित्सा सेवा प्राप्त गर्न सकून् भन्ने हेतुले, चिकित्सा सम्बन्धी टेलिफोन अनुवाद सेवा, “Fukuoka City Medical Interpreting Call Center” को स्थापना गरिएको छ।

यसको प्रयोग, चिकित्सा संस्था खोज्दा, अस्पतालमा डाक्टरसँग कुरा गर्दा, अस्पताल वा सिफारिस गरिएको फार्मेसीमा औषधि लिँदा, कल सेन्टरमार्फत टेलिफोन अनुवादहुन्छ। 

विदेशीहरूबाट मात्र नभई, अस्पताल र प्रिस्क्रिप्शन फार्मेसीहरूबाट पनि टेलिफोन अनुवादको लागि अनुरोध गर्न सकिन्छ।

चौबीसै घण्टा हरेक दिन, प्रयोग गर्न सकिन्छ। फोन नम्बर, ०९२-७३३-५४२९ हो। 

सहायक भाषाहरू; अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी, नेपाली, थाई, तागालोग, इन्डोनेसियाली, मलय, बर्मी, खमेर, मङ्गोलियन, स्पेनिश, पोर्चुगिज, जर्मन, फ्रेन्च,इटालियन, रुसी, सिंहला र हिन्दी गरि २० वटा भाषाहरुमा यो सेवा उपलब्ध छ।

2024.02.08[Thu] 09:00

अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवस】

फेब्रुअरी १४ तारिक भनेपछि भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवस! हरेक देशमा विभिन्न संस्कृतिहरू हुन्छन् भने फुकुओकामा विगत केही वर्षहरूमा लोकप्रिय बन्दै गएको एक हो, ''फ्लावर भ्यालेन्टाइन'', जसमा आफ्ना प्रियजनहरूप्रति कृतज्ञता व्यक्त गर्न फूलहरु दिने गरिन्छ । 

फुकुओका प्रिफेक्चरले वास्तवमा गुलाफ, कार्नेशन र जरबेराजस्ता धेरै फूलहरू फलाउँछ। तपाईंहरुले फुकुओका शहरमा फूलहरु फुलाएर राखेको ठाउँहरुमा ''हितोरी हितोहाना'' वा ''FLOWER CITY FUKUOKA '' भनि लेखिएको देख्नु पनि भएको होला।

फुकुओका शहरले ''प्रति व्यक्ति एउटा फूल'' अभियानलाई प्रवर्द्धन गरिरहेको छ, जसमा प्रत्येक नागरिक, कम्पनी र सरकारी कर्मचारीहरुले फुकुओका शहरभरिका पार्क, फुटपाथ, अफिस, घर आदि सम्भावित ठाउँहरुमा फूलहरू रोप्ने, फूल र हरियाली क्षेत्र बढाएर फूलको शहर फुकुओका बनाउने उद्देश्य राखेको छ।

भ्यालेन्टाइन सप्ताहमा, फुकुओका शहरका विभिन्न स्थानहरूमा फूल प्रदर्शनीहरु हुनेछन्, हाकाता स्टेशनमा फूलहरू वितरण गरिनेछ र सिंगो शहर नै फूल र प्रेमले भरिनेछ।

तपाईहरु पनि आफ्ना प्रियजनहरूसँग रमाइलो भ्यालेन्टाइन डे मनाउनुहोला ♪♪♪

 

 

फुकुओका शहरको सूचना

Fukuoka City Childcare Exchange Salon सम्बन्धि

तपाईहरुलाई Fukuoka City Childcare Exchange Salon को बारेमा थाहा छ? Childcare Exchange Salon भन्नाले स्थानीय सामुदायिक केन्द्रहरुमा, ० वर्षदेखि ६ वर्षसम्मका बालबालिकाहरुले आफ्नो आमाबुबासँग स्वतन्त्र रूपमा समय बिताउन सकिने थलो हो। आमाबुबा र बच्चाहरू एकअर्कासँग खेलेर रिफ्रेस हुन पाउँछन्। यो निःशुल्क सेवा हो। बाल हेरचाह सहयोगीहरूले, ध्यानपूर्वक हेरी दिने तथा अभिभावक र बच्चाहरूबीच अन्तरक्रिया गर्नमा सहयोग पनि गर्छन्। 

यस पटक, हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रको Childcare Exchange Salon को कार्यक्रम बारे जानकारी दिनेछु। फेब्रुअरी १३, मङ्गलबार बिहान १०:३० देखि ११:३०सम्म, हातको छाप र पैतालाको छापको स्टाम्प बनाउने तथा जापानी र अंग्रेजीमा चित्र पुस्तकहरू पढाएर सुनाउने कार्यक्रमहरु रहेका छन्। तपाईंहरु पनि आफ्नो बच्चाको हातको छाप र पैतालाको छापलाई सम्झनाको रूपमा राख्न चाहनुहुन्छ कि?  त्यहाँ जानुहुँदा, फोहोर भए पनि केही फरक नपर्ने लुगा लगाउनुहोस्। जापानी भाषा बोल्न नजाने पनि ठिक छ।

फुकुओका शहरमा बस्नु हुने जो कोहि अभिभावक-बालबालिकाहरुले भाग लिन सक्छन्। आवेदन दिने तरिका लगायत बिस्तृत जानकारीको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन को वेबसाइट वा फोन नम्बर ०९२-२६२-१७४४ मा सम्पर्क राख्नु होला। 

सोमबारदेखि शुक्रबारसम्म ९:०० देखि १८:०० सम्म कल स्वीकार गरिन्छ।

अवश्य पनि तपाईंहरु बस्ने ठाउँ नजिकै Childcare Exchange Salon हुनुपर्छ।

कृपया फुकुओका सिटीको होमपेजमा हेर्नुहोस्!

 

 

"LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!"  

फाउण्डेसनको LINE आधिकारिक Account मा, LINE कल मार्फत्, जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शको बुकिंग आदिका लागि सम्पर्क गर्न सक्नुहुन्छ। टेलिफोन अनुवाद सेवाको प्रयोग गरेर २२ वटा भाषाहरूमा परामर्श लिन सक्नुहुन्छ। 

साथै, फाउण्डेसनको कार्यक्रमहरुको जानकारी तथा बिदेशी नागरिकहरुप्रति लक्षित जानकारीहरु पनि लिन सकिने भएकोले, अवश्य पनि Friend add गर्नुहोला।

तर chat मार्फत् परामर्श सेवा उपलब्ध छैन। chat मार्फत् परामर्श लिन चाहनु हुने महानुभावहरुले "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन"को होमपेजमा रहेको सोधपुछ फारम प्रयोग गर्नुहोला।

 

2024.02.01[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【एहोमाकी】

फेब्रुअरी ३, आउँदो शनिबार‘सेचुबुन्’पर्छ। दुष्ट आत्माहरूबाट बच्न र वर्षभरि सुस्वास्थ्यको लागि कामना गर्न, ‘ओनिवा सोतो, फुकुवा उची’, भन्दै ‘मामे अर्थात् भटमास’ फ्याँक्ने चलन छ। पछिल्ला वर्षहरूमा ‘एहोमाकी’ खाने चलन सामान्य बन्दै गएको छ। आज ‘एहोमाकी’ को बारेमा छोटो जानकारी लिएर आएकी छु। 

‘एहोमाकी’ भनेको एक प्रकारको सुशी रोल हो। रोल गर्दा राख्ने सामाग्रीहरु यस्तो नै हुनुपर्छ भन्ने कुनै नियम छैन, तर भनिन्छ कि तामागो याकी, एबी, आनागो, काँक्रो, शिताके च्याउ, खान्प्योउ र साकुरा डेन्बु गरि सात प्रकारका सामग्रीहरु राख्नु भयो भने भाग्यका लागि अति राम्रो हुन्छ।

साथै, एहोमाकीखाने केही नियमहरू छन्।

नियम १ : एक जनाले एउटा सिंगै फुतोमाकी खानुपर्छ। भनिन्छ, सुशीमा राम्रो भाग्य हुने भएकोले, यदि यसलाई काटेर वा टुक्रा गरेर खानुभयो भने राम्रो भाग्य हराउँछ रे। त्यसैले, राम्रो भाग्य प्राप्तिको लागि यसलाई सिंगै खानुपर्छ भन्ने गरिन्छ।

नियम २: यसलाई खाँदा, वर्षको लागि शुभ मानिने दिशातर्फ फर्केर खानुपर्छ। यो वर्षको लागि "पूर्व र उत्तरपूर्व" शुभ रहेको छ।

नियम ३: आफ्नो मनोकामना मनन गर्दै नबोलिकन सबै खान सकाउनु पर्छ। खाँदै कुरा गरेर आफ्नो भाग्यलाई हराउन नदिनुहोस्।

मामेमाकीको मामे सजिलै सुपरमार्केटमा किन्न पाईन्छ। समय भए, फेब्रुअरी ३ मा, तपाईहरु पनि आ-आफ्नो घरमा यस जापानी संस्कृतिको अनुभव लिएर हेर्नु भए कसो होला!

राम्रो भाग्यका साथ यस वर्षलाई राम्रो वर्ष बनाऔँ

 

 

फुकुओका शहरको सूचना

जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना

फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।

जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।

जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, र हृदयाघात आदि असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।

साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।

स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। बजारमा पाईने तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।

राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू पनि बलियो हुन्छ।

कम्तिमा पनि २० मिनेटको हाराहारीमा बिस्तारै खाने गरौं।

व्यायामको कमीको कारण मांसपेशिहरु घट्नाले, शरीरलाई चाहिने उर्जामा कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।

मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।

व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, बजार जाँदा हिडेर जाने, लिफ्ट तथा इस्क्यालेटरको प्रयोग नगरी सकेसम्म भर्याङको प्रयोग गर्ने आदि जस्ता दैनिक जीवनमा थोरै मात्र भए पनि मिल्ने समयमा, अहिलेको भन्दा लगभग १० मिनेट बढि व्यायाम गरौं।

निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।

रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।

सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं किनभने यसले निद्राको गुणस्तर घटाउँछ।

साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।

यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?

2024.01.25[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

अशोक शाही(अशोक बारका मालिक)

https://www.facebook.com/people/Ashoks-Bar/100079710802295/

 

 

2024.01.18[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【आमाओउ】

के तपाईलाई स्ट्रबेरी मन पर्छ? जनवरी १५ लाई "स्ट्रबेरी दिवस" ​​को रूपमा तोकिएको छ।स्ट्रबेरी संसारभर खाइन्छ, तर जापान सबैभन्दा बढी कच्चा स्ट्रबेरी उपभोग गर्ने देश होर विश्वको आधा भन्दा बढी स्ट्रबेरी जापानमा उत्पादन हुने गर्छ, जसमा लगभग ३०० थरिका स्ट्रबेरीहरू पर्छन्।

त्यसमा पनि फुकुओका, स्ट्रबेरी उत्पादनको हिसाबले जापानभरमा दोस्रो स्थानमा पर्ने

स्ट्रबेरी उत्पादनका लागि प्रसिद्ध क्षेत्र हो। फुकुओकामा धेरै प्रकारका स्ट्रबेरीहरू छन्, तर तिनीहरूमध्ये फुकुओकामा मात्र उब्जाउ हुने ब्रान्डेड स्ट्रबेरी ''आमाओउ'' हो। "आखाई, मारुई, ओकि र उमाई" शब्दहरुको शुरुको अक्षरहरूबाट नामकरण गरिएको ''आमाओउ'' धेरैले मन पराउँछन्। अहिले यसको मौसम लागेकोले, बिशेष रुपमा नै स्वादिष्ट हुन्छ। पक्कै पनि खाएर हेर्नु होला।

हुन त स्ट्रबेरी यत्तिकै खाए पनि मिठो हुन्छ , तर जापानमा, यो कन्डेन्स्ड दूध वा रातो बीन पेस्टसँग खाने पनि गरिन्छ। त्यस्तै, यो समयमा मात्र खान पाईने स्ट्रबेरी डेफुकु पनि लोकप्रिय छ।

स्ट्रबेरी मन पराउने र धेरै खान चाहनेहरूका लागि, फुकुओका प्रान्तका विभिन्न ठाउँहरूमा `स्ट्रबेरी टिप्ने' पनि आयोजना गरिन्छ। प्रत्येक बगैचामा यसलाई रमाइलो गर्ने विभिन्न तरिकाहरू छन्, जस्तै कि, स्ट्रबेरीको किसिमहरूको तुलना गर्ने, तपाईंले खान सक्ने जति टिपेर खाने, जाम जस्ता आफ्नै स्ट्रबेरी रेसिपीहरू बनाउने, तथा स्ट्रबेरी मेनु भएको क्याफे वा स्ट्रबेरी सामान बिक्री गर्ने पसलमा जाने आदि बिभिन्न मनोरञ्जन लिन सक्नुहुन्छ।

फुकुओकाको स्ट्रबेरी स्वादको मजा यस मौसममा भरपूर लिनुहोस्।

खानुहुँदा, स्ट्रबेरीको तल्लो भाग सबैभन्दा मीठो हुनेभएकोले, टुप्पोतिरबाट खान शुरु गर्नुहोस् अनि अन्तसम्म गुलियो स्वादको आनन्द लिनुहोस्।

 

 

【फुकुओका शहरको सूचना】

 

तोच्योजी सेचुबुन् ताइसाइ- अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि मामेमाकी कार्यक्रम

सेचुबुन्, वर्षमा एकपटक मनाईन्छ, जसमा खराब चीजहरू जस्तै बिरामी र प्रकोप आदिबाट बच्न, र सुस्वास्थ्यका साथ बाँच्नका लागि प्रार्थना गर्ने गरिन्छ। जापानमा प्राचीन कालदेखि नै ‘मामेमाकी’ को चलन रही आएको छ, जसमा प्रकोप निम्त्याउने राक्षसहरूलाई भगाउन सेतो भटमास फ्याँक्ने गरिन्छ। "भाग्य भित्र! राक्षसहरू बाहिर!" भन्दै सेतो भटमास फ्याँक्दै, दुष्ट आत्माहरूबाट जोगिन प्रार्थना गर्छन्।

सेचुबुन् ताइसाइ, हरेक वर्ष फेब्रुअरी ३ मा हाकाटा वार्डको तोच्योजी मन्दिरमा आयोजना गरिन्छ। हरेक वर्ष धेरै दर्शनार्थीहरुको भीड लाग्छ। सात भाग्यका देवताहरु, ओताफुकु, आखाओनी, र आओ ओनी यस महोत्सवमा देखा पर्ने हुनाले अत्यन्तै रोमाञ्चक हुन्छ।

सेचुबुन् ताइसाइलाई प्रवर्द्धन गर्न, जनवरी १९ शुक्रबार, फुकुओकामा बसोबास गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ती सात भाग्यका देवताहरु तथा राक्षसहरूको रूपमा पोशाक लगाएर, फुकुओका शहरका विभिन्न स्थानहरूमा सेतो भटमास फ्याँक्ने कार्यक्रममा सहभागी हुने गर्दै आईरहेको छ।हरेक वर्ष हाकाताको यस परम्परागत महोत्सवलाई संस्कृतिको आदानप्रदान गर्ने थलोको रूपमा पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहभागी हुने गरेको पाईन्छ। फुकुओका सिटी हल, व्यापारिक क्षेत्रहरु, होटलहरू जस्ता विभिन्न स्थानहरूमा मामेमाकी कार्यक्रम क्रममा राक्षसको रूपमा लुगा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रदर्शनहरू पनि देख्न सक्नुहुन्छ।

तपाईंहरुले कहिल्यै मामेमाकी गर्नुभएको छ?  यदि गर्नुभएको छैन भए, जापानी संस्कृतिको अनुभव पनि हुने, अनि भाग्य पनि सँगै आउने भएकोले गरेर हेर्नु पनि राम्रो होला कि।

 

2024.01.11[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【जेन खाचुगी】

यस साताको अन्त्यमा जापानका विश्वविद्यालयहरुमा प्रवेश परीक्षा आउँदैछ।

जापानमा ‘जेन खाचुगी’ भनिने चलन छ, जसमा राम्रो नतिजाको आशामा कर्म वा कार्यहरू गर्ने गरिन्छ, जस्तै कि, विगतमा सफलतापूर्वक सम्पन्न भएका कार्यहरू दोहोर्याउने, राम्रो भाग्य ल्याउने खानाहरू खाने आदि गरिन्छ। प्रतियोगिता वा परीक्षामा जाँदा, तोन्खाचु, ओनिगिरी, चिपचिपे खाना जस्ता खानाहरू खाएर जानुभयो भने, राम्रो सफलता मिल्छ भन्ने भनाई छ। त्यस्तै, राम्रो भाग्य ल्याउनको लागि सरसफाइ गर्ने, प्रार्थना गर्ने पनि गरिन्छ। यो पनि विश्वास गरिन्छ कि, यदि तपाईंले आफ्नो इच्छाहरू ठूलो स्वरले भन्नुभयो भने, तपाईंको इच्छाहरू पूरा हुनेछन्, शब्दमा शक्ति हुन्छ भनिन्छ, जसलाई जापानीमा 'कोतो डामा' भनिन्छ। पक्कै पनि, परिश्रम बिना इच्छाहरू पूरा हुन सक्दैन,तर तनाव कम गर्न र आफ्ना भावनाहरूलाई शान्त पार्न ‘जेन खाचुगी’ को प्रयास गर्नु प्रभावकारी पनि हुन सक्छ। 

सबै परीक्षार्थीहरू, अन्तसम्म सक्दो प्रयास गर्नुहोस्! हाम्रो अग्रिम शुभकामना!

 

 

【फुकुओका शहरको सूचना】 

नोरोभाइरसदेखि सावधान!

 

जाडोमानोरोभाइरसको कारण वान्ता हुने, पखाला हुने, पेट दुख्ने र बान्ता आउला जस्तो हुने समस्या बढी हुने गर्छ। 

यो भाइरस शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि संक्रमित हुन्छ।

भाइरस हात वा खानाद्वारा शरीरमा प्रवेश भई, यसले पखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ।

संक्रमित व्यक्तिको बान्ता वा पखालाको कारण हावामा भएको भाइरस, सास लिंदा संक्रमित हुने वा संक्रमित व्यक्तिले पकाएको खाना खाएर पनि सर्न सक्दछ।

साथै, भाइरस भएको ओइस्टर आदि जस्ता bivalves नतताईकन खाँदा पनि भाइरस सर्न सक्दछ।

धेरै मात्रामा बान्ता र पखालाबाट डिहाईड्रेसन हुन सक्छ।

तुरुन्तै चिकित्सकलाई देखाउने गरौं। 

यो सामान्यतयाः २, ३ दिनमा निको हुन्छ, तर लक्षणहरू हराए पनि १ हप्तादेखि १ महिनासम्म, भाइरस दिसामा निस्कन्छ, र यो अन्य व्यक्तिहरूलाई संक्रमित गराउने कारण बन्ने भएकोले यसप्रति सजक रहौं।

संक्रमणलाई बढ्न नदिन, निम्न रोकथामका बिधिहरू अपनाऔं।

खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय पछि आदिमा, अवश्य साबुन पानीले हात धुने गरौं।

खाना पकाउने भाँडाहरू हरेक पटक प्रयोग गरेपछि राम्रोसँग धोएर उमालेको पानी वा क्लोरीन ब्लीचले कीटाणुरहित पार्ने गरौं।

अल्कोहल युक्त किटनाशक भने नोरोभाइरस विरुद्ध कम प्रभावकारी हुन्छ।

नोरोभाइरस ८५ देखि ९० तापक्रममा ९० सेकेन्ड वा सो भन्दा बढि ततायो भने मर्छ।

खानेकुरालाई पर्याप्त मात्रामा तताउने गरौं। काँचो खाने तरकारी र फलफूल राम्रोसँग धोएर प्रयोग गरौं। 

शरीर सन्चो नभएको बेला खाना नपकाउनु पनि उतिकै महत्वपूर्ण छ।

 

2024.01.04[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【नानाकुसागायु】

あけましておめでとうございます!नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना

वर्ष२०२४ को आज यो पहिलो प्रसारण!

तपाईंहरुको नयाँ वर्षको बिदा कस्तो रह्यो? रमाइलोसँग नै बित्यो होला! 

जापानमा १ देखि ७ तारिकसम्मको अवधिलाई नयाँ वर्षको रुपमा मानिन्छ र अन्तिम दिन, जनवरी ७ मा, सुस्वास्थ्यको कामनामा, बिहानको खाजामा सात प्रकारका मौसमी औषधीय जडीबुटीहरू समावेश गरी पकाएको खाना ‘नानाकुसागायु’ खाने चलन छ। वर्षको अन्त्य र नयाँ वर्षको भोज र मदिराबाट थकित पेट र आन्द्राको हेरचाह गर्नु पनि यसको अर्थ रहेको छ। स्वादको लागि नून मात्र हालेर बनाएको सादा खाना हो, नानाकुसागायु। सुपरमार्केटहरूमा सेटमा पाईने हुनाले यो सजिलै किन्न सक्नुहुन्छ।

नयाँ वर्ष २०२४ सबैको लागि सुखद रहोस्। तपाईंहरुको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु।

 

 

फुकुओका शहरको सूचना

JapaneseChattingEvent

 

 जापानी भाषा स्कूल लगायत फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच सजिलै कुराकानी गर्न मिल्ने Japanese Chatting Event”, हरेक महिनामा एक पटक आयोजना हुँदै आईरहेको छ। अर्को आयोजना जनवरी ३१, अनलाइनमा हुनेछ।

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ। हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, सहभागी हुनुहोला।

सहभागिता शुल्क नि:शुल्क हो तर आवेदन दिन आवश्यक छ। 

आवेदन दिने तरिका आदि अधिक जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुक पेजमा हेनुहोला। 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज रहेको छ, (www.fcif.or.jp.)

केही नबुझेको कुरा भएमा, कृपया फोन मार्फत् सम्पर्क गर्नुहोस् ।

फोन नम्बर छ, (०९२-२६२-१७४४ )। 

तपाईंहरुको सहभागीताका लागि पर्खिरहेका छौं।

 

 

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श

 

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।

2023.12.28[Thu] 09:00

अन्य(その他)

【नयाँ वर्षको पूर्वसंध्या】

वर्ष २०२३ सकिन अब केही दिन मात्र बाँकी छ। तपाईंहरुको यो वर्ष कस्तो रह्यो?

नयाँ वर्षको पूर्वसंध्या मनाउने केही योजना छ कि?

जापानमा, नयाँ वर्षको पूर्वसंध्या अर्थात् डिसेम्बर ३१मा, तोशिकोशी सोबा खाने चलन छ।

तोशिकोशी सोबा खाने भनेको लामो आयु बाँच्नु, यस बर्षको कठिनाई र असफलतालाई बिर्सेर नयाँ वर्षलाई स्वागत गर्नु हो।

जापानको विभिन्न भागहरूमा स्थानीय ओरिजिनल तोशिकोशी सोबा पाईन्छ।

यसलाई प्राय: नयाँ वर्षको पूर्वसंध्यामा खाने गरिन्छ।

पसलमा नखाए पनि, कन्भिनीयन्स स्टोर र सुपरमार्केटमा पनि किन्न पाईने भएकाले, अहिलेसम्म खानु भएको छैन भए, एकचोटी खाएर हेर्नुहोला।

हुन त, हामी नेपालीहरुको आफ्नै नव वर्ष भएकोले अंग्रेजी नव वर्षलाई खासै धुमधामका साथ मनाउने गरेको देखिन्दैन। नेपालमा खास गरि, काठमाडौंको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला पर्यटकीय शहरहरुमा नव वर्ष ईभ कार्यक्रम आयोजना गर्ने र विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने चलन छ। प्रायःजसो साथीहरुसँग बाहिर घुम्ने र खानपिन गर्ने अवसरको रुपमा अंग्रेजी नव वर्ष मनाउने गरेको देखिन्छ। 

जापानमा भने, सामान्यतयाः नयाँ वर्षको काउन्टडाउनको समयमा, परिवारहरू घरमासँगै समय बिताउने गर्छन् वा मन्दिरहरूमा आयोजना हुने, "जोयानो खाने" नामक कार्यक्रममा सहभागी हुने गर्छन्, जसमा सांसारिक इच्छाहरू मेटाउन १०८ पटक घण्टी बजाइन्छ। केही मन्दिरहरूमा, भक्तजनहरू आफैले घण्टी बजाएर अनुभव लिन पनि सक्छन्। नयाँ वर्षको पूर्वसन्ध्यादेखि नयाँ वर्षको दिनसम्म मन्दिरको दर्शन गर्नाले आशीर्वाद दोब्बर हुन्छ भन्ने गरिन्छ। केही ठाउँहरूमा भक्तजनहरूमाथि आमाजाके भनिने गुलियो रक्सीले छर्कने पनि गरिन्छ, जुन चाहिं काठमाडौंका प्रायः मन्दिरहरुमा हुने जल छर्कने चलनसँग ठ्याक्कै मिल्दोजुल्दो छ।

यस नयाँ वर्षको पूर्वसन्ध्यामा मन्दिरहरुमा लामो लाइन हुने गर्छ। यदि तपाईंहरु पनि दर्शन गर्न जाने विचारमा हुनुहुन्छ भने, बाक्लो न्यानो लुगाहरु लगाएर, जाडोबाट बच्नप्रति ध्यान दिनुहोस्।  

यस बाहेक, धेरैजसो मानिसहरू रातभर जागै बसेर नयाँ वर्षको पहिलो सूर्योदय हेर्नका लागि बस्छन्। नयाँ वर्षको पहिलो सूर्यलाई शुभ मानिने र नयाँ वर्षमा सुख र स्वास्थ्यको कामना गर्ने चलन छ। रमणीय ठाउँहरूमा गएर, सूर्य उदाएको क्षणको तस्बिर लिनेहरुको पनि उत्तिकै घुइँचो हुन्छ।

फुकुओका शहरमा पनि यस्ता थुप्रै ठाउँहरू छन्। त्यसमध्ये एक हो, ''आटागो जिन्ज्या,'' जुन नयाँ वर्षको तीर्थस्थलको रुपमा पनि रहेको छ अनि त्यहाँबाट हाकाता बेको सुन्दर दृश्यको आनन्द पनि लिन सक्नुहुन्छ। त्यस्तै, बिहानी किरणले उज्यालो भएको फुकुओका शहरको मनोरम दृश्य प्रदान गर्ने ''फुकुओका टावर'' र ''आबुरायामा'' पनि उत्तिकै लोकप्रिय छन्। यहाँ नि:शुल्क पार्किङ पनि छ, कृपया यिनीहरुको होमपेजमा हेनुहोला।

नयाँ वर्षमा तपाईंहरु सबैको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु। तपाईहरु सबैलाई नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना! नव वर्ष २०२४ मा, अहिलेको भन्दा अझ धेरै, सबैको अनुहारमा मुस्कानका साथ बाँच्ने समाजको सृजना होस् भनि कामना गर्दछु।

2023.12.21[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【बोनेन् खाई अर्थात् वर्षको अन्त्य पार्टी】

वर्षको अन्त्य नजिकिँदै गर्दा, बोनेन् खाईको सिजन पूर्ण रुपमा लागि नै सकेको छ। तपाईहरुले यस समयतिर बोनेन् खाई भन्ने शब्द धेरै सुन्नु भएको हुनुपर्छ। जापानमा, जब डिसेम्बर शुरु हुन्छ तब काम गर्ने ठाउँमा होस् वा समुदाय, साथीहरूसँग यस वर्षको कठिनाइहरू बिर्सेर, रिसेट गरेर, नयाँ उत्साहका साथ नयाँ वर्षलाई स्वागत गरौँ! भन्ने कामनाका साथ बोनेन् खाई अर्थात् वर्षको अन्त्य पार्टी आयोजना गरिन्छ। एक-अर्काको कडा परिश्रमका लागि धन्यवाद दिनका लागि पनि बोनेन् खाई आयोजना हुने भएकोले, सम्पूर्ण टोली एकसाथ भेला हुने र खानपानका लागि बाहिर जाने गरिन्छ। "ओचुखारेसामादेसिता! तपाईंको कडा परिश्रमको लागि धन्यवाद" भन्दै खान्पाई गर्ने, खानपान गर्नुका साथसाथै मनोरञ्जनको आनन्द लिने पनि गरिन्छ। 

यस किसिमको कार्यक्रममा प्रायः निस्कने जापानी वाक्यांश, "क्योउ वा बुरेइको"!

यसको अर्थ- आफ्नो स्थिति र पदलाई बेवास्ता गरि रमाईलो गरौं! कुनै चिन्ता नलिईकन आराम गरौं र मजा लिऔँ! भन्ने हो। तपाईंहरु पनि नयाँ उत्साह उमंगका साथ नयाँ वर्ष शुरु गर्नुहोस् है!

 

 

फुकुओका शहरको सूचना

नयाँ वर्षको बिदाहरुमा वार्ड अफिस काउण्टर अनि फोहोर फाल्ने दिन सम्बन्धि सूचना

नयाँ वर्षको बिदाहरुमा, वार्ड अफिसको काउण्टर र फोहोर फाल्ने दिन परिवर्तन हुने भएकाले, कृपया ध्यान दिनुहोला। वार्ड अफिसको काउण्टर, डिसेम्बर २९ (शुक्रबार) देखि जनवरी ३(बुधबार) सम्म बन्द रहनेछ।

नयाँ वर्षको बिदाहरुको अघिपछि वार्ड अफिसको काउण्टर भिडभाड हुने भएकोले, धेरै समय राखेर जाने गरौँ।

डिसेम्बर ३१ (आइतबार) देखि जनवरी ३ (बुधबार) सम्म, फोहर संकलन हुने छैन।

जल्ने फोहरको मात्र संकलन, डिसेम्बर ३० (शनिबार) सम्ममा हुनेछ। नयाँ बर्षको जनवरी ४ (बिहिबार) पछि पुनः संकलन हुने हुनाले तोकिएको बारमा फोहर बाहिर राख्नुहोस्। 

सँधै बुधबार र आइतबार फोहर संकलन हुने क्षेत्रहरुमा, त्यसको सट्टा डिसेम्बर ३० (शनिबार) मा संकलन हुनेछ।

नजल्ने फोहर तथा खाली सिसाको बोतल, प्लास्टिकको बोतल फाल्नका लागि, 

जनवरी १ (सोमबार) मा संकलन हुने क्षेत्रमा डिसेम्बर २२ (शुक्रबार), 

जनवरी २ (मंगलबार) को क्षेत्रमा डिसेम्बर २९ (शुक्रबार),

त्यस्तै, जनवरी ३ (बुधबार) को क्षेत्रमा जनवरी ५ (शुक्रबार) को दिन फोहर फाल्नुहोस्।

यसका साथै, ठूलो आकारका फोहरको काउण्टर तथा संकलन, डिसेम्बर २९ (शुक्रबार) देखि जनवरी ३ (बुधबार) सम्म बन्द रहनेछ।

 

 

वर्षको समाप्ति र नयाँ वर्ष सुरक्षित र ढुक्क साथ बिताउनका लागि

वर्षको समाप्ति र नयाँ वर्षको बिदाहरूमा रक्सी पिउने धेरै अवसरहरू हुने गर्छन्।

“मादकपदार्थ सेवन गरि गाडि नचलाउने, चलाउन नदिने, चलाउनेलाई बिल्कुल माफी नदिने, र बेवास्ता नगर्ने” प्रति निश्चित होऔं।

रक्सी पिएर साइकल चलाउनु पनि कानूनले निषेध गरेको छ।

विशेष ध्यान दिनुपर्ने भनेको, अर्को दिन रक्सीको ह्यांगओभर हो।

अलिकति भए पनि रक्सी लागेको बाँकी छ जस्तो लागेमा, गाडि नचलाऔं।

यस अतिरिक्त, हरेक वर्षको अन्ततिर ट्राफिक दुर्घटनाहरू बढ्ने गरेको पाईएको छ।

राती बाहिर निस्कँदा, ड्राइभरले देख्न सजिलो हुने, चम्किलो लुगा वा चमकदार वस्तुको प्रयोग गरौँ।

कार वा साईकल चलाउँदा, समयमै बत्ति अन गरौं।

अर्को जानकारी, बाटोमा हुने लुटपाटको बारेमा छ।

कम ट्राफिक भएको स्थानमा, साँझदेखि मध्यरातसम्म धेरै अपराधहरू हुने गरेको, अझ, लुटेराहरु प्रायः मोपेड बाइकमा आएका घटनाहरु धेरै छन्।

खोस्नबाट जोगिन, झोला सडकको अर्को पट्टि समात्ने गरौँ।

साथै, मान्छेको संकेत वा बाइकको आवाज सुन्नुभएमा पछाडी फर्केर हेर्ने आदि जस्ता, आफ्नो वरपर ध्यान दिने गरौँ।

हिँड्दा वा साइकल चलाउँदा चुरोट खाने बन्द गरौँ।

नियम तथा आचरणहरुलाई पालन गरि, तपाईंको वरपरका मान्छेहरुले पनि दुक्क र सुरक्षित महसुस गर्ने वातावरण बनाउन मद्दत गरौँ।

आफू र आफ्नो बहुमूल्य सामानहरूको ध्यान दिई, नयाँ वर्षको बिदा सुरक्षित र आनन्दमयी बिताऔं।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ